काठमाडौं- आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनाका साथै भारतको मध्यप्रदेश तथा आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको हो।
हाल गण्डकी, सुदूरपश्चिम, प्रदेश नं १ र २ का अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, बाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं १ का एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।