काठमाडौं- भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति नेपाली नेताहरुले दुःख व्यक्त गरेका छन्। उनको ८४ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो।
नेपालका विभिन्न नेताहरुले मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल-भारत सम्बन्ध बलियो बनाउन उनले खेलेको योगदानको स्मरण गरेका छन्। राष्ट्रपति विद्या भण्डारीले उनको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छन्।
‘भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको दुःखद् निधनबाट मर्माहत भएको छु,’ भण्डारीले ट्वीटरबाट दुःख व्यक्ति गर्दै लेखेकी छन्, ‘नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले मुखर्जीको निधन भएको खबरले मर्माहित भएको भन्दै नेपाल-भारत सम्बन्ध बलियो बनाउन उनको योगदान रहेको उल्लेख गरेका छन्। ‘भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको खबरले मर्माहित भएको छु,’ ट्वीटरमा ओलीले लेखेका छन्, ‘भारत सरकार, भारतीय जनता तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना। उहाँको निधनबाट नेपालले एउटा ठूलो मित्र गुमाएको छ। हामी नेपाल-भारत सम्बन्ध बलियो बनाउन उहाँले सार्वजनिक जीवनमा विभिन्न क्षेत्रमा खेल्नु भएको योगदानलाई सम्झन चाहान्छौं।’
त्यस्तै पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मुखर्जीको निधनले स्तब्ध तुल्याएको बताएका छन्।
‘विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको दुखद् निधन भएको समाचारले स्तब्ध तुल्याएको छ,’ प्रचण्डले फेसवुकमा लेखेका छन्।
उनको निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको प्रचण्डले उल्लेख गरेका छन्। ‘उहाँको दुखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको छ,’ उनको भनाइ छ, ‘मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अवसरको स्मरण गर्दै यस दुखद् क्षणमा उहॉप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो संवेदना प्रकट गर्दछु।’
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्रको मुखर्जी सधा समर्थक भएको उल्लेख गरेका छन्। ‘महामयमप्रति हार्दिक श्रद्धाञ्जली। उहाँ साँच्चिकै नेपालको ठूलो मित्र हुनुहुन्थ्यो। नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्रको सधा समर्थक हुनुहुन्थ्यो,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘उहाँको मृतआत्माले शान्ति पाओस्।’
त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि मुखर्जीको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘मित्र रास्ट्र भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली । उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा ।’