निरन्तर दौड : अल्ट्रा धाविका मीराको जीवन दर्शन-Sutra News

निरन्तर दौड : अल्ट्रा धाविका मीराको जीवन दर्शन

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- सामाजिक सञ्जाल र सञ्चारका अन्य माध्यममा पहुँच हुनेहरुका लागि मीरा राईको नाम नौलो होइन। उनी आफैंलाई ‘आफ्नो सामान्य परिचय दिनुस्’ भनियो भने, उनी निकै छोटकरीमा प्रस्तुत हुन्छिन्, ‘नाम मीरा राई, भोजपुरको सामान्य परिवारमा २०४५ सालमा जन्मेको। हाल काठमाडौं।’



‘तपाईंको परिचय यत्तिमात्र हो त?’ भन्ने प्रश्न गरेपछि बल्ल अलिक खुल्न थाल्छिन् उनी। र,आफ्नो कथा सुनाउन थाल्छिन्।उच्च शिक्षा हासिल गर्ने तीब्र चाहना थियो। तर, मीराले विद्यालय शिक्षा समेत पूरा गर्न पाइनन्। परिवारलाई सघाउनु पर्ने बाध्यताका कारण विद्यालय छोड्नुपर्यो।

पढाई छाडेर परिवारसँग खेती–किसानीमा अल्झिइन्। हुन त, आफ्नो बाबु–आमाका सन्तानमध्ये दाजुपछि उनको जन्म भएको थियो। तर, छोरी भएकाले मीराको काँधमा सानै उमेरमा पारिवारिक जिम्मेवारी थपिदै गए। उनको दैनिक जीवन उकाली–ओराली, घाँस-दाउरामा सीमित हुन थाल्यो।

देशमा माओवादीको सशस्त्र विद्रोह चलिरहेको बेला थियो त्यो। ठ्याक्कै गते र वार उनलाई सम्झना छैन। सिर्फ यत्ति याद छ कि, २०६३ मंसिरमा बृहद शान्ति सम्झौता हुनुभन्दा २ वर्ष अघिको घटना हो यो। उनी लडाकूका रूपमा माओवादी जनमुक्ति सेनामा प्रवेश गरिन्।

समाजमा गरिवी थियो,अन्याय थियो,अत्याचार थियो,असमानता थियो र छुवाछुत पनि। यी सबै कुराको अन्त्य हुने कुरा सुनेपछि भर्खरकी किशोरी मीराको मन पग्लिहाल्यो। कलम समाउने हातले कुटा-कोदाली गर्न थालेका थिए। समाजमा रहेको विभेद अन्त्य गर्ने कुरा सुनेपछि बन्दुक बोक्ने निर्णय गरिन्।

किशोरी नै थिइन्। त्यसैले उनले बन्दुक पड्काएर कुनै युद्धमा सामेल हुनु परेन। लडाकू बनेर जे सपना देखेकी थिइन्, त्यो पनि पुरा भएन। तर, विश्वप्रसिद्ध खेलाडी बन्ने खुड्किलो भने जनमुक्ति सेनामा उनको प्रवेशले चढाइदियो। शान्ति सम्झौतापछि क्यान्टोनमेन्टमा बस्न थालेको माओवादी जनसेनाको ब्यारेक रहेर विविध खेलहरु देख्न र आफै सहभागी हुने अवसर पाइन्।

भोजपुरको पहाडमा उकाली-ओरालीमा अल्झिएकी मीरालाई महिलाहरुले पनि खेल खेल्छन् भन्ने जानकारी लडाकू टोलीमा सहभागी हुनुअघि थिएन। झन् आफैं जीवनमा खेलाडी बन्छु भन्ने त उनले सोचेकी पनि थिइनन्। तर,सिन्धुलीस्थित क्यान्टोनमेन्टमा महिला लडाकूहरुले पनि खेल खेलेको देखेपछि उनलाई लाग्यो, मपनि खेल्न सक्ने रहेछु।

 

118198248_855979618472031_4292555187267769499_n.jpg

उत्साहित हुँदै उनले कराँतेमा आफ्नो नाम टिपाइन्। लडाकू जीवन जारी थियो, उनले खेल जीवनको सानो दियो बाल्न सुरु गरिन्। कराँतेबाट आफ्नो खेल जीवन सुरु गरेता पनि उनले न त कुनै आधिकारिक कराँते प्रतियोगितामा भाग लिइन्, न त कुनै उपाधि नै जितिन्।

शान्ति सम्झौता भएपछि उनी सामान्य जीवनमा फर्किइन्। सिन्धुलीमा बसेर डिप्लोमासम्मको अध्ययन सम्पन्न गरिन्। त्यसपछि सुरु भयो,काठमाडौंतिरको यात्रा। सन् २०१४ मा काठमाडौं बसाइको क्रममा यी पूर्वलडाकू आफ्नो ‘फिटनेस’ को लागि हरेक बिहान रनिङ गर्थिन्।

उनले समूह–समूहमा मानिसहरु दौडिरहेको त देखेकी थिइन्। तर, म्याराथन प्रतियोगिताबारे अनविज्ञ थिइन्। जिज्ञासा लाग्यो, उनी उक्त समूहसँग नजिक भइन्। उनको चिनजान त्यही समूहका भीम गुरुङसँग भयो। उनले अर्को हप्ताका लागि ‘हिमालयन आउट डोर्स फेस्टिभल’ मा आउने निम्ता दिए।

भलै,म्याराथनका बारेमा त्यसअघि उनलाई जानकारी थिएन। तर, अब यसबारेमा ‘समूहमै तालिम गर्न पाइने भो’ भन्ने कुराले थप उत्साहित हुँदै भीमलाई भेट्न पुगिन्। ‘मलाइ म्याराथन भन्ने नै थाहा थिएन, त्यहाँ पुग्दा सबै जना दौडनका लागि तयारी अवस्थामा थिए, मसँग भने दौडनका लागि राम्रो जुत्ता समेत थिएन’ मीरा सम्झिन्छिन्, ‘त्यही थोत्रो जुत्ता लगाएर दौडिएँ।’

खासमा उनी तालिम सम्झेर गएकी थिइन्। तर,प्रतियोगितामा नै सामेल हुने गरी उनलाई दौडन लगाइयो। दौडन भनेपछि दौडिरहिन्। ‘नरोकिनू’ नभनेसम्म दौडिन छोडिनन्।

नतिजा? तालिम सम्झेर उनी म्याराथन च्याम्पियन पो बनेर फर्किइन्। जिन्दगीमा पहिलो चोटि केही पनि ज्ञान नलिइकन ५० किलोमिटर दौडिएर ‘हिमालयन आउट डोर्स फेस्टिबल’ को उपाधि हासिल गरेपछि उनलाई अब धाविका बन्ने सोचले एकाएक घचेट्न थाल्यो। यो सपना साकार पार्न उनले आफ्नो मेहनतको गति बढाउँदै गईन्, दौडको गति पनि बढ्दै गयो।

त्यसपछि सन् २१ अप्रिल २०१४ (९८ बैशाख २०७१) मा भएको ‘मुस्ताङ ट्रेल रेस’ मा सहभागी भइन्। उक्त प्रतियोगितामा जितको ताज पनि उनकै शिरमा पर्यो। मीराको दौडको गति सुरु भइसकेको थियो, जुन रोकिनेवाला थिएन। ‘ट्रेल रेस’ मा आफूलाई राष्ट्रिय खेलाडीको रुपमा स्थापित गराइसकेकी थिइन् उनले।

‘ट्रेल रनिङ नेपाल’ का मेन्टर रिचर्ड बुलले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन प्रोत्साहित गरे, सहयोग पनि। उनैको पहलमा मीराले ‘सेलारोन्डा ट्रेल रेस’ मा दौडिने मौका पाइन्। र,उनले ५७ किलोमिटरको दुरी सिर्फ ६ घन्टा ३६ मिनेट ३० सेकेन्डमा पूरा गरिन्।

निरन्तर दौड उनको जीवनको दर्शन नै बनेको छ। अहिले उनी बिकट गाउँका तर आफूजस्तै सम्भावना बोकेका युवतीहरुलाई धाविका बनाउन र ‘ट्रेल रनिङ’ लाई नेपालमा स्थापित गर्न दौडिरहेकी छन्।

पहिलो अन्तर्राष्ट्रिय यात्रामा सबैलाई चकित तुल्याउदै उपाधि जितेकी उनले त्यसपछि पनि सबैलाई थप चकित पार्दै गइन्। यो उपाधिपछि मीराको चर्चा अन्तर्राष्ट्रिय रुपमै हुन थाल्यो।

मीराको गति अझै बढ्दै जान थाल्यो। २८ सेप्टेम्बर २०१४ (२९ भदौ २०७१) मा भएको डेग्ली आरोही (८३ किमी) उनले ९ घन्टा १६ मिनेटमा पूरा गर्दै उपाधि जितिन् भने अक्टोबर २६ मा एसएमजिआइ हङ्क (५०किमि) ५ घन्टा ३० मिनेट ३२ सेकेन्डमा पूरा गर्दै सन २०१४ का लागि लगातार पाँचौ उपाधि जित्न सफल भइन्। 

६ वर्षे यात्रामा हालसम्म कूल २० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावन प्रतियोगितामा भाग लिएकी उनले १४ वटा उपाधि जितेकी छन्। त्यसक्रममा शानदार रुपमा विश्व रेकर्डहरु समेत कायम गरेकी छन्। तिनमा द नर्थ फेस काठमान्डु अल्ट्रारेस, किङ अफ दि हिल्स, एमएसआइजी हङकङ ९५०० साइकुङ एसिया स्काइरनिङ च्याम्पियनशिप मोन्ट ब्लाङ्क (८०किमि) ,ब्यारो स्काइ नाइट र बेन नेभिस अल्ट्रा जस्ता उपाधि सामेल छन्।

‘नेशनल जियोग्राफिक एड्भेन्चरर अवार्ड’ बाट समेत सम्मानित भैसकेकी मीरा अनुशासन र लगनशिलतालाई आफ्नो सफलताको स्रोत मान्छिन्।उनी सफलताको चरमचुलीमा छिन्। तर, मीरालाई लाग्छ, आफूमात्र सफल भएर हुँदैन।

त्यसो भए थप के चाहन्छिन् त उनी?

‘मैले पो पहिला केही बुझेकी थिइनँ, त्यसैले मेरा इच्छाहरु सीमित थिए, अहिले त प्रविधिले सबै कुरा थाहा पाउन सक्ने बनाएको छ’ उनी भन्छिन्, ‘यति हुँदाहुँदै पनि सम्भावना भएका, तर आर्थिक अभावका कारण धाविका बन्नबाट बन्चित धेरै किशोरीहरु छन्, उनीहरुको चाहना पूरा गरेर सफल बनाउने मेरो चाहना छ।’

त्यस्ता किशोरीहरुलाई उनले छात्रबृति पनि मिलाउँदै आएकी छन्। यसका लागिे ‘मीरा राई इनिसियटिब’ नामको संस्था स्थापना गरिएको छ, त्यसमार्फत् उनले उनले विपन्न परिवारबाट आएका किशोरीहरुलाई खाने–बस्ने व्यवस्थासहित १ वर्षको नि:शुल्क तालिमको छात्रवृत्ति मिलाइदिने गरेकी छन्।

आफ्नो संस्थाले सहयोग गरेर खेलाडी बनेका धाविकाहरुले हङ्गकङ्गमा पुगेर उपाधि जितेका छन्। जापान, ओमान लगायतका मुलुकमा आयोजित प्रतियोगितामा समेत भाग लिएका छन्।यति कुरा सुनाउँदा मीराको अनुहार एकाएक उज्यालो भएर आउँछ। सन्तुष्टिको भाव झल्किन्छ।

118197611_2649296852065530_3019262173299092281_n.jpg

मीरा स्वयं सहभागी हुने गरी केही यस्ता प्रतियोगिता तय भइसकेका थिए। तर, कोभिड–१९ को महामारीका कारण स्थगित हुन पुगे। त्यसले उनलाई निराश बनाएको छ। अझ निराश त बिकट गाउँबाट आफ्नो संस्थाले ल्याउने भनिएका किशोरीहरुलाई ल्याउन नपाएको कुराले बनाएको छ।

नेपालमा ‘ट्रेल रनिङ’ लाई अझ विकसित बनाउन चाहन्छिन् उनी। आफ्नो सम्पूर्ण ‘इफोर्ट’ यसैमा लगाएकी छन्। तर, राज्यको तर्फबाट साथ र सहयोग नपाउँदा उनलाई नमीठो लागिरहेको छ।

‘ट्रेल रनिङ नेपालमा नौलो भएकोले पनि मानिसहरुले यसको बारेमा राम्ररी बुझ्न नसकेको होलान्’ आफैलाई चित्त बुझाउने कोशिस गर्छिन् उनी, ‘त्यही कारण सहयोग नमिलेको हो कि?’ किशोरी छँदा आर्थिक अभावका कारण चाहेजति अध्ययन गर्न नपाएकी उनलाई अमेरिकी वेष्ट क्लिफ विश्वविद्यालयले ‘बिजनेस एडमिनिष्ट्रेशन’ मा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । यसलाई उनी आफ्नो जीवनको अमूल्य उपाधि मान्छिन्।

३२ वर्षे जीवन यात्रामा मीराले हजारौँ कोसको दुरी दौडेरै पार गरिन्। कति कोस दौडिन्, त्यसको नापको रेकर्ड उनीसँग छैन। कहिले परिवारको विपन्नतासँग जुध्न विद्यालय छोडेर दौडिन्, कहिले समाजको रुपान्तरणका लागि बन्दुक बोकेर दौडिन्। कहिले खेलकूदमा आफ्नो पहिचान स्थापित गर्न दौडिन्, त कहिले देशको शिर उच्च पार्ने आशामा धावन मार्गमा दौडिन्।

निरन्तर दौड उनको जीवनको दर्शन नै बनेको छ। अहिले उनी बिकट गाउँका तर आफूजस्तै सम्भावना बोकेका युवतीहरुलाई धाविका बनाउन र ‘ट्रेल रनिङ’ लाई नेपालमा स्थापित गर्न दौडिरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट