चितवन- चितवन राष्ट्रिय निकुञ्जले शनिबार चित्तलको मासुसहित चार जनालाई पक्राउ गरेको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई राप्ती नगरपालिका-६, बाट पक्राउ गरेको हो।
निकुञ्जका अनुसार पक्राउ पर्नेमा राप्ती-६, का ३५ वर्षीया पैगी चौधरी, १९ वर्षीय साजन चौधरी, ३० वर्षीया सुमित्रा चौधरी र एक जना नाबालिग रहेका छन्। उनीहरुलाई एकता सामुदायिक वनमा पासो थापी चित्तल मारेको आरोपमा पक्राउ गरिएको हो। घटनास्थलमा गएको प्रहरीसहितको टोलीले चित्तलको मासु र चित्तल थाप्न प्रयोग भएको पासो बरामद गरेको छ।
घटनास्थलबाट १२ किलो, पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु बरामद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको छ। अपराध प्रमाणित भएमा रु २० हजारदेखि ५० हजारसम्म जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।