२९ वर्ष पुराना ‘स्पटब्वाय’ भन्छन्- लकडाउनले गाह्रो भयो, अब फिल्म क्षेत्र छाड्छु-Sutra News

२९ वर्ष पुराना ‘स्पटब्वाय’ भन्छन्- लकडाउनले गाह्रो भयो, अब फिल्म क्षेत्र छाड्छु

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- २९ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय ‘स्पटब्वाय’ राजु फुयाँल पाँच महिनायता बेरोजगार छन्। कोरोना महामारीका कारण फिल्म क्षेत्रका सम्पूर्ण काम ठप्प भएसँगै उनी कामविहीन भएका हुन्।



लकडाउन हुनुअघि उनी झरना थापाको निर्देशनमा छायांकन भइरहेको अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङमा व्यस्त थिए। तर, एक्कासी आएको महामारी र लकडाउनले फिल्मको सुटिङमा मात्रै ब्रेक लागेन, उनकै करियरमा पनि नमज्जाले ब्रेक लागेको छ।

करिब तीन दशकको फिल्म करिअरमा उनले कहिल्यै यसरी खाली हात बस्नु परेको थिएन । ‘काम आइहाल्थ्यो, दिनको हजार रुपैयाँ जति कमाइ पनि भइहाल्थ्यो,’ उनी सम्झिन्छन्, ‘त्यसैले जसोतसो घरपरिवारको खर्च टरिरहेकै थियो। तर, यो लकडाउनले त जीन्दगी नै तनावपूर्ण भइसक्यो।’

राजुले कलाकारहरु पुराना पुस्ताका भुवन केसी, राजेश हमाल, निखिल उप्रेती, रमित ढुंगानादेखि अनमोल र प्रदिप खड्कासम्म सबैसँग काम गरेका छन्। सबैका प्यारा उनी यतिखेर खल्ती टकटकाउँदै दुःख सुनाउँछन्, ‘ल हेर्नुस्, गोजीमा सुक्खो छैन, कसरी टार्ने छाक?’

आफूसँग भएको रकमले लकडाउनको पहिलो महिना जसोतसो घर चलाएका उनी त्यसपछि राहत र ऋणपानकै भरमा चलिरहेका छन्। ‘आफूसँग भएको खर्चले एक महिनालाई पनि पुगेन,’ उनी पीडा पोख्छन्, ‘छिट्टै लकडाउन खुल्ला र काममा जान पाइएला भन्ने सोच्दासोच्दै महिनौँ बित्यो। कुनै छाटकाट देखिँदैन। अब त फिल्म क्षेत्र नै छाड्ने सोचमा पुगिसकेँ। कोही लगानी गरिदिने मान्छे भेटिए गाउँमा गएर गाइबाख्रा पालेर बस्ने विचार छ।’

राजुको बाँकी दुःख र संघर्ष जान्न, हेर्नुस् सूत्रन्युजले उनकै कोठामा पुगेर तयार पारेको भिडियो कथा: 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट