गलकोट–बागलुङ नगरपालिकाका पूर्वनगर प्रमुख स्वर्गीय ऋषिराम शर्माको नाममा स्मृतिद्वार निर्माण गरिएको छ।
साविक धौलागिरी अञ्चलको पहिलो नगरपालिकाका नगर प्रमुख शर्माको कार्यक्षमता र दूरदर्शिताका कारण नगरपालिकामा विकासको आधार र खाका तयार गर्नमा उल्लेख्य योगदान गरेको सम्मानस्वरुप बागलुङ नगरपालिकाले ‘ऋषिराम शर्मा स्मृतिद्वार’ निर्माण गरेको हो।
आर्थिक वर्ष २०७५/७६ को ५ लाख र आर्थिक वर्ष २०७६/७७ मा विनियोजित छ लाख र स्थानीयको २ लाख बराबरको श्रमदानमा गरी १३ लाखको लागतमा स्मृतिद्वार निर्माण गरिएको बागलुङ नगरपालकाले जनाएको छ।
विसं २०५४ देखि ५९ सम्म जननिर्वाचित पहिलो नगर प्रमुख भएर बागलुङ नगरवासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको भन्दै उनको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका-४, कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।
‘नगरको संस्थागत विकासका लागि अगाडि सारेका योजना निकै दूरदर्शी पाइयो,’ नगर प्रमुख पौडेलले भने, ‘उहाँको बहुआयामिक योगदानको नगरले सधै स्मरण गर्न पाइयोस् भनेर स्मृतिद्वार निर्माण गरेका हौँ ।’