काठमाडौं- वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका पिता चिरञ्जीविलाल सरावगीको कोरोना भाइरसबाट मृत्यु भएको छ। ७८ वर्षीय उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।
मेयर सरावगीले बुवालाई बचाउन अनेक कोसिस गर्दा पनि बचाउन नसकिएको जानकारी दिए।
‘लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो, १० दिन अगाडि नै कोभिड वार्डबाट जनरलमा सारिएको थियो’, उनले भने, ‘अन्य दीर्घ रोगबाट गलिसक्नुभएको रहेछ, चिकित्सकले सकेको प्रयास गरेका हुन् तर बचाउन सकिएन।’
गत साउन १४ गते मेयर सरावगीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनका पितामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई उपचारका लागि वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो।
स्थिति जटिल बन्दै गएपछि साउन २४ गते उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। भदौ २ गते गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका थिए। तर, मुटु र मिर्गौलामा समस्या देखिएपछि अस्पतालको अति सघन कक्षमा राखेर उपचार गराइएको थियो।