साडियो मानेको यात्रा: अफ्रिकाको सडकदेखि लिभरपुलसम्म-Sutra News

साडियो मानेको यात्रा: अफ्रिकाको सडकदेखि लिभरपुलसम्म

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन क्लब लिभरपुलका फ्यानका लागि साडियो मानेको नाम कुनै नौलो नहुन सक्छ। उनी अहिले युरोपियन फुटबलमा एक खतरनाक खेलाडीको रुपमा स्थापित भइसकेका छन्। गत वर्ष लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि र यसपाली प्रिमियर लिगको उपाधि जिताउन अमूल्य योगदान गरेका मानेको जीवन कथा भने केही रोचक र धेरै पीडादायी छन्। उनको जीवन कथा साँच्चै नै दुःख लाग्दो तर प्रेरणादायी छन्।



साडियो मानेको जन्म अफ्रीकी देश सेनेगलको दुर्गम गाउँ बम्बालिमा सन् १९९२ अप्रिल १० मा भएको हो। गरिब परिवारमा जन्मिएका उनले बालापनदेखि नै अभावहरुको सामना गर्नुपरेको थियो। आफ्नो परिवारमा सन्तानको संख्या धेरै रहेको र परिवारमा खान लाउनको अभाव भएपछि माने सानैदेखि आफ्नो काकासँग बसेका थिए। परिवारको आर्थिक अवस्था नाजुक भएको कारणले गर्दा मानेले कहिल्यै विद्यालय जान पाएनन्।

त्यसपछि उनले चाहेर वा नचाहेर सडकमा फुटबल खेल्न थाले। उनीजस्तै धेरै बालकहरु सडकमा फुटबल खेल्न आउँथे। टेलिभिजनमा इङ्ग्लिस प्रिमियर लिग फुटबल हेरेर माने औधी रमाउथे। र,जोसिदै साथीहरुलाई आफू पनि एकदिन प्रिमियर लिगको खेलाडी बन्ने दिवा सपना सुनाउँथे। विद्यालय जान नपाएपछि उनको दैनिकी फुटबलभन्दा अरु हुन सकेन। त्यसैले मानेले एक न एक दिन आफू फुटबलर नै बन्ने अठोट गरे।

उनलाई सन २००२ को विश्वकप फुटबल माहोलले झनै जसरी पनि फुटबलर नै बन्छु भन्ने दृढ विश्वास थपिदिएको थियो। उक्त वर्ष भएको विश्वकपमा सेनेगल ऐतिहासिक पहिलो विश्वकप खेलिरहेको थियो। त्यस प्रतियोगितामा सेनेगलले पहिलो खेलमै विश्वकपकै प्रमुख दाबेदार टिम फ्रान्सलाई हराएर सनसनी मच्चाएको थियो। त्यतिमात्रै होइन, उसले अरु बलिया टिमहरुलाई पाखा लगाउँदै क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो। सेनेगलको यस उपलब्धिले मानेलाई भने हरेक दिन आफू राष्ट्रिय टिमको जर्सीमा फुटबल खेलिरहेको सपना देखाउन थाल्यो। तर भर्खरै १० वर्षका मानेको जसरी पनि फुटबलर बन्छु भन्ने सपनामा साथ दिने कोही थिएनन्।

सडक फुटबलमै वर्षौं बिताएका मानेले सडक फुटबलबाट नै फुटबलका धेरै प्राविधिक कुराहरु बुझिसकेका थिए। गाँउमा बिस्तारै फुटबलको माहोल बन्दै गइरहेको थियो। चाडपर्व र विशेष अवसरहरुमा फुटबल प्रतियोगिता हुन थाल्यो। यस्ता प्रतियोगिताहरुमा माने सधैं उत्कृष्ट खेलाडीको रुपमा चुनिन्थे।

