यसकारण मेस्सी बार्सिलोनामै रहन्छन् !-Sutra News

यसकारण मेस्सी बार्सिलोनामै रहन्छन् !

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

काठमाडौं- चार दिनअघि आफूले बार्सिलोना छोड्ने औपचारिक निर्णय क्लबलाई दिएपछि अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी एकाएक फुटबल बजारको चर्चाको शिखरमा छन्। उनको चर्चा यतिसम्म चुलिएको छ कि अहिले धेरैजसो अन्तर्राष्ट्रिय मिडियामा महत्वका समाचार शीर्षक नै मेस्सी छन्।



विभिन्न सञ्चार माध्यमका अनुसार गुगल सर्च इन्जिनको खोजी सूचीमा अहिले मेस्सीले विश्वव्यापी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसलाईसमेत पछि पारेका छन्। पछिल्ला ६ महिनामा कोरोना भाइरसलाई गुगलमा खोज्नेको संख्याभन्दा ३ दिनमा मेस्सीलाई खोज्नेको संख्या धेरै छ। स्पेनिस सञ्चार माध्यमले दाबी गरेअनुसार नेयमारले बार्सिलोना छोडेर पीएसजी जाँदा नेयमारसँग सम्बन्धित ट्वीट ६ लाख ५० हजारपल्ट भएका थिए भने क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोडेर युभेन्टस जाँदा उनीसँग सम्बन्धित कूल ८ लाख ५० हजार ट्वीट भएका थिए।

तर, लियोनेल मेस्सीले क्लब छोड्ने खबर बाहिरिँदा मात्रै २४ घन्टामा उनीसँग सम्बन्धित १ करोड ट्वीट भएका छन्। अरु सामन्य बेलाभन्दा अहिले मेस्सीलाई गुगलमा खोज्नेहरुको संख्या २३ सय प्रतिशतले वृद्धि भएका छन्। स्पेनिस सञ्चार माध्यमहरुले गरेको सर्वेक्षणअनुसार अहिले स्पेनमामात्रै मेस्सीका ७४ प्रतिशत समर्थक वृद्धि भएका छन्।

जे-जस्ता कारणले मेस्सीले क्लब छाड्ने भनेका छन्, ती सबै कुरा ३ दिनको बीचमा बिस्तारै हराँउदै गएका छन्। बरु मेस्सीले बार्सिलोना छाडेर कुन क्लब जान्छन् भन्नेमा सबैको चासो बढेको छ। धेरैले मेस्सीको पहिलो गन्तव्यका रुपमा म्यानचेष्टर सिटीलाई लिएका छन्। उनका समर्थकहरु पनि सकेसम्म मेस्सीले बार्सिलोना नछोडिदियोस् भन्ने पक्षमा छन्। यदि छाडिहाले सिटी नै जाउन् भन्ने पक्षमा छन्। किनभने बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिवला हालः सिटीका प्रशिक्षक छन्, जसले मेस्सीलाई आजको मेस्सी बनाउन ठूलो सहयोग गरेका थिए। समर्थकहरुका अनुसार पेपले मात्रै मेस्सीलाई मन पर्ने फुटबल खेलाउन सक्छन्।

मेस्सी आफैँ कुनै क्लबमा अनुबन्ध नभएसम्म हालका लागि सबै क्लब मेस्सीका सम्भावित गन्तव्य हुन भन्दा फरक नपर्ला। तर लियोनेल मेस्सीजस्ता संसारकै उत्कृष्ट खेलाडी भित्र्याउनु कुनै पनि क्लबको लागि सामन्य कुरा हुँदैन।

उसै त कोरोना महामारीले युरोपेली फुटबल थला परिसकेको छ। सबै क्लबहरु आर्थिक अभावसँग जुधिरहेका छन्। यस्तो अवस्थामा संसारकै सबैभन्दा धेरै तलब-भत्ता खाने मेस्सीलाई भित्र्याउने दिवा सपना जो-कोहीले देख्नु बेकारको मात्रै हुनेछ।

मेसीको मासिक तलब करिब ४ मिलियन युरो छ। उनी यसलाई भएसम्म दोब्बर पार्न चाहन्छन्, नभए कम्तीमा ५० प्रतिशतले वृद्धि चाहन्छन्। विगतमा पनि उनी क्लब छोड्ने हल्ला पटक-पटक चलेको थियो र क्लबसँग बार्गेनिङ गर्दै तलब वृद्धि गर्ने अनि सम्झौता थप गर्दै क्लबमै बस्ने गरेका थिए। यसपाली पनि यही हुनेवाला छ।

मेस्सीले क्लब छाड्ने भने पनि बार्सिलोनाले उनको बाटो खोलिसकेको छैन। मेस्सी स्वयं फ्री ट्रान्सफरमा क्लब छोड्न चाहन्छन्। अर्थात् उनी आफ्नो घर बार्सिलोनाबाट कुनै पनि क्लबका लागि बेचिन चाहँदैनन्। अर्कातिर बार्सिलोनाका अध्यक्षले भनिसकेका छन्, `यदि सार्वजनिकरुपमै मेस्सीले क्लब बस्छु भन्छन् भने म अध्यक्षको पद छोड्न तयार छु।´ तर मेस्सीले जसरी पनि क्लब छाड्नै चाहेमा बार्सिलोना मेस्सीसँग सम्बन्ध बिगारेरै भए पनि उनलाई धेरै ठूलो रकममा बेच्ने दाउमा छ।

मेस्सीलाई बार्सिलोनाले बेच्नै परेमा उनको रिलिज क्लज ७ सय मिलियन युरो छ। यो रकम कुनै पनि क्लबले तिर्न तयार हुँदैनन्। रिलिज क्लज घटाए पनि बार्सिलोनाले आफ्नो इतिहाँसकै सर्वाधिक सफल खेलाडी मेस्सीलाई नेयमार बेचेको भन्दा पनि महँगो रकममा बेच्न चाहन्छ। यसको अर्थ बार्सिलोनाले मेस्सीलाई बेच्नै परेमा आफ्नो खेलाडीको मूल्य आधासम्म घटाउन सक्छ, अर्थात् ३५० मिलियन युरो। आधा नै घटाए पनि यो रकम तिर्न संसारका कुनै पनि क्लब तयार हुने छैनन्। किनभने एक त यो रकम सर्वाधिक महँगो हो भने अर्कातिर यति धेरै रकम खर्च गरेर मेस्सी भित्र्याएर के प्रतिफल पाइन्छ भन्ने प्रमुख हो।

मेस्सी ३३ वर्षका भइसकेका छन्। उनले कति उमेरसम्म सक्रिय फुटबल खेल्न सक्छन् कसैलाई थाहा छैन। त्यसैले यति ठूलो जोखिम मोलेर मेस्सीमाथि यति ठूलो रकम खर्च गर्ने हिम्मत सायदै कसैले गर्लान्। यो त उनलाई किन्नको लागिमात्रै गर्नुपर्ने खर्च हो। उनको तलब-भत्ता र बोनस त बाँकी नै हुन्छ। त्यसैले यसवर्षका लागि मेस्सी किनबेच हुने हिसाबकिताब सैद्धान्तिक हिसाबले सकिसकेको छ। यदि मेस्सी फ्री ट्रान्सफरमै गए भने त्यो अर्को पाटो हो, तर बार्सिलोनाले उनलाई कुनै पनि हालतमा फ्री ट्रान्सफरमा छाड्ने छाँटकाँट देखाएको छैन।

म्यानचेष्टर सिटीले बार्सिलोनालाई आफ्ना ३ जना स्टार खेलाडीसहित एक सय मिलियन युरो हाराहारीको रकम अफर गर्ने योजना रहेको विभिन्न स्रोतले जनाएका छन्। तर व्यवहारिक हिसाबले त्यो सम्भव छैन। किनभने बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोमनले आफूले किन्न र बेच्न चाहेका खेलाडीहरुको सूची निकालिसकेका छन्। जसमा सिटीका कुनै पनि खेलाडी उनको रोजाइमा छैनन्। उनी मेस्सीसँग साटेर कुनै पनि खेलाडी ल्याएर बिना प्रयोग बार्सिलोनामा राख्ने पक्षमा पटक्कै छैनन्।

मेस्सी भित्र्याउन युरोपका कुनै पनि क्लब तयार छैनन् भने त्यसको एकमात्रै कारण हो, पैसा। होइन भने हरेक क्लबलाई मेस्सी चाहिएको छ। मेस्सी जानसक्ने भनी अहिले प्रमुखताका साथ युरोपका ४ क्लबलाई लिइएको छ। जसमा फ्रान्सेली क्लब पिएसजी,  इटालियन क्लब इन्टर मिलान, इङ्लिश क्लबद्वय म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड छन्। कतिपयले इटालियन क्लब युभेन्टस गएर मेस्सीले खेलेमा मेस्सी र रोनाल्डोको जोडीलाई कसैले पराजित गर्न नसक्ने पनि बताइरहेका छन्। तर केही हप्ताअघि त्यही युभेन्टसले आफूहरु आर्थिक अभावका कारण रोनाल्डोलाई पाल्न नसक्ने हुँदा उनलाई किन्न बार्सिलोनालाई नै अफर गरेको खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पुष्टि गरेका थिए।

बाँकी ४ क्लबको मेस्सीलाई भित्र्याउने सम्भाव्यता र आधारहरु हेरौं। विगतदेखि नै म्यानचेष्टर सिटीका प्रशिक्षक पेपले भन्दै आएका छन्- मेस्सीका लागि उपयुक्त कुनै क्लब छ भने त्यो बार्सिलोनामात्रै हो। मेस्सी सिटL जाने हल्ला अहिले यसकारण पनि चलिरहेको छ कि मेस्सी र पेपबीच विगतदेखि नै सुमधुर सम्बन्ध छ। त्यसैले उनी सिटी जानेछन्, तर वास्तविकता त्यस्तो होइन।

हल्लालाई अर्को कुराले बलियो बनाएको छ। त्यो हो सिटीका फर्वार्ड मेस्सीका राष्ट्रिय टिमका जोडी सर्जियो अगुयरोले इन्स्टाग्राममा आफ्नो नामको पछाडि रहेको जर्सी नम्बर १० हटाएर लियोनेल लेखेका छन्। अर्थात् सर्जियो लियोनेल अगुयरो। यसको मतलब उनले मेस्सीको निर्णयलाई समर्थन गरेका हुन्, मेस्सी सिटी आएर १० नम्बर जर्सी लिइसके भन्ने होइन। यसरी मेस्सीलाई धेरैले समर्थन गरिसकेका छन्।

messi neymar.jpg

आर्थिकरुपमा हेर्ने हो भने सिटीको टोलीमा सबैभन्दा धेरै तलब खाने खेलाडीहरुमा केभिन डिब्रुयना, सर्जियो अगुयरो, रहिम स्टर्लिङ्ग र बोर्नाडो सिल्भा पर्छन्। यी ४ खेलाडीले हप्तामा कूल ८ लाख १० हजार पाउन्ड तलब बुझ्छन्। यता मेस्सी एक्लैले क्लबमा ९ लाख ८८ हजार युरो तलब लिन्छन्। सिटीले महँगो मूल्यमा मेस्सी किनेर आफ्ना धेरै खेलाडीलाई पुग्ने तलब मेस्सी एक्लैलाई दिएर पाल्ने हिम्मत पक्कै गर्दैन। किनभने वार्षिक ५० मिलियन युरो भनेको सानो पैसा होइन।

यता म्यान्चेष्टर युनाइटेडको अवस्था पनि त्यस्तै छ। युनाइटेडमा सबैभन्दा धेरै तलब खाने खेलाडीहरुमा गोलरक्षक डेभिड डे हेयलगायत पाउल पोग्बा र मार्कस राशफोर्ड पर्छन्। यी ३ खेलाडीले हप्तामा ८ लाख ६५ हजार पाउन्ड तलब लिन्छन्। यो रकम मेस्सी एक्लैको तलबभन्दा नि अझ कम हो। यति महँगो तलब खाने मेस्सीलाई बजारमा चलेको हल्ला जसरी सजिलै युनाइटेडले राख्न सक्दैन।

यता इन्टर मिलानको पहिलो रोजाइका ११ जना खेलाडीभन्दा मेस्सी एक्लैले खाने तलब-भत्ता धेरै छ। आर्थिक समस्याबाट गुज्रिरहेको मिलानको लागि मेस्सी भित्र्याउनु झन् टाढाको कुरा हो। धेरैले आफ्नो पूर्वसहकर्मी नेयमार त्यहाँ रहेको भन्दै मेस्सी पिएसजी जाने हल्ला गरेका छन् र नेयमार स्वयंले पनि मेस्सीलाई पेरिस आउन निम्ता दिएका छन्। तर,पिएसजीका क्लब अध्यक्षले आफ्नो क्लबमा मेस्सी नचाहिने भन्दै च्याप्टर क्लोज गरिसकेका छन्।

त्यसो भए मेस्सी के गर्छन्?

आलोचकहरुको भनाइ मान्ने हो भने बार्सिलोना छाडेर अन्त जाने मुडमा स्वयं मेस्सी पनि छैनन्। क्लबसँगको असमझदारी र तत्कालीन विविध कारणले उनलाई क्लब छोड्छु भनेर बोल्ने वातावरणमात्रै मिलेको हो। उनी आफू एक्लैले क्लबलाई पटक-पटक बोकेर थाकेका छन्। उनी त्यसको मूल्य असुल्न चाहन्छन्। क्लबमा हालः उनको मासिक तलब करिब ४ मिलियन युरो रहेको छ। उनी यसलाई भएसम्म दोब्बर पार्न चाहन्छन्, नभए कम्तीमा ५० प्रतिशतले वृद्धि चाहन्छन्। विगतमा पनि उनी क्लब छोड्ने हल्ला पटक-पटक चलेको थियो र क्लबसँग बार्गेनिङ गर्दै तलब वृद्धि गर्ने अनि सम्झौता थप गर्दै क्लबमै बस्ने गरेका थिए। यसपाली पनि यही हुनेवाला छ।

अर्कातिर आलोचकहरु भन्छन्, मेस्सीले क्लब छोड्ने निर्णय भावनामा बहेर गरेका हुन्। कोपा अमेरिका फाइनलमा पेनाल्टी मिस गरेर आफ्नो टोली हारेपछि उनले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेका थिए र पछि फिर्ता पनि भए। अहिले पनि बार्यनसँगको ८-२ को हारले उनलाई त्यही पीडा दोहोर्‍याएको छ। त्यसकै पीडामा उनले क्लब छोड्छु भनेका हुन् र यो निर्णय पनि फिर्ता हुनेछ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट