काठमाडौं- कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दूर्गा ट्रेडर्सबाट बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको छ। काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले यी खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो।
उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करिब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नवीकरण भएको प्रमाणसहितका कागजात पेस नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको हो।
ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एबीसी खाद्य स्टोरमा पठाउन लागेको थियो। खाद्य सामाग्रीमा हुनुपर्ने आधारभूत मापदण्ड नभएकाले अनुगमनकै क्रममा ती सामान ट्रेडर्सको गोदाममा फिर्ता गराइएको काठमाडौं महानगरपालिकाको उपमेयर हरीप्रथा खड्गी श्रेष्ठले जानकारी दिएकी छन्।
ट्रेडर्ससँगै आज कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमन गरिएको थियो। त्यस क्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो। त्यस क्षेत्रका अधिकांश पसल बन्द अवस्थामा थिए। सम्पर्क गरेर आउने ग्राहकका लागि खोलिएका पसल आधा खोलिएका थिए। अनुगमन टोलीले खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको पनि अवलोकन गरेको थियो।
अनुगमनपछि प्रतिक्रिया दिँदै उपमेयर खड्गी श्रेष्ठले भनिन्- खाद्य गुणस्तरमा ध्यान पुर्याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्छ। हुन त गुणस्तरमा कहिल्यै पनि समस्या आउन दिनु हुँदैन। विषम परिस्थितिमा त झन् चनाखो हुनुपर्छ।
उनले थप्दै भनिन्, ‘सबैले गलत गरेका छन् भन्ने होइन, जटिल अवस्थामा जोखिम मोलेरै भए पनि सामाग्री ढुवानी गरेकाकारण सहरी जीवन सरल भएको छ। तर, विषम परिस्थितिको फाइदा उठाउनेबाट भने बच्नैपर्छ। यसका लागि हामी अनुगमनलाई नियमित गर्छौं। आज त्रुटि पाइएको ट्रेडर्सलाई कारबाहीको प्रक्रिया अघि बढाउँछौं।’
कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नवीकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमित गर्न बाँकी भएको जस्ता समस्या धेरै जसोमा देखिएको बताएका छन्। यस्तो गरेर व्यवसाय गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने उनले बताएका छन्।
सामानको लागत मूल्य एन नहुँदा अधिकतम् मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएका छन्। उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्, ‘उपभोक्ता अधिकारका कोणबाट यही प्रणालीमा समस्या छ। बिल नै जारी नगरी खरिद-बिक्री गर्दा व्यापारमा विकृतिम मौलायो। थोक पसलपछि कालीमाटी चोकमा रहेका खाद्य पसलको अनुगमन गरियको थियो।’
सामानको तौल र लेबलका विषयमा ध्यान दिन नसक्नु, व्यवसाय दर्ता र नवीकरणमा ध्यान नदिनु, मूल्य सूची नराख्नु, खरिद-बिक्री जारी नगर्नु कालीमाटी चोकमा रहेका खाद्यपसलहरुको साझा कमजोरी देखिएको उनले बताएका छन्।
महानगरको उपभोक्ता हित समितिले अहिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामाग्रीको बजार अनुगमन गरिरहेको छ। यसअघि कालीमाटी र बल्खु तरकारी बजारमा अनुगमन गरिएको छ।