कोरोना परीक्षणमा ‘नेगेटिभ’ आएको भोलिपल्टै महिलाको मृत्यु-Sutra News

कोरोना परीक्षणमा ‘नेगेटिभ’ आएको भोलिपल्टै महिलाको मृत्यु

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बिनयी त्रिवेणी गाउँपालिकामा एक वृद्धाको कोरोनामुक्त भएको भोलिपल्ट मृत्यु भएको छ। हिजो (आइतबार) पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएकी बिनयी त्रिवेणी–६, की ७५ वर्षीय वृद्धको सोमबार मृत्यु भएको जानकारी प्राप्त भएको छ।



निमोनियबाट ग्रसित ति महिलाको कलेज अफ मेडिकल साइन्स भरतपुरमा उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको कलेज अफ मेडिकल साइन्स भरतपुरकी सुपरिटेन्डेन्ट डा.सीता पराजुलीले जानकारी दिइन्। ‘उहाँको पिसिआर रिपोर्ट हिजो साँझ नेगेटिभ आइसकेको थियो। निमोनियाका कारण उहाँको स्वास्थ्य अवस्था सामान्य थिएन। हामीले धेरै कोसिस गर्यौं तर आज बिहान निधन भयो’, डा.सीताले भनिन्।

शव बुझ्ने कोही भएन

वृद्धलाई निमोनिया भएका कारण आइसियुमै राखेर उपचार गरिएको थियो । वृद्धकी बहिनीले उपचारको क्रममा हेरचाह गरिरहेको तर पछि बहिनीमा पनि कोरोना पोजेटिभ देखिएको र उनी रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा उपचारका लागी गएकी थिइन्। पछि वृद्धाको हेरचाहका लागि उनकी नातिनी आएको र नातिनीमा पनि कोरोना पोजेटिभ देखिएकाले पछिल्लो केहिदिन यता वृद्धाको हेरचाह गर्ने आफन्त नभएको डा.सीता जानकारी दिइन्।

‘उहाँको परिवारमा पाँच जना सदस्य हुनुहन्थ्यो तर पाँचै जनामा कोरोना पाजेटिभ आएको भन्ने खबर पायौं,’ डा.सीताले भनिन्, ‘मैले परिवारका सदस्यसँग बुझ्दा सबैजना आइसोलेसनमा छौं, कसरी आउने भन्नुभयो। अहिले पनि शव बुझ्ने कोहि हुनुहुन्न। शव अस्पतालमै छ।’ 

अन्य आफन्तलाई बुझाउने प्रयासमा छौंः गाउँपालिका

बिनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव्रराज काफ्लेका अनुसार परिवारका सदस्य सबैमा कोरोना संक्रमण भएकाले शव ब्यवस्थापनका लागि उहाँका अन्य आफन्तसँग कुराकानी भइरहेको छ। ‘हामीले उहाँका अन्य आफन्तजनसँग कुरा गरेका छौं। शव ब्यवस्थापनको बिषयमा कुरा हुँदैछ’ काफ्लेले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट