भरतपुर- चितवनमा आज कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर–११ का ५२ वर्षीय पुरुषको आज मध्याह्न १२ बजे मृत्यु भएको हो।
यससँगै चितवनमा मात्रै कोरोनाबाट मृत्यु हुने पाँच जना पुगेका छन्। यसअघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो।
आज मृत्यु भएका पुरुष यही भदौ ४ गते निमोनिया र उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका थिए। उनको स्वासप्रस्वासमा थप जटिलता देखिएपछि कोरोना परीक्षण गरिएको थियो। उनको भदौ ७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो।
अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको मृत्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। यससँगै चितवनमा समग्ररुपमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।
तीमध्ये पाँच चितवनका, तीन मकवानपुरका तथा एकएक बारा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), गोरखा र कैलालीका छन्।