माध्यमिक तहबाटै चलचित्रसम्बन्धी पढाइ समावेश गर्ने तयारी-Sutra News

माध्यमिक तहबाटै चलचित्रसम्बन्धी पढाइ समावेश गर्ने तयारी

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- नेपालमा अहिले सीमित केही शैक्षिक संस्थाहरु छन्, जहाँ चलचित्रसम्बन्धी पढाइ हुन्छ। माध्यमिक तहको पढाइमा चलचित्रसम्बन्धी पाठ्यक्रम हुनु त परको कुरा, प्लस टुमा हुने मानविकी संकायमा पनि चलचित्र पढाइ हुने शैक्षिक संस्था सायदै होलान्।



अहिले केही शैक्षिक संस्थाहरुले स्वतन्त्ररुपमा चलचित्रसम्बन्धी पढाइरहेका छन् भने पाठ्यक्रमकैरुपमा चलचित्र पढाइ हुने केही शैक्षिक संस्थाहरुले स्नातकबाट मात्रै चलचित्रलाई पढाइरहेका छन्।

अब भने यसमा केही फरकपन आउने संकेत देखिएको छ। दुई महिनाअघि त्रिभुवन विश्वविद्यालयमा रहेको चलचित्रसम्बन्धी पाठ्यक्रम निर्धारण समीतिमा पदेन सदस्यको रुपमा गएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालकाअनुसार पाठ्यक्रम विकास केन्द्र तथा त्रिभुवन विश्वविद्यालयसँग चलचित्रसम्बन्धी पढाइलाई पनि शैक्षिक पाठ्यक्रममा समावेश गर्नेबारे छलफल सुरु भएको छ।

‘म आफूले पाठ्यक्रम विकास केन्द्र र त्रिभुवन विश्वविद्यालयमा चलचित्रलाई माध्यमिक तहबाटै पढाउनुपर्छ भन्ने प्रस्ताव लिएर गएको थिएँ। त्यसमा उनीहरुले सकरात्मक प्रतिक्रिया दिएका छन्,’ उनले भने।

दाहालले माध्यमिक पाठ्यक्रम केन्द्रमा नेपालीको शैक्षिक पाठ्क्रममा माध्यमिक तहबाटै चलचित्रसम्बन्धी पढाइलाई समावेश गनुपर्ने प्रस्ताव राखेका थिए। चलचित्रको प्रविधि, चलचित्रको इतिहास, चलचित्रको वर्तमान अवस्थालगायत विभिन्न आयामबारे पढाइ हुनुपर्ने उनको मान्यता छ। केन्द्रले उनको प्रस्तावमा सकारात्मक प्रतिक्रिया जनाएको दाहाल बताउँछन्।

‘हामीले दुई-तीन पटक छलफल गरिसकेका छौं। यसमा केन्द्रले पनि सकरात्मक प्रतिक्रिया दिएको छ,’ उनले भने।

dayaram dahal1.jpg

स्नातकबाट त्रिभुवन विश्वविद्यालयमा रहेको चलचित्रसम्बन्धी पाठ्यक्रमलाई पनि थप परिमार्जन र परिस्कृत गर्नेबारे छलफल भइरहेको दहाल बताउँछन्। अहिले पढाइ भइरहेको पाठ्यक्रमयलाई केही परिमार्जन गरेर थप परिस्कृत बनाउनेबारे छलफल भएको उनले बताए। उनले भने, ‘यसमा त्रिविले पनि सकरात्मक चासो देखाएको छ।’

माध्यमिक शिक्षाबाटै चलचित्रलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नसके नेपाली सिनेमालाई हेर्ने नयाँ कोणको विकास हुने उनको दाबी छ। त्योसँगै चलचित्रलाई मनोरञ्जनको रुपमा मात्रै हेरिरहिएको नेपाली समाजलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने उनको बुझाई छ।

‘पाठ्यक्रममा चलचित्रलाई समावेश गरेपछि नेपाली चलचित्रको विकास, यसको इतिहास, प्राविधिक पक्षलगायत बारेमा नयाँ बहस सिर्जना हुन्छ,’ उनले भने, ‘चलचित्रलाई मनोरञ्जनमात्रै नभएर, साँस्कृतिक, सिर्जनात्मक र कलात्मकरुपमा बुझ्ने शैलीको पनि विकास हुन्छ भन्नेमा विश्वस्त छु।’

माध्यमिक शैक्षिक पाठ्यक्रमबाटै चलचित्रलाई समावेश गर्दा नेपाली चलचित्रमा नेपालको मौलिकता र साँस्कृतिक पक्षलाई थप सम्बोधन गर्ने उनी बताउँछन्। ‘चलचित्रलाई हेर्ने दृष्टिकोणमा पनि फरक आउनेछ,’ उनले भने, ‘हाम्रा चलचित्रमा नेपाली मौलिकता र साँस्कृतिक कुराहरु थप आउनेछन्।’

अर्कातिर, माध्यमिक तहबाटै चलचित्रसम्बन्धी पढाइ हुँदा भविष्यमा यही क्षेत्रमा लाग्नेलाई थप सहयोग हुने उनको बुझाई छ। ‘अहिले स्नातकमा गएरमात्रै चलचित्र पढ्ने अवस्था छ,’ उनी भन्छन्, ‘भोलि यसमा परिवर्तन आएपछि चलचित्रमा लाग्नेहरुलाई पनि यसले सहयोग गर्छ।’

माध्यमिक तहबाटै चलचित्रलाई बुझेर आउने चलचित्रकर्मीहरुले थप परिस्कृत सिनेमा निर्माण गर्नेमा दाहाल आशावादी छन्।

पाठ्यक्रममा चलचित्रलाई समावेश गर्नेबारे पाठ्यक्रम विकास केन्द्रले निर्णय भने गरिसकेको छैन। दाहालका अनुसार चलचित्र विकास बार्ड, चलचित्रसम्बन्धी प्राज्ञ, चलचत्रिका विज्ञसँगै पाठ्यक्रम विकास केन्द्रबीच छलफल गरेर पाठ्यक्रम विकास प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

 ‘निर्णय गर्ने प्रक्रियामा छौं। केन्द्रले सकरात्मक प्रतिक्रिया दिएको छ। अब चाडोभन्दा चाडो निर्णय गरेर आगामी शैक्षिक सत्रबाट यसलाई सुरुवात गर्न सकिन्छ भन्ने आश गरेको छु,’ उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट