सरकारको निर्णयप्रति पूर्वपरराष्ट्र सचिवको टिप्पणी- अन्तबाट परराष्ट्रमा सरुवा गरेको भन्न मिल्दैन-Sutra News

सरकारको निर्णयप्रति पूर्वपरराष्ट्र सचिवको टिप्पणी- अन्तबाट परराष्ट्रमा सरुवा गरेको भन्न मिल्दैन

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्न सरकारले परराष्ट्र सेवा बाहिरका दुई सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ।



मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगर र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको जानकारी दिए।

रानालाई हङकङ र ढकाललाई ल्हासाकाको महावाणिज्यदूत बनाएर पठाउने सरकारको तयारी छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सरुवा गरेको र बिहीबारको मन्त्रिपरिषद्ले उनीहरुलाई नियुक्त गर्ने बताइएको छ।

पूर्वपरराष्ट्र सचिव डा.मदन भट्टराई भने यसअघि मन्त्रिपरिषद्को बैठकले सरुवा नभनेर सिधै नियुक्त गर्ने गरेको बताउँछन्। भट्टराईका भनाईमा, सरकारको निर्णयलाई सरुवाभन्दा पनि नियुक्ति भन्नुपर्ने हुुन्छ।

‘सरकारले परराष्ट्रमा सरुवा भनेपछि त्यो नियुक्ति नै हो,’ उनको भनाइ छ, ‘सरुवा यसलाई किन भन्न मिल्दैन भने उनीहरुलाई परराष्ट्र मन्त्रालयको कुनै खाली पदमा पदस्थापन गरिएको होइन। परराष्ट्रको कुनै खाली पदमा ल्याएको भए यसलाई सरुवा भन्न मिल्थ्यो। सरुवाभन्दा पनि यसलाई काजमा ल्याएको भन्दा उपयुक्त हुन्छ।’

मन्त्रिपरिषदले गरेको निर्णयमा भने यसलाई सरुवा नै भनिएको छ, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी) का सहसचिव श्री उदयबहादुर रानामगर र सहसचिव श्री नवराज ढकाललाई परराष्ट्र मन्त्रालय वा अन्तर्गत सरुवा गर्ने।’

महावाणिज्यदूतलाई ‘वाणिज्यदूत’ बुझियो

भट्टराई महावाणिज्यूदतबारे बुझाइ नै नेपालमा भ्रमपूर्ण रहेको बताउँछन्। ‘महावाणिज्यदूत’ भनिएकाले नेपालमा व्यापार–वाणिज्यसम्बन्धी जस्तो गरेर बुझिएको उनको भनाइ छ। ‘खासमा नेपालमा महावाणिज्यूदतबारेको बुझाईमा नै भ्रम छ,’ सूत्रन्युजसँग उनले भने, ‘महावाणिज्यदूत भनेको चाहिँ व्यापार-वाणिज्यसम्बन्धी हो भन्ने बुझियो। यसमा परराष्ट्रबाट जानै हुँदैन भन्ने खालको धारणा बनाइएको छ। तर, यर्थातमा महावाणिज्यूदत भनेको कूटनीतिक पद नै हो।’

महाविणज्यदूतबारे भट्टराईको थप धारणा यस्तो छ 

महावाणिज्यदूतचाहिँ विभिन्न सेवाका मान्छेलाई ल्याएर भागबण्डा मिलाउने जस्तो भएको छ। पहिले त यसमा राजनीतिक नियुक्ति हुने गर्दथ्यो। पछिल्लो समय यसलाई निजामति सेवाअन्तर्गत राखियो। निजामती सेवामा राखिएपछि कानूनत जुनसुकै सेवाबाट पनि महावाणिज्य दूत भएर जानसक्ने भए।

खासमा नेपालमा महावाणिज्यूदतबारे बुझाईमा नै भ्रम रहेर यस्तो भएको हो। महावाणिज्यदूत भनेको चाहिँ व्यापार–वाणिज्य सम्बन्धी हो भन्ने बुझियो। यसमा परराष्ट्रबाट जानै हुँदैन भन्ने खालको धारणा बनाइएको छ। तर, यथार्थमा महावाणिज्यूदत पनि कूटनीतिक पद नै हो।

अरु देशले महावाणिज्यूदतमा कूटनीतिक सेवाका मान्छेहरुलाई नै पठाउँछन्। दक्षिण एसियामा हामीमात्रै हो, यसमा कूटनीतिक सेवाभन्दा बाहिरकालाई पठाउने। परराष्ट्र सेवाकालाई मात्रै पठाउनुपर्छ भन्ने मेरो कुरा होइन, तर प्राथमिकताचाहिँ यही सेवाकालाई नै दिनुपर्छ। ज्यादै राम्रो व्यक्ति भएको खण्डमा अन्य क्षेत्रबाट पनि पठाउनु कुरा अलग हो।

हाम्रोमा महावाणिज्यदूतलाई तल्लो तहको पद भनेर हेला गरेको पाइन्छ। तर, यसको महत्व निकै हुन्छ। ठाउँको महत्व हेरी कतिपय देशले त राजदूत भैसकेका व्यक्तिलाई समेत महावाणिज्यदूत बनाएर पठाएका छन्। हाम्रा लागि हङकङ, ल्हासा, कलकत्ता निकै महत्वका ठाउँ हुन्। त्यहाँ राजदूत भइसकेका व्यक्तिलाई पठाए महावाणिज्यदूतका रुपमा पठाए पनि हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट