भजन गीत ल्याएकी नीता भन्छिन्, ‘भगवानलाई छलकपट गर्न मन लागेन’-Sutra News

भजन गीत ल्याएकी नीता भन्छिन्, ‘भगवानलाई छलकपट गर्न मन लागेन’

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

काठमाडौं- यो सातामात्रै गीत गाउने अभिनेत्रीहरुको सूचीमा नयाँ नाम थपियो- नीता ढुंगाना। तर, अरुलेझैँ उनको गायन यात्रा ‘रोमान्टिक गीत’बाट सुरु भएन, भजन गीतबाट भयो। अध्यात्ममा रुची राख्ने नीताले ‘गणेश आरती’ भजन गीत लिएर आइन्।



गीत सार्वजनिक हुनुअघिसम्म नीताको मनमा डर थियो-  कतै दर्शक/श्रोताले गाली पो गर्ने हुन् कि! ‘तर, प्रतिक्रिया राम्रै पो आयो,’ नीता अहिले दंग छिन्, ‘सायद भजन भएर होला धेरैले मनपराइदिनुभयो।’

युट्युबमा चार दिनअघि सार्वजनिक भएको यो भजन हालसम्म २ लाख ४० हजार बढीले हेरिसकेका छन्। प्रायःले कमेन्टमा नीताको गायकीको प्रसंशा गरेका छन्। 

त्यसो त नीताको गीत गाउने रहर धेरैअघि देखि हो। घरपरिवार र साथीभाइमाझ त उनी ‘सानोतिनो सिंगर’का रुपमा उहिल्यैदेखि परिचित थिइन्। उनीहरुका अगाडि धक नमानी गीत गुनगुनाउने गर्थिन्। तर, यसरी गीत रेकर्ड नै गरेर सार्वजनिक गरिएला भन्ने उनले कहिल्यै सोचेकी थिइनन्।

त्यसोभए यो कसरी सम्भव भयो त?

उनी यसको कारण नेपाल सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि गत चैतबाट गरेको पहिलो लकडाउनलाई देखाउँछिन्। ‘लकडाउनमा के नयाँ काम गर्ने भनेर घोत्लिरहँदा लाग्यो, गीत पो निकालुँ कि,’ नीता भजन गाउने निर्णयमा पुग्नु अगाडिको पृष्ठभूमि सम्झिन्छिन्, ‘भजन खोज्दै गएँ, सुन्दै गएँ। मनन गरेँ। त्यसपछि भजन निकाल्ने निर्णय गरेँ।’

भजन निकाल्ने निर्णय त गरिन् तर आफैँले गाउने निर्णय भने उनले तत्काल गरेकी थिइनन्। संस्कृतमा रहेको गणेश आरती भजन छनौट गरिसकेपछि उनी संगीतकार तथा रेकर्डिस्टसँगको सम्पर्कमा पुगिन्। ‘गाउने मान्छे त्यो बेलासम्म फाइनल भइसकेको थिएन,’ नीता सम्झिन्छन्, ‘संगीतकारलाई संगीत एरेन्ज गर्दै गर्नु, गायकको नाम केही समयपछि भन्छु भनेकी थिएँ। पछि साथीभाइ आफन्तले पनि मलाई आफैँ गाउन जोड गरे। सुरुमा त डर लाग्यो। तर, म आफैँ पनि भगवानको भक्त। त्यसमाथि यो गीत नभएर भजन थियो। भजन गाउँदा स्रोताले प्रोफेसनल्ली जज गर्नु हुन्न भन्ने लागेर आफैँले गाउने निर्णय गरेँ।’

त्यसो त नीता आफू भगवान शिवको भक्त हुन्। तर, उनले भजन गाउने बेलामा शिवभन्दा पहिले गणेश रोजिन्। ‘हरेक कार्यको सुरुवातमा गणेशको पूजा गरेजस्तै गायकिको सुरुवात पनि गणेश भजनबाटै गरेकी हुँ। फेरि,  उनी भगवान शिवकै छोरा पनि त हुन्,’ उनी हाँस्दै कारण सुनाउँछिन्।

पछिल्लो समय रहरैरहरमा गायन यात्रा सुरु गरेका धेरै गायक-गायिकाले आवश्यकताभन्दा बढी नै ‘अटोट्युन’ प्रयोग गर्ने प्रवृत्ति बढेको छ। कतै नीताले पनि गायिका बन्न यसकै सहारा त लिइनन्?

सूत्रन्युजको जिज्ञासामा उनले दाबी गर्दै भनिन्, ‘कतै पनि ‘अटोट्युन’को प्रयोग गरेकी छैन। मेरो प्राकृतिक आवाज जस्तो छ, गीतमा त्यस्तै नै छ चाहेको भए आवाजलाई मिलाएर सुरिलो बनाउन सक्थेँ। तर, मलाई भगवानसँग छलकपट गर्न मन लागेन। न दर्शकलाई नै झुक्याउनु उचित लाग्यो।’

नीताको आवाजमा रहेको भजनको निर्माता पनि उनी आफैँ नै हुन्। भिडियोलाई निर्देशन भने रामजी लामिछानेले गरेका छन्। भिडियोको सुट गर्न नीताले गणेश मन्दिरको सेट नै निर्माण गरेकी थिइन्। ‘मेरो पहिलो प्रयासलाई धेरैले स्वीकार गर्नुभएको छ। यसले मलाई गायनमा हौसला थपेको छ,’ सकरात्मक प्रतिक्रियाबाट हौसिएकी नीता यसरी गायनमा निरन्तरताको संकेत गर्छिन्।

सूत्र टिभीले लिएको अन्तर्वार्ता हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट