जलेश्वर– महोत्तरी प्रहरीले आज बिहान सीमानाकामा चोरी तस्करीका डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका-४, स्थित हलखोरी गाउँबाट १५० किलो मटर बरामद गरिएको हो।
वनको बाटो हुँदै नेपालबाट भारत लैजानका लागि राखिएको अवस्थामा प्रहरीको गस्ती टोलीले मटर बरामद गरेको छ। तस्करहरु प्रहरीलाई देखेर भागेका छन्। त्यस्तै प्रहरीले जलेश्वर नगरपालिका-५, पर्सापतैली गाउँबाट पाँच कार्टुन भारतीय चुरा बरामद गरेको छ।
भारतबाट भन्सार छली अवैधरूपमा नेपाल भित्र्याएको अवस्थामा प्रहरीले ती चुरा बरामद गरेको जनाइएको छ। प्रहरीले बरामद गरेको मटर र चुरा आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ।