रक्षा र गृह मन्त्री ‘आइसोलेसन’मा बसेपछि स्थगित भयो नेकपा सचिवालय बैठक-Sutra News

रक्षा र गृह मन्त्री ‘आइसोलेसन’मा बसेपछि स्थगित भयो नेकपा सचिवालय बैठक

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७
काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक १८ भदौसम्मका लागि स्थगित भएको छ। भोलि (१३ भदौ) हुने भनिएको बैठक सचिवालयका दुई सदस्यहरु ‘आइसोलेसन’मा बस्नुपर्ने भएपछि स्थगित गरिएको बताइएको छ।
 
रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बसेका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)का दुईजना कार्यालय सहयोगीलाई सङ्क्रमण देखिएपछि पोखरेल र थापा आइसोलेसनमा बसेका हुन्। उनीहरु पछिल्लो समय सिसिएमसिको बैठकमा सहभागि भएका थिए।
 
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाकाले पनि कोभिड–१९ को संक्रमण जोखिम बढेकोले बैठक स्थगित भएको बताए। ‘कोभिड–१९ अलि बढ्यो भन्ने छ। दुई/चार दिन हेरौं न भन्ने छ ।’ उनका अनुसार शुक्रबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको भेटघाटपछि बैठक स्थगित गर्ने निर्णयमा पुगिएको हो ।
 
नेकपा बरिष्ठ नेता माधव नेपाल पनि आइसोलेसनमा बसेका छन् । ६ साउनमा उनको सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि उनी आइसोलेसनमा बसेका हुन्।
 
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने उद्देश्यले १३ भदौका लागि अध्यक्षद्वयले बैठक तय गरेका थिए। ९ भदौ विहान भएको अध्यक्षद्वयको बैठकले सोही मितिका लागि बैठक आयोजना गरेको थियो।
 
३० साउनमा गठन गरिएको कार्यदलले ६ भदौमा अध्यक्षद्वयलाई प्रतिवेदन पेश गरेको थियो। कार्यदलले प्रतिनिधिसभाको बाँकी अवधिभर केपी शर्मा ओलीले प्रधानमन्त्री रहने र आगामी महाधिवेशन अघिसम्म प्रचण्ड कार्यकारी अध्यक्ष रहने प्रस्ताव पेश गरेको छ।
 
यसैगरी आगामी चैत्रमा पार्टीको एकता महाधिवेशन गर्ने लगायतका प्रस्तावपनि कार्यदलले गरेको छ । प्रतिवेदनमा पार्टी स्थायी समिति र केन्द्रीय कमिटी बैठकको समेत प्रस्ताव गरिएका छन्।
 
कार्यदलको गठन अध्यक्षद्वयले गठन गरेकाले उनीहरुले नै सचिवालयको बैठकमा प्रतिवेदन पेश गर्ने र कार्यदलले छलफलपछि त्यसलाई पारित गर्ने योजना थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट