मुम्बई- कोरोना भाइरसको महामारीले विश्वमै अनिश्चितताको लहर सिर्जना गरिदिएको छ। जसका कारण सबै क्षेत्रमा परेको असर अझै हटिसकेको छैन। त्यसमा पनि मुख्य चलचित्र क्षेत्रमा यसको असर कहिले समाप्त होला र फेरि थिएटरहरु खुल्लान् भन्नेमा अन्योलता छ।
फिल्म हल खोल्ने अनुमति नहुँदा यसको व्यापारमा पनि निकै असर गरेको छ। यसैबीच बलिउड सिने क्षेत्रका कलाकार तथा प्रोडक्सन गृहहरुले भने महामारीसँग जुघ्दै भविष्यका लागि तयारी गर्न थालेको छ।
बलिउडमा सिनेमा हलहरु खुलेपछि प्रोडक्सन हाउस तथा कलाकारका अभिव्यक्ति अनुसारपरिवर्तन आउनसक्ने अनुमान गरिएको छ। समग्रमा यसले बलिउडलाई अझ सशक्त र राम्रो बनाएर अगाडि लैजाला भन्ने अनुमान गरिएको छ।
बलिउडका केही चलचित्रहरुले महामारीकै बीचमा ओटीटी माध्यमबाट प्रदर्शन गरिएका छन्। यसमा अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ पनि रहेको छ।
आफ्नो चलचित्रको घोषणा गर्दा अक्षय कुमारले महामारीका कारण सिने क्षेत्रमै ठूलो परिवर्तन ल्याउने बताएका थिए। उनले भने, ‘सिनेमाको पहिलो जन्म अधिकार थिएटरमै हो। तर, यो महामारीमा हामीले देखिरहेको अवस्थाले हाम्रा सिर्जनाहरु झन् धेरै दर्शक माझमा पुगेको देखिएको छ।’ अक्षयले महामारीबीच देखिएको यो सम्भावनाले भविष्यमा पनि परिवर्तन ल्याउने अनुमान गरेको बताएका थिए।
बलिउडमा फिल्म बनाएपछि प्रोडक्सन गृहहरुले कम्तीमा २५ देखि ३० करोड रुपैयाँ विज्ञापनका लागि खर्च गर्ने गरेको देखिन्छ। विज्ञापनको रुपमा सिटी टुर गर्ने, कलेजमा कलाकारसँगको भेटघाट, रियालिटी शोमा कलाकाहरुको सहभागितालगायतका कार्यक्रमहरु हुन्थे।
तर, अहिले शारीरिक भेटघाट गर्न बन्देज नै लागेको छ, जसकारण विज्ञापनमा लाग्ने खर्च पनि निकै ओरालो लागेको छ। अहिले प्रोडक्सन गृहहरुको मुख्य ध्यान चलचित्रको विज्ञापन डिजिटल माध्यमबाट गर्नेमा रहेको देखिन्छ।
बलिउड प्रोडक्सन हाउस ‘भियाकम १८ स्टुडियोज्’का अजित अन्धारेले महामारी बीच चलचित्रको विज्ञापनमा लाग्ने खर्चमात्रै नभएर चलचित्रको निर्माणमा लाग्ने हरेक खर्चमा ध्यान पुर्याउनुपर्ने देखिएको बताए।
भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भनेका छन्, ‘अहिलेको अवस्थामा के कस्तो परिस्थिति छ भन्ने सबैलाई थाहा छ। यो बेला हरेक कुरामा हुने खर्चमा प्रश्न गर्नुपर्छ।’ त्यस्तै, उनका अनुसार मान्छे अनुसार फरक-फरक नियम र सुविधा नहुने बताएका छन्।
उनले भने, ‘यो समयमा सबैले सहकार्य गरेर जानुपर्छ। चलचित्रलाई बचाउनु छ। यो क्षेत्रमा परेको असरलाई कम गर्न सबैले सहयोग गर्न आवश्यक छ।’