किन बढ्दैछ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या?-Sutra News

किन बढ्दैछ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या?

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- कोभिड–१९को लक्षण देखिएका कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या पछिल्लो समय बढ्दै जान थालेको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये लक्षण देखिनेहरुको संख्या २० प्रतिशत छ। जबकि पहिलो लकडाउन खुकुलो हुनुअघि लक्षण देखिएका संक्रमित ७ प्रतिशत मात्रै थिए। लक्षण देखिएका संक्रमितको संख्या बढेसँगै मृत्युसंख्या पनि तीव्र रुपमा बढेको तथ्याङ्कले देखाएको छ।

३ जेठ २०७७ मा कोरोनाबाट पहिलो पटक सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको थियो। बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धुलिखेल लैजाने क्रममा मृत्यु भएको थियो। पहिलो मृत्यु भएको झण्डै ३ महिना पुग्न लाग्दा साउन ३० गतेसम्मको तथ्याङ्कअनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या सय पुगेको थियो।

तर, अहिले मृत्युदर नै तीव्र रुपमा बढेको देखिन्छ। पछिल्लो १२ दिनयता मृत्यु हुनेको संख्या मात्रै ९५ पुगेको छ। शुक्रबार मात्र एकैदिन १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो कोरोनाबाट दैनिक मृत्यु हुने संख्या भन्दा अहिलेसम्मकै उच्च संख्या हो। यसअघि बुधबार कोरोनाबाट ११ जनाको मृत्यु भएको थियो।

शुक्रबारसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ। यो संख्या हेर्दा २ सय पार छिट्टै हुने देखिन्छ। पछिल्लो २४ घण्टाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेटअनुसार ३६ हजार ४ सय ५६लाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

संक्रमित बढेसँगै लक्षण हुने र मृत्यु संख्या बढ्यो
पछिल्लो समय संक्रमितहरु अत्यधिक बढेका कारण लक्षण देखिएका संक्रमितहरु बढेका जनस्वास्थ्यविद्हरु बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार पहिलेको तुलनामा संक्रमित संख्या गुणात्मक संख्यामा बढेको हुँदा लक्षण देखिने बिरामीहरु पनि बढेका हुन्। यही कारण मृत्युसंख्यामा पनि तीव्र वृद्धि भएको उनी बताउँछन्।

‘पहिला संक्रमित हुने दर कम थियो । तर अहिले तीब्र रुपमा धेरैलाई कोरोना संक्रमण भइरहेको छ’ डा पुन भन्छन्, ‘संक्रमणको अनुपातमा मृत्यु संख्या बढ्नुुको कारण यही हो।’ संक्रमति संख्या बढेपछि त्यसको असर दीर्घ रोगी र वृद्धवृद्धालाई भएको उनी बताउँछन्।

लकडाउन खुकुलो हुनुुअघि ९६ प्रतिशत संक्रमितहरु बाहिरबाट आएकाहरु थिए। जब लकडाउन सरकारले खुकुलो गर्‍यो, तब आयातित मात्र नभई समुदायमा रहेका मानिस पनि संक्रमित हुन थाले। पुन भन्छन्, ‘लकडाउन खोलेपछि र निषेधाज्ञा सुुरु हुुनुअघि जुुन बीचको समय थियो, त्यो बेला ध्यान पुुर्याउन नसक्दा परिस्थिति खराब भयो ।’ मानिसहरुले बेवास्ता गर्दा परिस्थिति बिग्रिन पुुगेको र घर–घरमा संक्रमित भेटिन थालेको उनले बताए।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भारतबाट आएका मान्छेहरुले समुदायमा कोरोना सारेपछि संक्रमण संख्या तीव्र भएको बताउँछन्। उनका अनुसार भारतबाट आउने मानिसहरु अधिकांश रोजगारीका लागि गएकाहरु थिए। उनीहरु स्वस्थ थिए, स्वस्थ भएकाले उनीहरुमा लक्षण देखिएको थिएन।

‘उनीहरुमा लक्षण नदेखिएपनि उनीहरुबाट संक्रमित भएकाहरुमा लक्षण देखिएको छ’ उनी भन्छन्, ‘उनीहरुबाट संक्रमित भएकामध्ये जो डाइबिडिज, हाइपोटेसन, छातिको रोग, रोगविरुद्ध लड्ने शक्ति कम भएका र मिर्गौलाका रोगी छन्, उनीहरुमा धेरै लक्षण धेरै दखिन थाल्यो । र, मृत्युसंख्या पनि बढ्यो ।’

डा गौतम दुई महिनाअघि नै आफूले संक्रमितहरु तीव्र बढ्न सक्छ भन्दै सजग गराएको बताउँछन्। ‘दुुई महिनाअघि नै माइतिघर मण्डला, बालुवाटारतिर जुलुस नगरौं, तपाईंहरु स्वस्थ भएपनि घरमा वृद्ध बा–आमालाई संक्रमण हुुनसक्छ भनेका थियौं’ उनी भन्छन्, ‘अहिले त्यस्तै भयो, आन्दोलन गर्नेहरुले परिवारका अन्य सदस्यहरुलाई सारे।’

भाइरसको रुप परिवर्तनबारे अनुसन्धान गर्नुपर्छ
डा पुुनका भनाइमा, भाइरसबारे अझै थप अनुसन्धान गर्नुपर्ने स्थिति छ, किनभने नेपालमा सक्रिय रहेको भाइरसले रुप परिवर्तन गरेको हुनसक्छ । ‘पहिले पहिले बिरामी भएर भन्दा पनि विदेशबाट आएर चेकजाँच गर्न आउनेहरु थिए । तर पछिल्लो समय रुघाखोकी लाग्यो भनेर आउनेहरु संक्रमित छन्’ उनी भन्छन्, ‘किन यस्तो फरक भयो भनेर अनुसन्धान गर्नुपर्ने हुन्छ।’

मौसमको कारण लक्षणवाला बिरामी देखिए कि भाइरसको कारण भन्नेबारे खोज गरिरहेको उनी बताउँछन्। यद्यपि, लक्षण देखिएका बिरामी बढ्दै जानुले समस्या थपिँदै जाने उनको भनाइ छ। ‘लक्षणवाला बिरामी देखिनु भनेको अस्पताल भरिनु हो’ उनी भन्छन्, ‘जति बिरामी आइसियु र भेन्टिलेटरमा जान्छन् मान्छेको मृत्यु हुने सम्भावना बढी हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट