कांग्रेस नेताहरूको एकैस्वर- कोरोना नियन्त्रणमा सरकारको तयारी पर्याप्त भएन-Sutra News

कांग्रेस नेताहरूको एकैस्वर- कोरोना नियन्त्रणमा सरकारको तयारी पर्याप्त भएन

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं–कांग्रेसका नेताहरूले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन्। गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले आज आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरूले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका हुन्।



कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवम् कांग्रेस नेतृ सुजाता कोइरालाले कोभिड–१९ को असरसँगै अब नेपाललाई आत्मनिर्भरतर्फ लैजानुपर्ने बताइन्। ‘नेपाल आर्थिक समृद्धिका लागि प्रशस्त सम्भावनायुक्त भएको मुलुक हो, यहाँको प्राकृतिक स्रोतलाई सही ठाउँमा प्रयोग गरेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ,’ कोइरालाले भनिन्।

नेतृ कोइरालाले नेपालमै उत्पादित जडिबुटीको सहि प्रयोग गरेर आयुर्वेद औषधिको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै कोभिड-१९ पछि मुलुक अब प्रविधिमा जानुपर्ने बताइन्।

केन्द्रीय सदस्य एनपी साउदले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले पर्याप्त तयारी गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको आगामी महाधिवेशनमा त्याग, योगदान र मूल्याङ्कनका आधारमा सही नेतृत्व छनोट गर्नुपर्ने बताए।

कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले पछिल्लो समय कोभिड-१९ महामारीको चरणमा मुलुक प्रवेश गरेको बताउँदै यसलाई रोक्नका लागि सिङ्गो कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले कोभिड-१९ का कारण नेपालको आर्थिक क्रियाकलापमा नराम्रो प्रभाव पारेको बताउँदै जनता कोभिड–१९ को असरबाट छटपटिएको अवस्थामा मुलुकमा भ्रष्टाचार बढेको छ, यसको नियन्त्रणका लागि कांग्रेसले आवाज उठाउनुपर्ने बताए।

कांग्रेस केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले कोभिड–१९ लाई चुनौतीका रुपमा भन्दापनि अवसरको रुपमा लिएर अगाडि बढाउनुपर्ने बताउँदै सरकारले आगामी दिनमा स्वास्थ्यमा लगानी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले कोभिड-१९ ले नयाँ युगतर्फ विश्वलाई अगाडि बढाएको बताउँदै नेपाल पनि नयाँ युगमा प्रवेश गर्नुपर्ने र यसका लागि कृषि क्षेत्रमा विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले स्वास्थ्य र शिक्षामा देश सवल भयो भने मात्र सुखी देश हुने बताउँदै नेपालमा निःशुल्क र अनिवार्य शिक्षा तथा निःशुल्क र नियमित स्वास्थ्यबारे संविधानमा लेख्न लगाउनुपर्ने बताए।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कोभिड-१९ ले नेपालको अर्थतन्त्रमा मात्र नभएर सबै क्षेत्रमा असर पारेको उल्लेख गर्दै महामारीले लोकतन्त्रलाई बलियो बनाउने सम्भावना कम हुँदै गएको बताए।

नेविसङ्घका पूर्वअध्यक्षद्वय रञ्जित कर्ण र महेन्द्र शर्मालगायतले कोभिड-१९ का कारण झण्डै पाँच लाख नेपाली युवा बेरोजगार भएको बताउँदै उनीहरूका लागि रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए।

युर्निभर्सिटी अफ सेन्टल मिसोरी अमेरिकाका प्राध्यापक डा.केशव भट्टराई, जिपी फाउण्डेशन अमेरिकाका सल्लाहकार डा.राजन पन्तलगायतले वदलिँदो समयानुसार मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कोभिड–१९ ले पारेको प्रभाव र आगामी दिनमा चाल्नुपर्ने कदमबारे फाउण्डेशनले निरन्तर आवाज उठाउँदै बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट