काठमाडौं–नेपाली कांग्रेस समन्वय समितिका संयोजक पद्म नारायण चौधरीले विश्व बैंकमार्फत् किसानको नाममा आएको अनुदान रकम दुरुपयोग गर्नेलाई कारवाहीको माग गरेका छन्।
विश्व बैंकको सहयोगमा सञ्चालित व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक अनियमितताको विश्व बैंकले आफैं छानविन गरी दोषीलाई कारवाही अर्थमन्त्रीलाई पठाएको पत्रले देशको गरिमामा नै आँच आएको बिहीबार चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘विश्व बैंकमार्फत् किसानको नाममा आएको ठूलो अनुदान रकम दुरुपयोग भएको प्रमाणित हुँदा पनि त्यसमा संलग्न व्यक्तिहरूलाई कारवाही नभएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ।
किसानको नाममा आएको ठूलो अनुदान रकम राजनीति पुहँचको आधारमा आफ्ना निकट व्यक्तिलाई वितरण गरिएको र नक्कली कृषि फर्म देखाएर लाभ लिने जस्ता घृणित कार्यको विश्व बैंकको अनुसन्धानले पुष्टि गरेको बताउँदै संयोजक चौधरीले सरकारले दोषीको बचाउ गरेको बताएका छन्।
दातृ नियकाबाट प्राप्त हुने अनुदानलाई सही रुपमा सदुपयोग गर्न र भ्रष्टचार तथा अनियमिततालाई नियन्त्रण गर्न संयोजक चौधरीले सरकारलाई सचेत गराएका छन्।