आफ्नै न्यायका लागि लड्दालड्दै सहिद भइन् मानवअधिकारवादी इब्रु टिमटिक-Sutra News

आफ्नै न्यायका लागि लड्दालड्दै सहिद भइन् मानवअधिकारवादी इब्रु टिमटिक

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं- आफूमाथि लागेको आतंकवादी संगठनसँगको सम्बन्धको आरोपमाथि निश्पक्ष छानबिनको माग गरेर भोक हडतालमा बसिरहेकी टर्कीकी मानवअधिकारकर्मी तथा वकिल ईब्रु टिमटिकको इस्तानबुलस्थित एक अस्पतालमा मृत्यु भएको छ। भोक हड्ताल बसेको २ सय ३८औं दिनमा उनको मृत्यु भएको छ।



ईब्रुका साथीहरुका अनुसार उनको मृत्युको समयमा शरीरको तौल केवल ३० केजी थियो। उनको मृत्युले टर्कीका विपक्षी राजनीतिक पार्टीहरुबाट आवाज उठेको छ। बिहीबार ट्वीटरमार्फत् टर्कीका राजनीतिक मुद्दाहरुमा काम गर्ने वामपन्थी वकिलहरुको संस्था ‘पिपुल्स ल ब्युरो’ ले ईब्रुलाई सहिद भएको बताएको छ। संस्थाले ट्वीट गर्दै भनेको छ, ‘निश्पक्ष छानविनको माग गर्दै भोक हड्तालमा बसेकी ईब्रु टिमटिक सहिद भएकी छन्।’

टिमटिक टर्कीस्थित ‘समकालिन वकिल संघ’ की सदस्य थिइन्। यो संस्था पनि वामपन्थी संस्था हो, जसलाई गैरकानुनी घोषणा गरिएको वामपन्थी-मार्क्सवादीसंस्था ‘रिभोलुस्नरी पिपुल्स लिवरेसन पार्टी फ्रन्ट (डिएचकेसी–सी)’ सँग घनिष्ट सम्बन्ध भएको आरोप लगाइएको थियो।

‘डिएचकेसी–सी’ लाई टर्कीमा २०१३ मा भएका हमलाहरुको जिम्मेवार भएको आरोप लगाइएको थियो। सन् २०१३ मा टर्कीमा भएका विभिन्न घट्नाहरुमा राजधानी अङकारामा भएको आत्मघाति बम विस्फोट पनि समावेश थियो, जसमा एक टर्कीस गार्डको पनि मृत्यु भएको थियो।

सन् २०१९ मा इस्तानबुल अदालतले १९ जना वकिललाई सजाय सुनाएको थियो। उनीहरुमाथि अदालतले ‘आतंकवादी समह स्थापना र त्यसलाई सञ्चालन गरेको’ र ‘आतंकवादी समहको सदस्य भएको’ जस्ता आरोप लगाएको थियो। अदालतले सजाय सुनाएका वकिलहरुमा टिमटिक पनि थिइन्।

टिमटिकलाई सन् २०१८ को सेप्टेम्बरमा पनि हिरासतमा लिइएको थियो। सन् २०१९ मा उनलाई १३ वर्ष ६ महिनाका लागि जेल सजाय सुनाइयो। यही कारण टिमटिक र अन्य केही वकिलहरुले भोक हडताल सुरु गरेका थिए।

टिमटिकलाई सिलिभ्रीस्थित जेलमा राखिएको थियो। उनीसँगै अर्का वकिल ऐट्याक अन्सल पनि भोक हड्तालमा बसेका थिए। टिमटिकलाई गत जुलाईमा जेलबाट अस्पताल भर्ना गरिएको थियो। भोक हड्ताल बसेका दुवै वकिलले पानी र भिटामिन मात्रै सेवन गरिरहेका थिए। उनीहरुको फोरेन्सिक टेष्टपछि आएको रिपोर्टले दुवै जनालाई ‘जेलमा राख्ने अवस्था नभएको’ देखाएको थियो।

टिमटिकको मृत्युपछि टर्कीको सरकारको आलोचना भइरहेको छ। उनका समर्थकहरुले टर्की सरकार नै टिमटिकको मृत्युको कारण रहेको आरोप लगाएका छन्। उनीहरुले टर्की सरकारले निर्दोष टिमटिकको आवाजलाई नसुनेकोमा आक्रोस व्यक्त गरेका छन्।

उनको मृत्युसँगै उनका सामर्थकहरुले उत्तरी इस्तानबुलमा ‘ईब्रु टिमटिक अमर छिन्’ र ‘हत्यारा राज्यलाई याद राखिनेछ’ जस्ता नारा लगाउँदै सडकमा उत्रिएका छन्। सञ्चार एजेन्सी एफपीका अनुसार ती समर्थकहरुमाथि प्रहरीले टियरग्यास प्रहार गरेको छ।

केही दिनअघि प्रहरी र टिमटिकका समर्थकबीच झडपसमेत भएको थियो। प्रहरीले इस्तानबुल बार असोसिएसन अगाडि जम्मा भएको भीड हटाउन बल प्रयोगसमेत गरेको थियो । सो घट्नामा एक वकिलसमेत गिरफ्तार भएका छन्।

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट