काठमाडौं- नेपाली कांग्रेसले रौतहट र मोरङमा राज्यको नियन्त्रण र जिम्मेवारीमा रहेका दुई युवाको शंकास्पद ढंगले बिहीबार भएको मृत्युको घटनाप्रति अनुसन्धान गर्न माग गरेको छ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिनदेखि हिरासतमा रहेका वर्ष १९ का विजय महराको मृत्यु भएको थियो। मृत्युपछि परिवारजन र स्थानीयवासी आक्रोशित भएका थिए।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष माग गरेका हुन्।
त्यस्तै मोरङको जिल्ला कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको बिहीबार अपरान्ह कोशी अस्पतालमा मृत्यु भएको थियो। यादवको मृत्यबारे शंकास्पद विवरणहरू बाहिर आइरहेका बेला कांग्रेसले उक्त घटनाको सत्यतथ्य अनुसन्धानमार्फत् सार्वजनिक गर्न कांग्रेस माग गरेका छ।
धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद भएको बताएको पनि कांग्रेसले बताएको छ।
कांग्रेसले भनेको छ, ‘एकपछि अर्को उस्तै घटना घट्दै जाँदा प्रहरीको छविलाई त्यसले पुर्याउने असरप्रति गम्भीरताका लागि यसको नेतृत्वलाई समेत सजग गराउँदै कांग्रेस वास्तविकता सार्वजनिक गर्ने र आवश्यक कार्वाहीको प्रक्रियामा जाने कार्यमा कुनै मोलाहिजा नगर्न सरकारसँग आग्रह/माग गर्दछ।’
त्यसैगरी, पूजारी हत्याको अनुसन्धान गर्न पनि कांग्रेसले सरकारको विशेष ध्यानाकर्षण गराएको छ।
‘रौतहट माधवनारायण नपाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लागि पनि कांग्रेस सरकारको विशेष ध्यानाकर्षण गराउँदछ’ जारी विज्ञप्तिमा उल्लेख छ।