भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडासदस्य सरोज ठकुरी यति बेला वडावासीलाई कोरोना बीमा गराउनुहोस् भनेर अनुरोध गर्दै घरघरमा पुगिरहेका छन्।
ठकुरी न बीमा संस्थानको कर्मचारी हुन्, न बीमा कम्पनीको एजेण्ट नै। तर, केही दिनदेखि उनी वडा कार्यालयको सिफारिस बोकेर घरघरमा कोरोना बीमा गराउनुहोस् भन्दै हिँडिहेका छन्।
विगत एकहप्तादेखि उनी बिहान-साँझ वडाको टोलटोलमा पैदल हिँडिरहेका छन्। झोलामा आवश्यक कागजातसहित भेटिएका ३० वर्षीय ठकुरीले भने- ‘विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले सारा जगतलाई नै स्तब्ध बनाएको अवस्थामा वडावासीलाई आगामी दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत होस् भन्ने उद्देश्यले कोरोना बीमा गर्न अपिल गर्दै आएको छु, त्यसैको लागि यो बीमा गराउन हिँडेको छु।’
घरबाट मान्छेहरु कोरोना फैलिन सक्ने डरले घरबाहिर निस्किन नसकेको अवस्थामा वडासदस्य नै घरमा वडा कार्यालयको सिफारिस बोकेर आउँदा खुसी लागेको राइजिङ क्लब सिद्धार्थनगरका कोषाध्यक्षसमेत रहेका स्थानीय आशिष पन्तले बताए।
तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडासदस्य ठकुरीले आफैँ फारामको डिजाइन तयार गरेर वडाका सबै घरघरमा पुग्ने अभियानलाई तीव्रता दिएको बताए। उनले भने, ‘मान्छेहरु धेरैले कोरोना बीमा गराउन चाहेको थाहा पाए। तर वडामा सिफारिस लिन जानुपर्ने झन्झट, अनि बीमा कम्पनीको कार्यालय खोज्दै जानुपर्ने झन्झटले धेरै जनाले चाहँदाचाहँदै पनि नगर्ने भन्ने सुनेपछि बरु हामी नै किन सहयोग नगर्ने त भनेर यसरी हिँडेको हुँ। अहिले वडाध्यक्ष र अन्य वडासदस्यले पनि साथ दिएका छन्।’
बीमा गरेबापत न कुनै कमिसन आउँछ, न कुनै सुविधा नै। तैपनि वडा सदस्यसहितको टिम जनप्रतिनिधि भएको नाताले घरदैलोमा पुगिरहेको छ। अहिलेसम्म ठकरीको टिमले वडा नम्बर १२ मा ३५० बढीको फारम भरिसकेको बताए।
अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष तथा नेकपाका युवा नेतासमेत रहेका ठकुरीले भने, ‘सि.न.पा १२ मा कोही पनि बीमा गर्नबाट नछुटुन् भन्ने हो। ३ हजार जनाको बीमा गर्ने लक्ष्य छ। कसैसँग पैसा हुँदै नभए हामी पैसा हालिदिएर भए पनि गर्छौं। किनकि भोलि कसैलाई कोरोना देखियो भने एक लाख रकम ठूलो राहत हुन्छ।’
ठकुरीसँगै सिनपा १२ का अध्यक्ष करुञ्जन कुमार श्रेष्ठ, वडा सदस्य कुमार गुरुङ लगायत पनि यतिबेला वडावासीको कोरोना बीमा गराउन सक्रियरुपमा लागिरहेका छन्।
वडाअध्यक्ष करुञ्जन कुमार श्रेष्ठले सूचनासमेत जारी गर्दै आफ्नो छरछिमेकामा कोरोना संक्रमित भएको पाइएमा त्यस्ता व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरी ती व्यक्तिहरुलाई हौसला प्रदान गरी थप सकारात्मक आत्मबल बढ्ने खालको क्रियाकलाप गर्न वडावासीहरुलाई आग्रह गरेका छन्।
‘कसैले पनि संक्रमित व्यक्ति तथा घरपरिवारलाई हत्तोसाहित गर्ने अथवा गालीगलौच गर्ने र अमानवीय व्यवहार गरिएको पाइएमा कानुनबमोजिम दण्ड जरिवाना गर्न सि.न.पा.–१२ नम्बर वडा बाध्य हुनेछ, सूचनामा उल्लेख छ।’
सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडा छन्। वडाको सिफारिस भएमा एक जना व्यक्तिको एक लाख बराबरको बीमा गर्दा ३ सय रुपैयाँ बीमा शूल्क तिुनपर्ने हुन्छ। व्यक्ति आफैँ बीमा कम्पनीमा गएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने गर्दछ।
भैरहवाबाट रबिन्द्र प्रताप गुप्ताको सहयोगमा