तेस्रो नेपाल आइडल भन्छिन्, ‘अब संगीत सिक्छु’-Sutra News

तेस्रो नेपाल आइडल भन्छिन्, ‘अब संगीत सिक्छु’

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं- नेपाल आइडलको तेस्रो संस्करणमा आइडलकै इतिहासमा पहिलोपटक महिलाले उपाधि जितेकी छन्। मोरङ, पथरीकी सज्जा चौलागाईँले प्रविण बेडवाल र किरण कुमार भुजेललाई पछि पार्दै उपाधि जितेकी हुन्। उनले उपाधि जितेपछि उनका अगामी योजना र यात्राबारे सूत्रन्युजले कुराकानी गरेको छ। प्रस्तुत छ, उनीसँगको गरिएको कुराकानी।



नेपाल आइडलको इतिहासमा पहिलोपटक महिलाले उपाधि जित्नुभयो। कस्तो लागिरहेको छ?

मैले नेपाल आइडलमा प्रवेश गर्दा यहाँसम्म आइपुग्छु भनेर सोचेकै थिइनँ। यहाँसम्म आइपुग्दा मेरो गायिकीलाई दर्शक श्रोताले मन पराएर साथ दिनुभएकाले नै उपाधि जित्ने अवसर मिल्यो। उपाधि जितेर एकदमै खुसी छु। हर्षित भइरहेको छु। मैले नेपाल आइडलको उपाधि जितेपछि ‘धेरैले तिमी डिजर्भिङ थियौं’ भन्नुभएको छ। आफूले हासिल गरेको यो सफलताले संगीत क्षेत्रमै लागिरहने, यही क्षेत्रमा केही गरिरहने प्रेरणा पनि मिलेको छ।

अडिसन दिँदैगर्दा तेस्रो संस्करणको उपाधि जित्छु भन्ने सोँच आएको थियो?

कत्ति पनि लागेको थिएन।  केही अगाडिसम्म पुग्छ भन्नेचाहिँ लागेको थियो। नेपाल आइडलमा यात्रा अघि बढ्दै जाँदा थप मिहेनत पनि गर्दै गएँ। तेस्रो नेपाल आइडल बन्छु भन्ने लागेकै थिएन।

नेपाल आइडलको विजेता बन्नुअघिका दिनहरु कसरी सम्झिनुहुन्छ?

आफूले गरेका संघर्ष याद आउँछ। त्योबेला गरेको मिहेनतकै फल आज पाएको जस्तो लाग्छ। त्यतिबेला रेस्टुरेन्टहरुमा गीत गाएँ। आफ्नो इच्छा पूरा गर्न म रेस्टुरेन्टमा गाउँथे। उपाधि जितेपछि मैले ती संघर्षका दिनहरु सम्झिएँ। त्यसकै प्रतिफल आज मैले पाएको महसुस गरेकी छु।

संगीत क्षेत्रमा कसरी आउनुभयो?

संगीत क्षेत्रमा पहिल्यैदेखि रुचि थियो। तर यही क्षेत्रमा लाग्छु भन्ने सोचेको थिइनँ। तर स्कुलमा म खुबै गीत गाउँथे। पछि गीत संगीततर्फ आकर्षण बढ्दै गयो। त्यसपछि त मैले इच्छा पूरा गर्न रेस्टरेन्टमै गीत गाउन थाले। मैले औपचारिक संगीत त सिकेकी छैन, तर रुचिलाई पछ्याउँदै जाँदा गायनमा प्रवेश गरेँ। मेरो रुचिले नै आज मलाई नेपाल आइडल बनायोजस्तो लाग्छ।

नेपाल आइडल बनसक्नुभयो। अब तपाइँका यात्रा कसरी अघि बढ्छ?

पहिलो कुरा त अब म औपचारिकरुपमा संगीत सिक्ने सोच बनाएकी छु। आफ्नो रुचिलाई पछ्याउँदा यहाँसम्म आइपुगेँ। अब गायनमा औपचारिक ज्ञान पनि हासिल गरेर आफूलाई थप परिस्कृत बनाउने सोच छ।

सँगै अब गीतहरुमा पनि काम गर्ने तयारी गरिरहेको छु। अहिलेसम्म आफ्नै आवाज र नाममा गीत निकालेकी छैन। म आइडल विजेता बनेपछि मलाई हेर्ने, मलाई सुन्नेहरुले पनि मेरो आवाजमा गीत सुन्न पक्कै चाहनुभएको होला। त्यसमा पनि काम गर्ने तयारी गरिरहेकी छु।

अहिले सिक्दैछु। धेरै कुरा अझै सिक्नु छ। सिक्दै, तयारी गर्दै अगाडि बढ्ने सोच छ। केही समय पक्कै लाग्छ, तर आफूलाई परिस्कृत बनाएर गीत निकाल्ने सोचेकी छु।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट