बजारमा गोलभेंडा अभाव भएपछि बढ्यो मूल्य-Sutra News

बजारमा गोलभेंडा अभाव भएपछि बढ्यो मूल्य

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- अहिले तरकारी बजारमा गोलभेंडाको मूल्य बढेको पाइएको छ।



बिहीबार कालीमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यअनुसार ठूलोे गोलभेंडाको मूल्य प्रतिकिलो ६८ देखि ७० सम्म रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

निषेधाज्ञा भएसँगै गोलभेंडाको मूल्य दोब्बर बढेको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरेको थियो । बिहीबार गरिएको अनुगमनमा गोलभेंडाको मूल्य ठाउँअनुसार फरक पाइएको विभागले जानकारी दिएको छ । उपत्यकाको तीन जिल्लामा गोलभेंडा प्रतिकिलो १ सय ६० सम्म वितरण भइरहेको विभागले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

साउन महिनामा कालीमाटी थोक बजारमा गोलभेंडाको मूल्य ७० देखि ८० रुपैयाँसम्म रहेको थियो। पछिल्लो समय खुद्रा बजारमा पनि ५० रुपैयाँमा पाइन्थ्यो।

कसरी बढ्यो मूल्य?
उत्पादन घटेपछि बजारमा गोलभेंडा कम मात्रामा देखिएकाले मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउँछन्।

काठमाडौं आउने बाहिरी नाकाहरु बन्द भएका कारण उत्पादित तरकारी पनि बजारमा ल्याउन सकिएको छैन। श्रेष्ठका अनुसार कोरोना भाइरसको संक्रमण बढेसँगै स्थानीय सरकारहरुले धमाधम जिल्ला तथा केन्द्रहरूमा निषेधाज्ञा गरेका छन्। ‘काठमाडौंमा पनि बाहिरबाट आउने नाकाहरु बन्द छन्,’ उनी भन्छन्, ‘यसले गर्दा किसानले उत्पादन गरेको गोलभेंडा बजारसम्म आउन पाएका छैनन्।’ यसका साथै भारतबाट पनि नेपालमा गोलभेंडा आयात गर्न सकिएको छैन ।

अहिले वर्षाको समय भएको हुँदो पनि बजारमा गोलभेंडा कम भएको श्रेष्ठ बताउँछन्। ‘वर्षाको समयमा गोलभेंडा कुहिएर जाने सम्भावना बढी हुन्छ । यसकारण बजारमा माग अनुसार आयात हुन सकेको छैन,’ श्रेष्ठ भन्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट