काठमाडौं– निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’को लिड रोलका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई प्रस्ताव गएको छ। खनालले कोरोना महामारीका कारण भएको लकडाउनको सेरोफेरोमा रहेर तयार गरेको कथामा आधारित यो फिल्मका लागि स्वस्तिमा लगभग फाइनल भइसकेकी छिन् । स्वस्तिमाका अनुसार लिखित सम्झौता हुन भने बाँकी छ ।
उनी अहिले यो फिल्मको स्क्रिप्ट पढिरहेकी छिन् । ‘प्रस्ताव आएको छ, स्क्रिप्ट पढिरहेकी छु । मलाई स्टोरी मन परिरहेको छ,’ स्वस्तिमाले सूत्र न्युजसँग भनिन् । चलचित्रको स्क्रिप्ट हेर्दा आफूले अहिलेसम्म नगरेको पात्र पाएको उनले बताएकी छिन् । ‘पात्र रोचक लागिरहेको छ । मैले अहिलेसम्म यस्तो भूमिकामा गरेको छैन,’ उनले सुनाइन् ।
स्क्रिप्टप्रति सकारात्मक रहेकी स्वस्तिमाले फिल्ममा अभिनय गर्ने सम्भावना लगभग पक्का छ । ‘अहिलेसम्म सम्झौता भएको छैन् । तर, सहकार्य हुनसक्छ,’ स्वस्तिमा संकेत गर्छिन् । दीपेन्द्र–स्वस्तिमाबीच यसअघि ‘लभ लभ लभ’ फिल्ममा सहकार्य भइसकेको छ । आगामी वर्षको भदौ ११ गते प्रदर्शन तोकिएको ‘चिसो मान्छे’ सरकारले फिल्मको छायाकंनको अनुमति दिएसँगै फ्लोरमा जाने निर्देशक खनालले बताएका छन् ।
तस्बिरः स्वस्तिमाको फेसबुकबाट