माहामारीबीच विदेश पढ्न जानेलाई अनुमति दिने सरकारको निर्णय [यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरु]-Sutra News

माहामारीबीच विदेश पढ्न जानेलाई अनुमति दिने सरकारको निर्णय [यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरु]

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- सरकारले उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) पुनः जारी गर्ने निर्णय गरेको छ।



मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअघि कोरोना महामारी रोक्न गरिएको ‘लकडाउन’का कारण उक्त अनुमति पत्र सरकारले रोकेको थियो।

यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरू

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय- नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा श्री ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी उच्च सरकारी वकिलको कार्यालय, धनकुटामा पदस्थापन गर्ने ।

२. अर्थ मन्त्रालय- कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) बाट करिब ११ अर्ब ६५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने।

३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशककोसमेत काम गर्ने गरी तोक्ने।

४. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय- विद्युतीय माध्यमद्बारा सञ्चालन गरिने व्यापार (ई-बिजिनेस) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

५. कृषि तथा पशुपन्छी विकास मन्त्रालय- प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण मार्फत पठाइएका कार्यक्रमहरूको प्राविधिक कार्य सञ्चालन प्रक्रिया, रिपोर्टिङ्ग तथा तथ्याङ्क व्यवस्थापनका शर्तहरू पारित गर्ने।

६. परराष्ट्र मन्त्रालय- श्रीलंकाद्वारा आयोजना गरिने २१ औं बिमस्टेक Senior Officials’ Meeting मा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने।

७. परराष्ट्र मन्त्रालय- नेपालले भर्चुअल माध्यमबाट आयोजना गर्ने सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने।

८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय- सडक डिभिजन, चन्द्रनिगाहपुर रौतहटको कार्यक्षेत्रभित्र सर्लाही जिल्लाको एकादशी खोलामा निर्माण भइरहेको पुलको एप्रोच सडक (पहुँच मार्ग) मा पर्ने कुल एघार घर टहराहरुलाई मुआब्जा तथा क्षतिपूर्ति दिने र सम्बन्धित डिभिजन प्रमुखलाई प्रारम्भिक कारबाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने ।

९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय- त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पस, पुल्चोक ललितपुरलाई बि।ई। एरोस्पेशमा नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने।

१०. रक्षा मन्त्रालय- नेपाली सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने र महासेनानी दिपेश जंग शाहसमेत १२ महासेनानीहरूको सरुवा गर्ने।

११. रक्षा मन्त्रालय- नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने।

१२. वन तथा वातावरण मन्त्रालय – आ.व. ०७७/७८ का लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ४५ अस्थायी दरबन्दी सिर्जना गर्ने ।

१३. वन तथा वातावरण मन्त्रालय- माई बेनी जलविद्युत आयोजना (९.५१ मे.वा.) को हेडरेस, सेटलिङ बेसिन र पेनस्टक लगायतका संरचनाहरु निर्माण गर्न इलाम नगरपालिका-६ स्थित राष्ट्रिय वन क्षेत्रको ४.७७ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने ।

१४. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय- उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमति पत्र (NO Objection Certificate-NOC ) जारी गर्ने कार्य पुन: सुचारू गर्ने।

१५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यार्थी वित्तीय सहयोग कार्यक्रम) मा आ.व. ०७७/०७८ मिति २०७७/४र१ देखि मिति २०७७/९र१६ तदनुसार ३१ डिसेम्बर २०२० सम्मका लागि अधिकृतस्तरका ३ अस्थायी पदको दरबन्दी सिर्जना गर्ने ।

१६. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय- सर्वोच्च अदालत र मातहतका उच्च अदालतहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

१७. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय- नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री उदय बहादुर रानामगर र सहसचिव श्री नवराज ढकाललाई परराष्ट्र मन्त्रालय वा अन्तर्गत सरुवा गर्ने ।

१८. सहरी विकास मन्त्रालय- गृह मन्त्रालयको उत्तर पश्चिममा रहेको खाली जग्गामा सिंहदरबारको सीमा पर्खालबाट न्युनतम १० मिटर चौडाइको ग्रिन बेल्ट कायम गर्ने गरी ४३ रोपनी ६ आना जग्गा चण्डीदल गणलाई उपलब्ध गराउने ।

१९. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय- लोक सेवा आयोगबाट सिफारिस भएका देहायका व्यक्तिहरूलाई नेपाल स्वास्थ्य सेवाको एघारौं तहको पदमा नियुक्त गर्ने-
१. डा.रश्मि शर्मा,
२. डा. वर्षा थापा
३. श्री लिली श्रेष्ठ

२०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय- विश्व स्वास्थ्य संगठन (WHO) दक्षिण पूर्वी(एसिया क्षेत्रीय समितिको ७३ औ बैठक (Virtual Session) मा सहभागी हुन माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको नेतृत्वमा अन्य २ जनालाई सहभागी हुन स्वीकृति दिने ।

२१. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय- नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, एघारौं तह, प्रमुख औषधि व्यवस्थापक पदमा श्री भरत भट्टराईलाई बढुवा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने ।

२२. गृह मन्त्रालय- नेपाल चेम्बर अफ कमर्सको (सातौं संशोधन) विधान, २०७७ स्वीकृत गर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट