नेपाल पेरुजस्तै गल्ती त गर्दै छैन, जहाँ मृत्युदर सबैभन्दा उच्च छ !-Sutra News

नेपाल पेरुजस्तै गल्ती त गर्दै छैन, जहाँ मृत्युदर सबैभन्दा उच्च छ !

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

लीमा- कोरोना महामारीका कारण यतिबेला विश्व नै अक्रान्त बनेको छ। वर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार हालसम्म दुई करोड ५१ लाख ८२ हजार ३१३ जना संक्रमित रहेका छन्। जसमध्ये ८ लाख ४६ हजार ९३६ जनाको मृत्यु भएको छ।



हालसम्म सबैभन्दा बढी प्रभावित देश अमेरिका, ब्राजिल र भारत रहेका छन्। अमेरिकामा ६१ लाख बढी संक्रमित छन् भने १ लाख ८६ हजार बढीको मृत्यु भएको छ। ब्राजिलमा ३८ लाख र र भारतमा ३५ लाख संक्रमित छन्। ब्राजिलमा १ लाख २० हजार बढी र भारतमा ६३ हजार बढी संक्रमितको मृत्यु भएको छ।

संक्रमणमा यी देश प्रमुख रहे पनि कोरोना भाइरसका कारण मृत्यु हुने दर भने अन्य देशमा बढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

उसका अनुसार कोरोनाबाट मर्नेको मृत्यु दर सबैभन्दा बढी पेरुमा रहेको छ। जन्स हप्किन्स युनिभर्सिटीका अनुसार पेरुमा ८८.४० प्रतिशत मृत्यु दर रहेको छ। पेरुमा हालसम्म २८ हजार ६०७ जनाको मृत्यु भएको छ। जुन विश्वकै नवौं स्थानमा छ।

दक्षिण अमेरिकी देश पेरुले आफ्नो महादेशमा सबैभन्दा पहिले लकडाउन गरेको थियो। पहिलोपटक चीनको उहानमा देखिएको कोरोना भाइरस युरोप र अमेरिकामा देखिन थालेपछि पेरुले लकडाउन गरेर सतर्कता अपनाएको थियो। ३ करोड २५ लाख जनसंख्या रहेको देशमा पहिल्यैदेखि सतर्कता अपनाएर पनि कोरोना महामारी कसरी फैलियो? अझ त्यहाँ मृत्यु दर सबैभन्दा बढी कसरी भयो?

बीबीसीले प्रस्तुत गरेका पाँच कारण यी हुन्।

खराब स्वास्थ्य व्यवस्था

सायटानो हेरेडिया युनिभर्सिटी अफ लीमाका प्रोफेसर एडुआर्डो गोटुजोका अनुसार सरकारले स्वास्थ्य व्यवस्था चुस्त राख्नका लागि खासै केही कदम चालेका छैनन्। पेरुमा अस्पतालको कमीमात्र होइन, आइसियु बेडको संख्या पनि एकदमै कम छ। त्यस्तै स्वास्थ्यकर्मीहरु पनि पर्याप्त छैनन्, कोरोना परीक्षण गर्ने प्रयोगशाला पनि एउटामात्र रहेको छ। जसका कारण पेरुमा मृत्यु दर उच्च रहेको प्रोफेसर गोटुजो बताउँछन्।

माइक्रोकन्सल्ट कन्सल्टेन्सीका अर्थशास्त्री एल्मर क्युबाका अनुसार पेरुमा विकासको तुलनामा स्वास्थ्य क्षेत्रमा एकदमै न्युन खर्च भएका छन्। एक तथ्यांकका अनुसार कूल जीडीपीको ४.९ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रमा लगानी रहेको छ।

कोरोना महामारीको सुरुवाती चरणमा पेरुका सबै अस्पताल गरेर जम्मा ३ हजार बेड र एक सय आइसियुको व्यवस्था गरिएको थियो। राष्ट्रपति मार्टिन विजकाराका अनुसार अन्तिम जुनसम्म बेड संख्या १८ हजार पुर्‍याइएको थियो भने आइसियु थपिएर १६६० पुर्‍याइको थियो। तर महामारी सधैं एक कदम अगाडि रहनेगरेको अर्थशास्त्री गोटुजो बताउँछन्।

सायटानो हेरेडिया युनिभर्सिटीका पब्लिक हेल्थ एक्सपर्ट अर्नेस्टो गजरका अनुसार पछिल्लो समय स्वास्थ्य क्षेत्रमा गरिएको सुधारले मृत्युदरमा समेत कमी ल्याएको छ।

रोकथाममा लापरबाही

पेरुले दक्षिण अमेरिकामा सबैभन्दा पहिले लकडाउन गरेपनि संक्रमण दरमा कमी आएन। सरकारले स्कुल, कलेज बन्द गरेपनि, सीमा ‘सिल’ गरेपनि क्वारेन्टीनको व्यवस्था नगरिनु, अस्पतलामा बेडको अभाव हुनु र पर्याप्त मात्रामा परीक्षण र सतर्कता नअपाउनु नै महामारी बढ्नुको कारण रहेको डाक्टर गाजर बताउँछन्।

‘सरकारले आइसियुको संख्या त बढायो। तर यहीनेर आएर मृत्यु हुने प्रबल सम्भावना हुनेमा भने सरकारले नजरअन्दाज गर्‍यो,’ उनी भन्छन्। उनले सरकारले मानिसलाई आइसियुमा पुर्‍याउनु पहिले गरिने सतर्कतामा ध्यान पुर्‍याउन नसकेको आरोप लगाए।

उनले पीसीआर परीक्षणभन्दा आरटीडीमा बढी ध्यान दिएकाले पनि संक्रमण बढ्नमा मद्दत पुगेको आरोप लगाए। जसका कारण पेरुमा संक्रमित व्यतिको पहिचानमा ढिलाइमात्र भएन, संक्रमित दर ह्वातै बढायो।

शुक्रबारसम्म पीसीआर परीक्षणबाट १ लाख ५४ हजार १९७ जना संक्रमित देखिएका छन् भने आरटिडी परीक्षणबाट ४ लाख ६७ हजारभन्दा बढी संक्रमित देखिएका छन्।

डा. एडुआर्डो गोटुजोका अनुसार यही कारणले संक्रमितको वास्तविक पहिचान नभएकाले समुदायमै संक्रमण फैलिएको र मृत्युदरसमेत बढिरहेको छ।

अक्सिजन सिलिन्डरको अभाव

पेरुमा मृत्यु दर बढ्नुको अर्को कारण हो अक्सिजनको कमी हुनु। संसाभरिका मिडियामा पेरुमा अक्सिजनका लागि लामो लाइन भएका तस्बिरहरु प्रकाशित भए। माग बढेपछि अक्सिजनको मूल्यमा पनि वृद्धि भयो। सरकारले साढे दुई करोड डलरको अक्सिजन किन्ने घोषणा पनि गर्‍यो। तर बेलैमा अक्सिजन नपाउँदा हजारौं संङ्क्रमितहरुले ज्यान गुमाए।

डा. गाजर भन्छन्- बेलैमा अक्सिजन नपाउनु, आइसियुको कमी हुनुलगायत कारणले यहाँ मृत्युदर पनि बढ्यो। संक्रमितहरु गम्भीर समस्यामा पनि परे।

सरकारको हतारो

कोरोना महामारी संसारमै फैलिरहेका बेला यहाँका सरकारले पनि सतर्कता अपनायो। मुलुक लकडाउन गरेर रोकथाम गर्ने प्रयास पनि गर्‍यो। जसका कारण धेरैले रोजगारी गुमाए, आर्थिक मन्दीको अवस्था सिर्जना भयो। पेरुमा ७० प्रतिशत जनता मजदुरीमा निर्भर छन्। काम नहुँदा उनीहरु भोकभोकै दैनिकी गुजार्न बाध्य भए। भोकमरीको अवस्था आएपछि राष्ट्रपति विजकाराले बैंकमार्फत् पैसा दिने निर्णय गरे। तर त्यहाँ अधिकांश व्यस्क मानिसहरुका मात्र बैंकमा खाता रहेको छ। उनीहरु भीडभाड हुने बैंकमा गए। जसका कारण उनीहरुमा संक्रमण फैलियो। डा. गोटुज़ो भन्छन्- सरकारले महामारी रोक्नुको सट्टा झन् फैलाउन मद्द गर्‍यो।

अन्तर्राष्ट्रिय श्रम संगठनका क्षेत्रीय प्रमुख भइसकेका हुगो नोपोका अनुसार महामारीलाई मध्यनजर गर्दै युरोपियन मुलुकले जे कदमहरु उठाए, पेरु त्यसकै नक्कल गरिरह्यो। सरकारले यति हदसम्मको गल्ती गर्ने कसैले सोचेकै थिएन।

उनका अनुसार पछि सरकारले आफ्ना गल्तीहरु सुधार्दै लगे। बजारलाई सुरक्षित र व्यवस्थित बनाउने कदमहरु उठाए। बैंकिङको समयावधि बढाए। १८ वर्ष पुगेकाहरु सबैले बैंकमा खाता खोल्नसक्ने सिस्टम बसाले।

लकडाउनको उल्लघंन

पेरुमा लकडाउन उल्लंघन गर्नेहरु पनि उतिकै थिए। हालसालै पेरुको लीमा भन्ने ठाउँमा एउटा पार्टी आयोजना गरिएको थियो। त्यहाँ भागदौड मच्चिँदा १३ जनाको ज्यान गएको थियो। सरकारको नियमलाई उल्लंघन गर्दै त्यहाँका एक रेस्टुराँले १३० जनालाई सहभागी गराएर पार्टी आयोजना गरेको थियो। उक्त पार्टीमा प्रहरी पुग्दा भागदौड मच्चिएको थियो।

यही घटनाबाट पनि मानिसहरु सरकारले लगाएका नियमहरुको उल्लंघन गरेको प्रस्ट हुन्थ्यो। हुगो नोपोले यही कारण पेरुले आज यो अवस्था भोग्नुपरेको बताए।

प्रहरीका अनुसार पेरुमा लुकिछिपी ३२१ पार्टी आयोजना गरिएको थियो। ‘कोरोना संक्रमणको आँकडा बढ्नुमा सबैभन्दा ठूलो दोष हामी जनता नै हौं। हामीले नै सरकारको नियमलाई पालना गरेनौं,’ स्थानीयलाई कोड गर्दै त्यहाँका मिडियाले लेखेका छन्।

पेरु सरकारले पनि आफ्नो देशमा कोरोनाको मृत्यु दर धेरै रहेको स्पष्ट पारेको छ। सरकारले अन्य देशमा यसको पारदर्शीताबारे प्रश्न उठाउँदै आफ्नो देशमा कोरोनाबाट मृत्यु हुनेहरुको पारदर्शिता रहेको उल्लेख गरेको छ।

नेपालमा पनि पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ह्वातै बढेको छ। संक्रमितसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढिरहेको छ। नेपालमा हालसम्म ३८ हजार बढी संक्रमित रहेका छन्, जसमध्ये २२१ जनाको मृत्यु भकए छ।

नेपालमा यो अवस्था आउँदै गर्दा कतै नेपाली जनता र सरकार पेरुको सरकारजस्तै गल्ती त गरिरहेको छैन?

– बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट