सवारी साधनमा नेपाली इम्बोस्ड नम्बर प्लेट राख्न विद्यार्थीहरुको माग-Sutra News

सवारी साधनमा नेपाली इम्बोस्ड नम्बर प्लेट राख्न विद्यार्थीहरुको माग

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- सवारी साधनमा अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याउन नेपाली संकायका विद्यार्थीहरुले माग गरेका छन्।



त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका दर्शनाचार्य (एमफिल) तहका विद्यार्थीहरुले एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसला तत्काल सच्चाएर नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्न माग गरेका हुन्।

संयोजक बृषराज रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट नेपालीमा नभई अंग्रेजीमा मात्र राख्ने भनी गरिएको फैसलाप्रति हामी घोर भर्त्सना गर्दछौं।’

नेपालीमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानो-ठूलो हुने भएकाले नम्बर प्लेटका साइज एउटै हुन नसक्ने, अंग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरीपैठारी तथा दुर्घटना कम हुने लगायतका तर्कहरु सर्वोचले पेस गरेको थियो।

सर्वोच्चको तर्कमाथि आपत्ति जनाउँदै संयोजक रेग्मीले भने, ‘सवोच्चले निरर्थक तर्कहरू पेस गर्दै गरिएको यो फैसला हास्यास्पद मात्र नभई राष्ट्रघातीसमेत देखिन्छ। नेपालको राष्ट्रियता र अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको यस्तो गैरजिम्मेवारीपूर्ण कदम निन्दनीय छ।’

राष्ट्रले आफ्नो राष्ट्रभाषालाई पहिलो प्राथमिकतामा र त्यसपछि मात्रै अंग्रेजी भाषालाई स्थान दिने गरेको अन्तर्राष्ट्रिय अभ्यासलाई ख्याल गर्दै इम्बोस्ड प्लेटको सन्दर्भमा पनि देवनागरी लिपिलाई पहिलो प्राथमिकता दिनुपर्ने विद्यार्थीहरुको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट