सन् २०१९ डिसेम्बरको महिना । भारतको कानपुरस्थित ‘आईआईटी’मा विद्यार्थीहरुले गरिरहेको आन्दोलनलाई त्यहाँका प्राध्यापकहरुले ‘भारत विरोधी आवाज’को संज्ञा दिए ।
विद्यार्थीविरुद्ध चलाइएको क्रुर कदम र भारतको नागरिकता संशोधन ऐनविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।
तर, त्यो आन्दोलनलाई सरकार र ‘आईआईटी’ले नै ‘भारत विरुद्ध उठाएको आवाज’ करार गर्ने प्रयास गरे । विद्यार्थीहरुको आवाजलाई भारत सरकारले ‘हिन्दु भावनामाथि हमला’को संज्ञा दियो ।
यो आरोप लाग्नुको कारण थियो, पाकिस्तानी कवि फैज अह्मद फैजको नज्म ‘हम देखेंगे’ का केही हरफहरु, जसलाई ‘आईआईटी’का विद्यार्थीहरुहरुले आन्दोलनको दौरान प्रयोग गरेका थिए ।
आन्दोलनमा ‘आईआईटी’का विद्यार्थीहरुले जामिया मिल्लिया ईस्लामिया विश्वविद्यालयको समर्थनमा फैजको नज्मका हरफहरु गाउँदा यसले ‘हिन्दु भावनामाथि हमला’ गरेको भनियो ।
गीतलाई २०१९मा ‘हिन्दु भावनामाथि हमला’ गरिएको संज्ञा दिइएपनि भावनामा हमला गर्ने डर तीन दशक अघिबाटै थियो । फरक मात्र के भने त्यो बेला यो गीतले पैदा गर्ने डर सिमाभन्दा धेरै पर थियो ।
सन् १९८५ मा पाकिस्तानका सैन्य तानशाह जिया–उल–हकले देशमा विभिन्न खालका बन्देज लगाएका थिए । बन्देज लगाइएका विषयमध्ये महिलाले सारी लगाउन र सायर–कवि फैज अहमद फैजको गीत गाउने विषय पनि थिए । अर्थात् अब पाकिस्तानी महिलाहरुले सारी लगाउन नपाउने भए, फैजमाथि पनि बन्देज लाग्यो ।
कविको रुपमा फैज एक क्रान्तिकारी कम्युनिष्ट थिए, जसले धार्मिक बिम्बहरुको प्रयोगबाट तत्कालीन राजनितिक संरचनामाथि काव्यिक धावा बोलेका थिए । उनको रचनामा बन्देज लगाउनुको मुख्य कारण उनका गीतहरुले मानिसमा चेतनाको भावना जागृत गराउँछ र भ्रमको धुलो हटाएर सत्यको आकाश देखाउँछ भन्ने थियो ।
तर, त्यत्तिकैमा एक महिला आइन्, जसले यी दुवै बन्देजविरुद्ध अभियान थालिन् । सन् १९८६ मा बन्देज लगाइएका दुवै बन्देजविरुद्ध उनले सम्झौताहीन संघर्ष गरिन् ।
ती महिला थिइन्, गायिका इकबाल बानो । उनले आफूले यी दुवै बन्देज विरुद्धमा जाने ऐलान (घोषणा) गरेकी थिइन् । लाहौर स्टेडियमबाट उनले घोषणा गरिन्, ‘म यी दुवै बन्देजविरुद्ध उभिनेछु ।’
त्यो दिन स्टेडियममा जानबाट शासकहरुले बानोलाई रोक्न सक्ने सम्भावना थियो । तर, बानो र उनका साथीहरुले त्यो कुरा वास्ता गरेनन् । बरु, त्यसलाई नै आफ्नो सामर्थ्यको रुपमा लिए ।
साँझको बेला कालो सारीमा सजिएकी इकबाल बानो अत्यधिक सुन्दर देखिएकी थिइन् । स्टेडियममा तयार गरिएको स्टेजमा चढेर माइकअगाडि आफ्नो सुमधुर आवाजमा बोलिन्, ‘आदाब !’
उनको आवाज स्टेडियमको चारैतिर गुञ्जियो । केही बेरपछि फेरि उनी बोलिन्, ‘हेर्नुहोस्, अब म फैजको नज्म पनि गाउँछु । र यदि मलाई गिरफ्तार गरियो भने हाम्रा बाजाहरुलाई पनि पक्राउ गरियोस् । हामी जेलमा पनि फैजको सिर्जना गएर शासकलाई सुनाउने छौँ ।’
बानोको बोलीपछि पुरै स्टेडियम केही बेर सन्नाटा छायो । अनि तबलाको आवाज आयो, सहनाई गुञ्जिन थाल्यो र आयो बानोको आवाज, ‘हम देखेंगे, लाजिम हे के हम भि देखेंगे ।’
फैजले कलमबाट सिर्जित रचनाले बोक्ने भाव र त्यसको अर्थजस्तै क्रान्तिकारी देखिएको थियो त्यो घटना ।
इकबाल बानो स्टेजबाट गाइरहेकी थिइन् । नज्मको बीचमा एक हरफ आयो, ‘सब ताज उछाले जाएङ्गे, सब तख्त गिराए जाएङ्गे ।’ अर्थात् ‘सबै ताज (श्रीपेच) हरु उखालिनेछन्, सबै संकेतहरु उठाइनेछन् ।’
स्टेडियममा भएका ५० हजार मानिसको एक लाख हातबाट तालीको आवाज आयो । करिब दश मिनेटसम्म तालीको गडगडाहट सुनिरह्यो । बन्देजका डोरीहरु त्यही बेला चुँडालिए ।
माहोल यस्तो थियो कि प्रहरीले देखेर पनि नदेखेको जस्तो गरिरह्यो । हिम्मत भएन त्यहाँ कसैलाई पनि गिरफ्तार गर्ने ।
इकबाल बानो यति क्रान्तिकारी र निडर थिइन् ।
फैजले क्रान्तिकारी रचनाको सिर्जना गरे, क्रान्तिकारी नज्म लेखे । र, इकबाल बानोले त्यसमा आवाज दिइन्, ती रचनालाई अनन्त बनाइन् ।
२७ अगष्ट १९३५ मा भारतको दिल्लीमा जन्मिएकी बानोका बुबा रोहतक खान्दानका जमिन्दार थिए । भनिन्छ, उनको घरको माहोल खुल्ला थियो । छोरीलाई निश्चित दायरामा राख्ने बन्देज थिएन ।
बानोलाई उनको परिवारले भारतकै पुरानो ‘दिल्ली घराना’ मा उस्ताद चाँद खानको छत्रछायामा पठायो, संगीत सिक्नका लागि । उस्तादले उनको कौशललाई थप खारिदिए । बानोलाई दादरा र ठुमरीको प्रशिक्षण दिइयो ।
सन् १९५० मा जब ‘अल इन्डिया रेडियो’ मा केही गायकहरुको माग आएको थियो, तब उस्तादले आफ्नी शिष्य बानोलाई ‘अडिसन’ दिन लगाए । बानोले अडिसन त दिइन्, तर अडिसन समाप्त हुनुअगाडि नै उनको आवाजमा रेकर्ड गर्न सम्झौता भइसकेको थियो ।
अनि, त्यहाँबाट बानोको सांगीतिक यात्राको सुरुवात भयो ।
१७ वर्षको हुँदा बानोको विवाह पाकिस्तानको मुल्तान क्षेत्रका एक जमिन्दारसँग भयो । विवाहको दिन बानोका बुबाले उनको शोहर (श्रीमान)लाई उनलाई ‘गीत गाउन दिनुपर्छ’ भन्ने अनुमति मागे । बानोका श्रीमान्ले पनि यसलाई सहजै स्वीकार गरे ।
सन् १९५५ सम्ममा बानो चर्चित गायिकाको रुपमा स्थापित भइसकेकी थिइन् । उनले उर्दु सिनेमा ‘गुमनाम’, ‘कत्ल’, ‘ईश्क–ए–लैला’, ‘नागिन’ लगायतमा गीत गाईसकेकी थिइन् ।
फिल्मी गायनमा त छाएकी थिइन् नै । उनको गायकीको कमाण्डचाहिँ शास्त्रीय गायनका ठुमरी तथा दादरामा थियो । त्यहिबेला कसैले उनलाई भनिदियो– ‘तिम्रो आवाज गजलमा बढी सुहाउँछ ।’
अनि के थियो र ? उनको यात्रामा अर्को एउटा बाटो थपियो ।
गजल सुन्नेहरुले उनको आवाजलाई निकै मन पराए । गजलको शेर पढ्ने शैली, शेरमा भएका भावलाई अर्थ्याउने शैली र गजल गायनकी महान गायिका बेगम अस्तरको जस्तो शुद्ध उच्चारण गर्ने शैलीले बानोको गजल गायनलाई सुन्नेहरु माझ थप प्रिय बनाइदियो ।
सन् १९७० मा बानोका श्रीमानको मृत्यु भयो । श्रीमान्को निधन भएपछि उनी मुल्तानबाट लाहौर फर्किएर आइन् । लाहौरमा आएपछि बानोको जीवनले अर्कै मोड लियो । उनले फैज अहमद फैज, नासिर काजमी (दिल मे एक लहर सी उठि है) जस्ता शायरहरुको सिर्जनामा आवाज दिन थालिन् । उनीहरुको शब्दमा बानोको आवाज निकै रुचाइयो ।
सन् १९८६ मा बानोले फैजको नज्म ‘हम देखेंगे’ गाएपछि फैजको कलमले बोकेको क्रान्तिकारी भावले आवाज पायो । बानोले यो नज्मलाई जीवन्त बनाइदिइन् । यो नज्मले बानोलाई पनि थप परिचय दियो । साँच्चिकै भन्नुुपर्दा यही नज्मले ईकबाल बानोलाई अहिले हामीले सुन्ने ‘इकबाल बानो’ बनाइदियो ।
इकबाल बानोले त्यो दिन लाहौरको स्टेडियममा जुन आँट गरेकी थिइन्, त्यसले सैन्य तानशाह जिया–उल–हकको कदममाथि प्रत्यक्ष प्रहार गर्यो । उनले गरेको आँट उनको मात्रै आँट थिएन, त्यहाँ उपस्थित ५० हजार मानिसको पनि आँट थियो ।
इकबाल बानोले त्यो दिन गाएको फैजको ‘हम देखेंगे’ केही समयमै क्रान्तिको नारा बन्यो, विरोधको पर्याय बन्यो । उनले आफ्नो गायनबाट कानलाई आनन्द मात्रै दिने र मनलाई बहलाउने मात्रै गरिनन्, बरु हातहरुलाई आफ्नो विरुद्धमा उठ्ने हतियारको प्रतिकार गर्न सिकाइन्, आफ्नोविरुद्ध चालिने पाइलाहरुलाई छेक्ने चेतना दिइन् ।
सन् १९७९ मा फैजले यो नज्म लेख्दा तत्कालीन सैन्य तानशाह जिया–उल–हकलकोे तानाशाहीको प्रतिकार थियो भने उनले इस्लाममाथि दाबी गरेको अधिनायकवादी प्रवृत्तिको आलोचना । नज्मले आफैंमा क्रान्ति बोकेको थियो, चेतना बोकेको थियो ।
फैजले नज्ममा इस्लामको विचारअनुसार न्यायको कुरा गरेका छन्, फैसलाको कुरा गरेका छन् । र, बानोले त्यसमा रंग भरेकी छन् । बानोले गायनसँगै आफूले नज्म गाउँदाको त्यो घट्नाले फैजको रचनाको भावलाई झन् बलियो बनाएको छ ।
उनले त्यो दिन लाहौर स्टेडियममा गीत गाएपछि थुप्रै अप्ठेरा भोग्नुपर्यो । सार्वजनिक रुपमा सांगितिक कार्यक्रम गर्न बन्देज लगाइयो, टेलिभिजनमा देखिनमा प्रतिबन्ध लगाईयो । तर पनि, मानिसहरुले उनको गीत रहेको क्यासेट खरिद गर्न छाडेनन् । क्यासेट सजिलै पाउन सम्भव थिएन । त्यसैले कालो बजारीमार्फत् पनि उनको क्यासेट अत्याधिक मात्रामा बिक्री भयो । र, एउटा गीत ‘हम देखेंगे’ ले लाखौं मानिसलाई सचेत गरायो ।
बानोको मृत्यु सन् २००९ अप्रिल २१ मा नै लाहौरमा भयो । उनको प्रतिबिम्ब बेला बेला देखिरहन्छ, भारतमा हुने विभिन्न आन्दोलनहरुमा, विरोधहरुमा । र, बानो समय–समयमा हुने प्रतिशोधहरुमा, सत्ताको तानाशाही विरुद्धको आवाजहरुमा जीवित भइरहन्छिन् ।
(इन्टरनेटबाट खोजिएका विभिन्न सामग्रीहरुको सहयोगमा)