गाउँमै हुने यस्ता प्रतियोगिताहरुबाट झनै उत्साहित भएका माने गाउँ नजिकै स्थानीय सहर गएर अझै फुटबल सिक्न चाहन्थे। र,राजधानी सहर डाकर गएर फुटबल खेल्न चाहन्थे। तर उनका परिवार उनलाई यसरी व्यावसायिकरुपमै फुटबल खेल्न दिने पक्षमा थिएनन्। यद्यपि परिवारले मानेले खेलेको सडक फुटबलमा भने कुनै बाधा पुर्‍याएका थिएनन्।

परिवारका प्रायः सबै सदस्य धार्मिक कार्य र प्रार्थनामा समय बिताउँथे। त्यसैले मानेलाई पनि यही कर्मका लागि प्रेरित गर्थे। तर फुटबलको नसामा परिसकेको माने फुटबलबिना बस्न नसक्ने भइसकेका थिए।

उनले चाहेर वा नचाहेर सडकमा फुटबल खेल्न थाले। उनीजस्तै धेरै बालकहरु सडकमा फुटबल खेल्न आउँथे। टेलिभिजनमा इङ्ग्लिस प्रिमियर लिग फुटबल हेरेर माने औधी रमाउथे। र,जोसिदै साथीहरुलाई आफू पनि एकदिन प्रिमियर लिगको खेलाडी बन्ने दिवा सपना सुनाउँथे। विद्यालय जान नपाएपछि उनको दैनिकी फुटबलभन्दा अरु हुन सकेन। त्यसैले मानेले एक न एक दिन आफू फुटबलर नै बन्ने अठोट गरे।

आफू फुटबलर बन्न चाहने कुरा परिवारलाई सुनाउँदा उनको कुरा कसैले सुनेनन्। परिवारलाई मनाइदिनका लागि उनले काकासँग बिन्ती गर्न थाल्छन्। सुरुमा काकाले पनि उनको बिन्तीलाई नकारिदिन्छन्। मानेले आफ्नो ढिपीलाई नछाडेपछि उनका काकाले उनलाई सहर पठाउन राजी भएका थिए। त्यसपछि उनका परिवारले पनि हार खाए। र, घरमा भएका अन्नबाली बेचेर मानेलाई सहर जाने पैसा जम्मा गरिदिए। त्यसपछि गाँउका प्रतियोगितामा मानेको खेल हेरेर प्रभावित भएका गाँउलेहरुले पनि मानेलाई आर्थिक सहयोग गरे। स्थानीय सहर जाने सोचेका माने अब सिधै राजधानी आइपुगे।

राजधानी सहर पुगेपछि मानेले अब फुटबल एकेडेमी खोज्न थाले। सहर घुम्दै जानेक्रममा उनले कुनै फुटबल खेल्ने खाली मैदान देख्छन्। भोलि पल्ट बिहानै पुग्दा धेरै लामो लाइन देख्छन्, त्यो लाइन भर्ना छनोटको लाइन थियो। उनी पनि त्यही लाइनको पछाडि गएर बस्छन्। एकेडेमीका कुनै कर्मचारी आएर उनलाइ सोधेका थिए- तिमी सही लाइनमा त छौं? यो त फुटबल खेलाडको छनोट लाइन हो।´

मानेले आफू पनि फुटबल खेल्नलाई नै आएको बताएका थिए। कर्मचारिले मानेलाई नपत्याउनुको कारण भनेको सुकिला लुगा र राम्रा जुत्ता लगाएकाहरुको भीडमा थोत्रो लुगा र थोत्रो जुत्ता लगाउने माने एक्ला थिए। उनले गाँउकै सडकमा फुटबल खेल्दा लगाउने लुगा र जुत्ता लगाएर गएका थिए। ती कर्मचारिलाई मानेले आफ्नो जुत्ता र लुगा नभइ आफूले फुटबल खेल्ने चुनौतिपूर्ण जवाफ दिएपछि मानेलाई सिधै लाइनको अगाडि लगिएको थियो।

उनलाई अरु केही कुरा सोधेर सिधै छनोट भएको घोषणा गरिएको थियो। त्यसपछि उनी राजधानीकै स्थानीय क्लबमा फुटबल खेल्न थाले। उनले उक्त क्लबमा मात्रै ९० खेलमा १३१ गोल गरेर सबैलाई चकित तुल्याएका थिए।

कठिन मेहनत गरिरहेका मानेको भाग्यले १५ वर्षको उमेरमा भविष्यको ढोका खोलिदियो। माने स्वयं यसलाई भाग्यको प्रतिफल भन्छन्। स्थानीय क्लबका लागि खेलिरहेकै समय फ्रान्सको एउटा संस्था त्यहाँ आएको थियो। उनीहरुले फुटबल खेलका लागि इच्छा र सीप भएका तर गरिब अफ्रीकी बालकहरुलाई फ्रान्समा लगेर फुटबल सिकाउने चाहना व्यक्त गरेका थिए। उक्त क्लबमा सबैको स्थिति अवलोकन गरिएको थियो। क्लबमा सबैभन्दा गरिब र सबैभन्दा सिपालु माने नै निस्किए।

उनी अब युरोपमा फुटबल खेल्न तयार भइसकेका थिए। उनलाई फ्रान्सको मेट्ज क्लबले अनुबन्ध गरेको थियो। उनले यो कुरा आफ्ना काकालाईबाहेक कसैलाई पनि भनेका थिएनन्। किनभने उनका परिवारले पहिला मानेले देखेको व्यावसायिक फुटबल खेल्ने सपना कसैले पत्याँउदैनथे। बीचमा परिवारसँग कुराकानी भए पनि उनले यो कुरा भनेन्।

उनी पछि आफू युरोपमा खेलिसकेर सबैलाई सर्प्राइज दिन चाहन्थे। १५ वर्षका उमेरमा सेनेगल छाडेका मानेले १९ वर्षको उमेरसम्म यो कुरा गोप्य नै राखेका थिए। अफ्रीकाको गर्मीमा हुर्केका उनलाई फ्रान्सको चिसोमा बस्न एकदम गाह्रो भएको थियो। अर्कातिर आफू युरोप भएको कुरा घरमा थाहा नदिई यसरी बेखबर भइ बस्दा आफूलाई केही भयो भने भन्ने चिन्ताले उनलाई लामो समयसम्म सताइरह्यो। तर व्यावसायिक फुटबलर बन्छु भन्ने अठोटले युरोप पुगेका मानेले सबै परिस्थित सामना गरेरै छाडे।

कुनै अन्तर्वार्तामा मानेले बताएअनुसार एकदिन उनले आमालाई फ्रान्सबाट फोन गर्छन् र वार्ता सुरु हुन्छ। `हेल्लो, आमा म फ्रान्समा छु।´आमाले सोध्छिन `कुन फ्रान्स?´ `युरोपको फ्रान्समा ´मानेले जवाफ दिन्छन्। `तिम्रो मतलब कुन युरोप? तिमी सेनेगलमा छौं।´ मानेको जवाफ थियो `युरोपकै फ्रान्समा छु।´ आमा आश्चर्यमा परेकी थिइन्। त्यसपछि उनले आफ्नो छोरालाई दिनदिनै फोन गर्न थालेकी थिइन्। उनले फोन गर्नुको कारण थियो छोरा साँचिकै युरोपमा हो कि होइन जान्नका लागि। मानेले आमालाई भनेका थिए अब टेलिभिजनमा हेर्नुस् अनि पक्का हुनु हुनेछ।

त्यसपछि मानेकी आमाले आफ्नो छोराको सपना साकार भएको दृश्य टेलिभिजनमा देख्न थालेकी थिइन्। मैदानमा माने लडेको देख्दा उनी चिन्तित हुँदै छोरालाई फोन गर्थिन्। अनि सम्झाउँथिन्, चोट लाग्यो होला होस् गर्नु भनेर। मैदानमा लड्नु सामन्य भएको भन्दै माने आमालाई सम्झाउँथे। पछि माने साँच्चिकै घाइते भए। जुन दृश्य आमाले टेलिभिजनमा देखिरहेकी थिइन्। त्यतिबेला उनी ठूलो पीडामा परिन्। पछि माने चोटमुक्त भएर मैदान फर्किए तर मानेकी आमाले फेरि दोहोर्‍याएर टेलिभिजनमा आफ्नो छोराको खेल हेर्ने आँट कहिल्यै गरिनन्।

सन् २०१२ को लन्डन ओलम्पिकमा सेनेगलको टिमबाट खेलेपछि माने जर्मन क्लब रेडबुल साल्सबर्ग गए। त्यहाँ उनले २ सिजनमा ८० खेल खेलेर ४० गोल गरे। सन २०१४ मा ३४ मिलियन युरोमा लिभरपुल क्लब पुगेपछि मानेले क्लब फुटबलमा कहिल्यै पछाडि हेर्नु परेको छैन। उनी अहिले युरोपमा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा धेरै अगाडि पर्छन्।

सन् २०१५ को अफ्रिकन कपको दौरानमा भएको घटनालाई माने आफ्नो जीवनकै सबैभन्दा बिर्सनलायक घटना भनी व्याख्या गर्छन्। उनले पेनाल्टीमा गोल गर्न नसकेपछि उनका समर्थकहरुले उनीविरुद्ध नाराबाजी गर्नुका साथै उनका परिवारमाथि आक्रमणका प्रयाससमेत गरेका थिए। यतिमात्रै हैन, उनले आफूलाई बाल्यकालमा पालनपोषण गरेका काकाको लागि २६ हजार पाउन्डमा घर किनिदिएका थिए। जुन घर आक्रोशित समर्थकहरुले तोडफोड गरेका थिए।

अहिलेसम्म क्लब फुटबलमा कूल ३५६ खेलमा १५३ गोल र ८१ एसिस्ट गरेका मानेले हालसम्म ८ वटा उपाधि जितेका छन्। लिभरपुललाई ३० वर्षपछि यसपाली प्रिमियर लिग उपाधि जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनकै उत्कृष्ट प्रदर्शनमा लिभरपुलले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो। मानेकै उत्कृष्ट प्रदर्शनको प्रेरणामा सेनेगलले ऐतिहासिकरुपमा दोस्रोपल्ट सन २०१८ को विश्वकप समेत खेलेको थियो। उमेरले भर्खर २८ पुगेका मानेले अझै गोल, एसिस्ट र उपाधि संख्या बढाउनसक्ने छन्।

फुटबल व्यवसाय मानेको आफ्नै ठाँउमा छँदैछ। त्यसबाहेक उनी अशिक्षा र गरिबीले पछि परेका अफ्रीकी देशहरुमा विद्यालय र अस्पताल बनाएर सहयोग गरिरहेका छन्। उनले गत वर्षमात्रै भनेका थिए कि म १० वटा फेरारी किन्न सक्छु, तर यति पैसाले धेरैको संसार बदल्न सक्छ। त्यसैले म यति रकम सेवामा खर्च गर्न चाहन्छु।

समाज सेवामा कुनै पनि फुटबलरको नाम आउँछ भने पहिलो नाम साडियो मानेकै आउँछ। उनी आफू कतै हिँड्दा भोका नाङ्गा दुःखी देखे भने आफूसँग जे छ त्यही दिएर सहयोग गर्छन्। उनले आफूलाई एक कुशल फुटबल खेलाडीका साथै समाजसेवीका रुपमा स्थापित गराइसकेका छन्। अझै पनि मिडियासामु फुटेको मोबाइल बोकेर प्रस्तुत हुने मानेको जीवन कथा फुटबल मन पराउने र मन नपराउने सबैका लागि प्रेरणादायी रहेको छ। 

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट