काठमाडौं- एक साताअघि रौतहटमा गोली प्रहारबाट मारिएका पूजारीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
गत भदौ ३ गते माधव नारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पूजारी श्रीराम शाह राति साढे नौ बजेतिर मन्दिरमै मारिएको अवस्थामा फेला परेका थिए। त्यसपछि हत्यामा संलग्नको खोजीमा जुटिरहेको प्रहरीले भारतीय प्रहरीको सहयोगमा बिहारबाट दुईजनालाई पक्राउ गरेर रौतहट ल्याएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल छन्। रौतहट प्रहरीले अहिले दुवैको बयान लिइरहेको छ। प्रहरी स्रोतका अनुसार दुवैले हत्या स्वीकारेका छैनन्। यही घटनामा संलग्न गोदाही नगरपालिकाका अन्य चारजना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पिर्कामा बसेर रोटी खाइरहेका बेला कन्चटमा गोली प्रहार गरेर पूजारीको हत्या गरिएको थियो। गोलीको आवाज सुन्नासाथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा पूजारी शाह रोटी खाइरहेकै ठाउँमा दायाँतर्फ ढलिरहेको अवस्थामा फेला परेका थिए।
एक सातादेखि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी जुटिरहेको थियो। घटना अनुसन्धानका लागि जनकपुरबाट तालिमप्राप्त कुकुरसमेत ल्याइएको थियो। प्रदेश २ प्रहरी कार्यलयको अनुसन्धान टोलीसमेत अनुसन्धानमा खटिएको थियो। तैपनि हत्यामा संलग्नबारे केही पत्ता नलगाएको भन्दै सरकार र प्रहरीमाथि देशभरबाट जनदबाब बढिरहेको थियो।