फुटबल खेल्न नपाएर खेलाडीलाई तनाब, सरकारलाई महामारीको बाहाना-Sutra News

फुटबल खेल्न नपाएर खेलाडीलाई तनाब, सरकारलाई महामारीको बाहाना

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- कोभिड-१९ का कारण नेपालमा खेलकुदका सम्पूर्ण गतिविधिहरु ठप्प छन्। फुटबल पनि यसबाट अछुतो रहने कुरै भएन। तर कोभिड महामारिकै बीचमा इङ्ग्लिस प्रिमियर लिग, स्पेनिस लालिगा, इटालियन सिरि ए, जर्मन बुन्डेसलिगा र च्याम्पिएन्स लिग प्रतियोगिता दर्शक बिनाको बन्द रंगाशालामै खेलाएर समापन भइसकेका छन्।  उनीहरु नयाँ सिजनको लागि तयार पनि भइसकेका छन। इङ्ग्लिस क्लब टोटन्ह्यामले त अब दर्शक राखेरै फुटबल खेल्ने घोषणा गरिसकेको छ।



तर नेपालमा परिस्थिति झनै जटिल बन्दै गएकाले खेलकुदका सम्पूर्ण गतिविधि ठप्प पार्नुपरेको जानकारी खेलकुद मन्त्रालयका उपसचिव सागर रोक्काले जानकारी दिएका छन्। ‘यस्तो अवस्थामा कुनै पनि प्रतियोगिता आयोजना गर्न सरकारले पूर्णरुपमा रोक लगाएकाले अहिले फुटबल प्रतियोगिताहरु हुने त कुरै भएन,’ उनले भने।

लामो समयपछि फुटबल खेलाडीलाई मैदान फर्किँदा गाह्रो हुन सक्ला। निश्चित मापदन्ड तोकेर संक्रमण फैलिन नदिने हिसाबले खेलाडीहरुलाई प्रशिक्षण दिने वातावरण सरकारले मिलाउन सके कसो होला?  अनि विदेशतिर बन्द रंगाशालामा सम्पूर्ण लिग प्रतियोगिताहरु यहाँभन्दा भयानक परिस्थिति हुँदा पनि सम्पन्न भयो भन्ने प्रश्नमा उपसचिवले ठाडो प्रश्नसहितको जवाफ दिए- अहिले नेपालमा कुनै पनि प्रतियोगिता आयोजना हुने वातावरण नै छैन। खेलाडीलाई प्रशिक्षणचाहिँ किन चाहियो?

उनका अनुसार खेलाडीहरुलाई प्रशिक्षण कुनै प्रतियोगिता हुनुभन्दा दुई महिनाअघि देखि गरे पुग्छ। नेपालले खेल्ने भनेको विश्वकप छनौटअन्तर्गत ३ वटा खेल अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँगको खेलहरु सन् २०२१ सम्मका लागि स्थगित भइसकेकाले नेपाल आनन्दको स्थितिमा रहेको उनको आश्य बुझ्न सकिन्छ। ‘जुन दिनबाट स्थिति सामान्य हुन्छ, त्यही समयबाट खेल गतिविधिहरु सुचारु हुन्छ,’ उनले भने।

सरकारले नै फुटबल पूर्णरुपले ठप्प पारेपछि खेलाडीहरुले फुटबल खेल्ने कुरै भएन। सरकारको यही लापरबाहीले खेलाडीहरुमा अन्योलता छाएको छ। यो महामारी कहिले सामान्य हुने र मैदान फर्किन पाउने जिज्ञासा आम खेलाडीहरुको छ।

सरकारको भनाइलाई हेर्ने हो भने लाग्छ, नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिँदा प्रतियोगिता जित्नका लागि तयार गर्दैन, केवल औपचारिकता पूरा गर्न अर्थात् देशको प्रतिनिधित्व देखाउनलाई मात्रै टिम र खेलाडी तयार पारिन्छ।

लामो समयसम्म मैदान बाहिर बस्नुपर्दा कतै शारीरिकरुपले खेलका लागि फिट पो छैन कि भनेर चिन्ता पनि उनीहरुमा छ।

राष्ट्रिय टोलीका सदस्य अन्जन बिष्टले फुटबलबाट धेरै समय टाढा रहँदा सामन्य कुरासमेत बिर्सन थालेको बताए। राष्ट्रिय टिमबाट खेल्नु कुनै पनि खेलाडीका लागि ठूलो सपना हुन्छ र उसले देशको जर्सी लगाएर डेब्यु गरेको दिन अविष्मरणीय हुन्छ। तर,  अन्जन विष्टलाई आफूले कुन दिन कुन टिमविरुद्ध डेब्यु गरेको याद छैन।

२०१४ कि १५ मा ‘कन्फ्युज’ भएका उनी अन्तिममा १५ होला भनेर ढुक्क भए। अनुशासनम कारबाही परेका उनी ४५ दिन निलम्बित भएका थिए। तर कहिलेदेखि निलम्बन सुरु भयो र कहिले सकियो उनलाई केही याद छैन।

निलम्बनसहित लिगका ४ खेल खेल्न नपाएको समय जोड्ने हो भने उनले फुटबल नछोएको करिब वर्ष दिन पुग्न लागिसक्यो। त्यस हिसाबले उनले केही कुरा बिर्सनु सामान्य हो। हाल गृह जिल्ला हेटौंडामा लकडाउन समय कटाइरहेका उनलाई निलम्बन सकिएपछि राष्ट्रिय टिमको जर्सीबाट एउटा खेल खेलेपछि तलब आउँछ भन्नेचाँहि याद छ।

विश्वकप छनौटको दोस्रो चरणको खेल तयारीका लागि उनी सँगै निलम्बनमा परेका बिमल घर्ती मगरलाई भने टिममा बोलाइएको रहेनछ। टिममा बोलाइए पनि अन्जनलाई कुन-कुन देशसँग कहिले कहिले खेल थियो कुनै याद छैन। उनको यो अवस्थाले पनि नेपाली फुटबलको अवस्थालाई राम्रैसँग चित्रण गर्छ।

फुटबल खेल मैदान बिना सम्भव छैन। सम्बन्धित निकायबाट फुटबल गतिविधिका लागि वातावरण मिलाइएको छैन। यस्तो अवस्थामा खेलाडीहरु फुटबलबाट टाढा हुनु सामान्य होला तर फुटबलप्रतिको तृष्णा विर्सनु त सायद सामन्य होइन।

राष्ट्रिय टिमबाट लामो अनुभव बोकेका भरत खवासले फुटबल नै नखेलेको करिब ६ महिना भएको बताए। तर फुटबलप्रतिको तृष्णा फुटसल खेलेर उनले मेटाइरहेका छन्। पहिला पहिला उनलाई सजिलो थियो, कुनै न कुनै प्रतियोगिता भइरहन्थ्यो। प्रायजसो विभिन्न खेलका लागि तयारीमा जुट्दा उनको खुट्टामा बल परेकै हुन्थ्यो। तर अहिले अवस्था त्यस्तो छैन। नेपाली सेनामा कार्यरत उनी फिटनेसका लागि नियमित ब्यायाम र साथीभाइसँग फुटसल खेल्ने गर्छन्। फुटबल बिनाको समय नमज्जा लागेको उनी बताउँछन्।

‘सबै साथीहरुको समय मिल्दा फुटसल खेल्छौँ। विहान हाम्रो आफ्नै ब्यायाम, रनिङहरु हुन्छ। अरु बेला यतिकै अफिसको काम हुन्छ। अनि बिदाको समय छोरीसँग बिताउँछु। परिवारलाई दिने समय एकदम मिलिरहेको छ,’ उनले भने।

राष्ट्रिय टिमका अर्का खेलाडी विक्रम लामा भने वातावरण चाँडै सामन्य हुने र फुटबल खेल्न पाइने आशामा छन्। सरकारले निश्चित मापदण्ड बनाएर आफूहरुलाई सहज बनाइदिए आफूहरु प्रशिक्षनमा फर्किन तयार रहेको उनी बताउँछने। ‘दुई हप्ताअघि सबै खेलाडीको पीसीआर टेष्ट गरेर बन्द प्रशिक्षणमा बोलाइएको थियो। तर पछि खेलकला सबै तालिका स्थगित भयो। सरकारले चाह्यो भने प्रतियोगिता नै आयोजना गर्न नसकेपनि फुटबलका नियमित गतिविधिहरु सजिलै सञ्चालन गर्न सकिन्छ,’ उनले भने।

फुटबल खेलाडी भएर आफूलाई फिट राख्न फुटबल बिना नियमित ब्यायाममा मात्रै सीमित हुनुपर्दा नमज्जा लागेको उनी बताँउछन्। अब लामो समयपछि फेरि मैदान फर्किदा पहिलेजस्तो फिटनेस र खेल कायम गर्न नसके राष्ट्रिय टिममा पर्न नस्किने डर पनि छ उनलाई।

नयाँ प्रशिक्षक आएपछि फुटबलका अझ नयाँ प्राविधिक कुराहरु सिक्न पाएको अनुभव सुनाएका उनलाई ती टेक्निकहरु मैदानमा प्रयोग गर्न नपाउँदा दुःख लागेको छ।

सरकारले अहिलेको अवस्थालाई सामान्य बनाइदिनेमा खेलाडीहरु आशावादी छन्। तर सरकारको भनाइलाई हेर्ने हो भने लाग्छ, नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिँदा प्रतियोगिता जित्नका लागि तयार गर्दैन, केवल औपचारिकता पूरा गर्न अर्थात् देशको प्रतिनिधित्व देखाउनलाई मात्रै टिम र खेलाडी तयार पारिन्छ।

हैन भने परिस्थितिलाई मात्रै दोष लगाउने तर उचित वातावरण मिलाउन नसक्ने अनि प्रतियोगिताभन्दा दुई महिनाअघिको तयारीले पुग्छ भन्ने विज्ञता बोक्नु कतिको जायज हो? कुनै उपाधि जित्नका लागि कति लामो अभ्यास र त्याग चाहिन्छ भन्ने कुरा सरकारलाई थाहा हुनुपर्छ। किनभने हाम्रै अगाडि इतिहास साक्षी छ कि फुटबलको बादशाह मानिने ब्राजिललाई नै फुटबलमा ओलम्पिक गोल्ड मेडल जित्नलाई १२० वर्ष लागेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट