नेपालमा पहिलोपटक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु, तर सरकारसँग छैन रेकर्ड-Sutra News

नेपालमा पहिलोपटक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु, तर सरकारसँग छैन रेकर्ड

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९)का कारण तीन दिनअघि एक स्वास्थ्यकर्मीको पहिलोपटक मृत्यु भए पनि सरकारले कुनै अभिलेख नराखेको पाइएको छ।



महोत्तरी मनरा सिसवा-४मा फार्मेसी सञ्चालन गरेर बसेका ४० वर्षीय हेल्थ असिस्टेन (एचए)को गत भदौ १२ गते कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको थियो। तर, इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डे यसबारे अहिलेसम्म कुनै जानकारी नआएको बताउँछन्। ‘हाम्रोमा अहिलेसम्म अपडेट भएको छैन। यदि मृत्यु भएको हो भने यो नै पहिलो हो,’ महाशाखा प्रमुख पाण्डेले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीर अधिकारीले पनि मन्त्रालयका अहिलेसम्म कुनै जानकारी नपाएको बताए। ‘यदि थियो भने आधिकारिक रुपमा आइसक्नुपर्ने हो, आएको छैन,’ सूत्रन्युजसँग डा अधिकारीले भने, ‘आइसकेपछि हामी सार्वजनिक गर्छौं।’

जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीका प्रमुख नरेन्द्रप्रसाद चौधरी निजी स्वास्थ्यमा कार्यरत भएको हुँदा स्वास्थ्यकर्मीको सूचीमा नपरेको बताँछन्। ‘उहाँ नेपाल सरकारमा कार्यरत स्वास्थ्यकर्मी हैन। कुनै प्राक्टिस गरिरहेको हुनसक्छ। गाउँघरमा प्राक्टिस गरिरहेका स्वास्थ्यकर्मी हुन्,’ चौधरी भन्छन्। 

तर, स्वास्थ्यकर्ममा सक्रिय भएर काम गरेपछि उसलाई स्वास्थ्यकर्मी नै मान्नुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन्। डा रवीन्द्र समीर भन्छन्, ‘हाम्रो देशमा निजी क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी धेरै छन्। स्वास्थ्यकर्मीको मृत्यु भएको अभिलेख हुनुपर्ने हो। उहाँको पनि अभिलेख भइसक्नुपर्ने हो।’

स्वास्थ्यकर्मीको मृत्युपछि पोजेटिभ पुष्टि

१२ गते (शुक्रबार) मृत्यु भएका स्वास्थ्यकर्मीको बयोधा हष्पिटलमा पीसीआर परीक्षण गरिएको थियो। ‘बयोधामा उहाँको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखियो,’ उनका भाइ सुरेश सहनीले भने।

सहनीका अनुसार मृतक स्वास्थ्यकर्मी ७ गते (आइतबार) बिरामी परे। ज्वरो र रुघाले ग्रसित भएपछि मंगलबार जनकपुरमा चेकअपका लागि गए। ‘डाक्टरले डाइबिटीजको मात्रा बढेको र ९ एमएमको पत्थरी देखाएको बताए। त्यहाँबाट घर फर्किएर एम्बुलेन्स लिएर काठमाडौं आउने क्रममा स्वासप्रस्वासमा समस्या आएको थियो। आउँदा-आउँदै बाटोमा मृत्यु भयो,’ सहनीले भने।

मृतक स्वास्थ्यकर्मीसँगै उनको श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो। उनी अहिले बयोधा अस्पतालमा उपचारत् छिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट