काठमाडौं–निमोनिया भएर उपचारका लागि भक्तपुर अस्पताल आएका एक बिरामीको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट शुक्रबार मृत्यु भएको छ। भक्तपुर नगरपालिका–३ मंगलाछेका एक ८२ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले निमोनिया भएर बिहीबार दिउँसो उपचारका लागि ल्याइएका पुरुषको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए। बिरामीको बिहबिार नै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाएको र आज आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उनले बताए।
मृतकमा सङ्क्रमण पुष्टि भएपछि उक्त उपचार कक्ष बन्द गरिएको उनले जानकारी दिए। अस्पतालमा हरेक दिन भाइरस निर्मलीकरण गर्ने गरिएको र मृतकको उपचार भएको उक्त कक्षमा पनि निर्मलीकरण गर्नुका साथै तीन दिन सो कक्ष बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई आइसोलेसनमा राखिने उनले बताए।
सुरक्षाकर्मीले मंगलाछेस्थित मृतक बस्ने क्षेत्र सिल गरी परिवारलाई घरमै आइसोलेसनमा राखेको र कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताइएको छ। यसअघि मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका लागि ल्याइएका स्थानीय ६२ वर्षीया एक महिलाको गएराती पौने १ बजे मृत्यु भएको थियो । दम र उच्च रक्तचापको बिरामी रहेकी महिला घरमा बेहोस भएपछि अस्पताल पुर्याउँदा मृत्यु भइसकेको र कोरोनाको लक्षण देखिएकाले पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।
दुवै शवको आजै नेपाली सेनाको वीर दल गण सूर्यविनायकको टोलीले पशुपतिस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गरेको गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिए। भक्तपुरमा यसअघि कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।
सोमध्ये सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारका क्रममा पाटन अस्पतालमा, सूर्यविनायक नपा ८ का ७३ वर्षीय पुरुषको काठमाडौंको मेडिकेयर अस्पतालमा र ५३ वर्षीया महिलाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। आजसम्म भक्तपुरमा ४ सय २९ जना कोरोना सङ्क्रमित भएका छन् भने ५ जनाको मृत्यु भएको छ।