काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-५, बोल्देका बस्ती उच्च जोखिममा परेका छन्। बोल्देका ८५ मध्ये १५ घरधुरी पहिरोको उच्च जोखिममा छन्।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले वस्तीमुनिबाट मेलम्ची खानेपानीको सुरुङ खनिएका कारण पहिरोको जोखिम रहेको जानकारी दिए। ‘मेलम्ची खानेपानी आयोजनाले वस्तीमुनिबाट सुरुङ खनेका कारण वस्ती पहिरोको उच्च जोखिममा परेको हो,’ आइतबार सूत्रन्युजसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले भने।
वस्तीमुनिबाट पहिरो जान थालेपछि मेलम्ची खोपानी आयोजना र जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइसकेको पनि उनले जानकारी दिए। पूरै वस्ती स्थान्तरणका लागि जोखिमयुक्त ठाउँ छनोट गर्न स्थानीयवासीलाई गाउँपालिकाले निर्देशन दिएको छ। तत्काल उच्च जोखिममा रहेका १० घरलाई अस्थायी बसोबासको व्यवस्था मिलाएको अध्यक्ष शेर्पाको भनाइ छ।
‘म आफैँ बस्तीमा पुगेर १० घरधुरीलाई तत्कालका लागि अर्को ठाउँमा बस्ने व्यवस्था मिलाएको छु। तर यो दीर्घकालीन बसोबास भने होइन,’ अध्यक्ष शेर्पाले भने, ‘पहिरोले गाउँलाई नै क्षति पुर्याउने भएकाले वस्ती स्थान्नरण गर्ने विषयमा छलफल गरिरहेका छौं। उपयुक्त ठाउँ छनोट गर्न स्थानीयवासीलाई भनेका छौं।’ गाउँपालिकासँग थानीयबासीले आफूहरूलाई सुरक्षित ठाउँमा स्थान्तरणका लागि आग्रह गरेका छन्।
हेलम्बु गाउँपालिका वडा नं- ५, बोल्देका वडाअध्यक्ष हर्कबहादुर तामाङले ८५ घरधुरीमध्ये १५ घर पहिरोको उच्च जोखिममा रहेको बताए। ‘बोल्दे गाउँ पहिरोको उच्च जोखिममा छ। यहाँ ८५ घरधुरी छन्। तीमध्ये १५/१६ घर पहिरोको उच्च जोखिममा छ,’ वडाअध्यक्ष तामाङले भने।