नेकपा सचिवालयको बैठक भोलि नहुने, १८ भदौका लागि सारियो-Sutra News

नेकपा सचिवालयको बैठक भोलि नहुने, १८ भदौका लागि सारियो

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं–सत्तारुढ नेकपा केन्द्रीय सचिवालयको बैठक १८ भदौसम्मका लागि स्थगित भएको छ। भोलि (१३ भदौ) हुने भनिएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको आजको बैठकले १८ भदौमा सार्ने निर्णय गरेको हो।



महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने उद्देश्यले १३ भदौका लागि अध्यक्षद्वयले बैठक तय गरेका थिए। ९ भदौ विहान भएको अध्यक्षद्वयको बैठकले सोही मितिका लागि बैठक आयोजना गरेको थियो।

३० साउनमा गठन गरिएको कार्यदलले ६ भदौमा अध्यक्षद्वयलाई प्रतिवेदन पेश गरेको थियो। कार्यदलले प्रतिनिधिसभाको बाँकी अवधिभर केपी शर्मा ओलीले प्रधानमन्त्री रहने र आगामी महाधिवेशन अघिसम्म प्रचण्ड कार्यकारी अध्यक्ष रहने प्रस्ताव पेश गरेको छ।

यसैगरी आगामी चैत्रमा पार्टीको एकता महाधिवेशन गर्ने लगायतका प्रस्तावपनि कार्यदलले गरेको छ । प्रतिवेदनमा पार्टी स्थायी समिति र केन्द्रीय कमिटी बैठकको समेत प्रस्ताव गरिएका छन्।

कार्यदलको गठन अध्यक्षद्वयले गठन गरेकाले उनीहरुले नै सचिवालयको बैठकमा प्रतिवेदन पेश गर्ने र कार्यदलले छलफलपछि त्यसलाई पारित गर्ने योजना थियो। तर,कोभिड-१९ संक्रमणको बढ्दो विस्तारका कारण बैठक सार्ने निर्णय अध्यक्षद्वयले गरे।

यसअघि १३ भदौका लागि बैठक तय गरिँदा राजधानी काठमाडौँमा जारी गरिएको निषेधाज्ञा १० भदौसम्मका लागि मात्र थियो। तर, कोभिड–१९ को संक्रमण झन् विस्तार भएपछि १७ भदौसम्मका लागि निषेधाज्ञाको अवधि विस्तार गरिएको छ।

१७ भदौसम्म निषेधाज्ञा जारी रहने भएकाले अध्यक्षद्वयले १८ भदौका लागि सचिवालयको बैठक तय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट