काठमाडौं- मुस्ताङमा असार दुई गते ८३ वर्षीय वृद्धमा आरडिटी परीक्षण गराउँदा पोजेटिभ देखियो। काठमाडौंबाट आएका उनी त्यतिबेला तीब्बतीयन शरणार्थी क्याम्पमा बसेका थिए। आरडिटी पोजेटिभ देखिएलगत्तै उनको पीसीआर परीक्षणसमेत गरिएको थियो। ६ गते उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आयो।
लगत्तै आइसोलेसनमा बसेका ती वृद्ध १६ गते कोरोनामुक्त भई डिस्चार्ज भए। त्यसयता जिल्लामा सक्रिय संक्रमित संख्या शून्य छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ। यतिबेला मुस्ताङ र डोटीमात्र यस्तो जिल्ला हुन्, जहाँ सक्रिय संक्रमित संख्या हालः शून्य छ। मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारी कम जनसंख्या र भौगोलिक अवस्थितिका कारण दुई जिल्लामा संक्रिय संक्रमित नभेटिएको अनुमान गर्छन्।
मुस्ताङमा किन छैनन् सक्रिय संक्रमित?
मुस्ताङमा छिर्ने एकमात्र नाका छ- घासा प्रवेश मार्ग। जुन थासाङ नगरपालिका वडा नं ४ मा पर्छ। प्रमुख जिल्ला अधिकारी हीरावेदी पौडेलका अुनसार नाकामा फागुनदेखि कडाइ गरिएको थियो। नाकामा आरडिटी परीक्षण र चेक पोष्टको व्यवस्था गरिएको थियो। परीक्षणका लागि मेडिकल अधिकृत र ल्याब असिस्टेन खडा थिए।
नाकाबाट भित्र छिर्ने जो-कोहीलाई आरडिटी देखिने बित्तिकै क्वारेन्टीनमा राख्ने व्यवस्थासमेत त्यहाँ गरिएको थियो। असारमा अत्यधिक वर्षा भएपछि बाटो पहिरोले अवरुद्ध भयो। बाटो अवरुद्ध भएपछि भने आवतजावत नै शून्य भएको प्रजिअ पौडलले बताइन्। केही दिनअघि बसेको सीसीएमसीको बैठकले सर्कुलर जारी गरेको छ। जारी गरिएको सर्कुलरमा नाकामा आउन पासको व्यवस्था गर्ने, मोबिलिटी कम गर्ने लगायतका निर्णय गरिएको थियो।
यससँगै जिल्लाभित्र यदि कोही प्रवेश गरेमा १४ दिन क्वारेन्टीनमा राख्ने गरिएको प्रजिअ पौडल बताउँछिन्। ‘भिडभाड नगर्ने, अहिलेलाई चाडपर्व, पूजाआजा, नित्यकर्मबाहेक मन्दिर आवतजावत गर्न पनि बन्द गरेका छौं,’ उनी प्रस्ट्याउँछिन्। जिल्लामा पछिल्लो समय विभिन्न ठाउँबाट विदामा घर गएका शिक्षकहरु फर्किएर आउने क्रम भने बढेको छ। उनी भन्छिन्, ‘उहाँहरुलाई पनि १४ दिन क्वारेन्टीनमा बस्नुभएको छ।’ त्यसैगरी म्याग्दी वा पोखराबाट आउनेलाई पनि क्वारेन्टीनमा राख्ने व्यवस्था गरिएको छ।
तीजको समयमा स्याउ आधाजति निर्यात भइसक्नु पर्थ्यो। तर, कोरोनाका कारण दसैं-तिहारमा पनि नजालाकी भनेर किसानहरु चिन्तित देखिएका छन्। ‘व्यापारीहरुलाई ल्याउन पनि सकिएको छैन। चिसो ठाउँ हो, फैलिन्छ कि भन्ने डर छ। एउटा घरमा फैलिए समुदायमा फैलन बेर लाग्दैन,’ पौडेल भन्छन्।
उनका अुनसार पछिल्लो समय अवरुद्ध भएको बाटो खुलेपछि खाद्यान्न सामग्री जिल्लामा भित्र्याउँदा पनि स्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाइएको छ। जिल्लाका सबै गाउँपालिकाले क्वारेन्टीनको समेत व्यवस्था गरेको प्रजिअ पौडेल बताउँछिन्।
जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार हालसम्म जिल्लामा ७१ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये ६२ जना पुरुष र ९ महिला छन्।
गाउँपालिकाको प्रयास
जिल्लामा ५ वटा गाउँपालिका छन्। सबै गाउँपालिकाले सीसीएमसीको निर्णय कडाइको साथ कार्यान्वयन गरिरहेको गाउँपालिका अध्यक्षहरु बताउँछन्। वारागुङ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष फेन्जोक छेन्तेन गुरुङ आफ्नो गाउँपालिकामा आउने सीमानामा कडाइका साथ चेकजाँच गरिरहेको बताउँछन्।
अध्यक्ष गुरुङका अनुसार वारागुङमा हालसम्म विदेशबाट कोही फर्केका छैनन्। यदि कोही फर्किएमा वा आउनुपर्ने भएमा १० वटा बेड क्वारेन्टीनका लागि गाउँपालिकाले व्यवस्था गरेको छ। उक्त गाउँपालिकामा हालः १२ जना ‘सेल्फ क्वारेन्टीन’मा बसिरहेका छन्।
घरपझोङ गाउँपालिकाले पनि नाकामा कडाइका साथै ४० बेडको क्वारेन्टीनको व्यवस्था गरेको छ। स्थानीय स्तरमा मुखियाहरु पनि हुने भएकाले उनीहरुले समेत यसलाई साथ दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल बताउँछन्। ‘पुरानै विश्वासले मुखियाहरु छनोट गर्ने प्रजातान्त्रिक परिपाटीबाट यहाँ हुन्छन्। हाम्रो नीतिलाई कार्यान्वयन गर्न उहाँहरुले पनि सहयोग गर्नुहुन्छ,’ पौडेल भन्छन्।
घरपझोङ अलि बढी संवेदनशील भएकाले सुरक्षा निकायसँग पनि सहकार्य गरेको पौडल बताउँछन्।
किसान र व्यवसायी चिन्तित
कोरोना संक्रमणको डर कम भए पनि मुस्ताङका होटल व्यवसायी र किसान भने यतिबेला चिन्तित देखिन्छन्। पर्यटकीय गन्तब्य भएको हुँदा जिल्लाका प्रत्येक घरमा होटल छन्। फागुनयता ती सबै बन्द छन्।
दैनिक उपभोग्य सामान किन्न किराना पसल खुले पनि किसान वा व्यावसायीहरुलाई आर्थिक अभावले सताउन थालेको छ। ‘यहाँको जटिल समस्याचाहिँ अहिले स्याउ तयारी हुने अवस्थामा छ। आलु, गाजर तयारी छन्, अब त्यसको बिक्री वितरण गराउन मान्छे बाहिरबाट ल्याउन सक्ने अवस्था छैन,’ घरपझोङका प्रमुख प्रशासकीय अधिकृत पौडेल भन्छन्, ‘किसानको मुख्य उपार्जन यही भएको हुँदा उनीहरु चिन्तित छन्।
तीजको समयमा स्याउ आधाजति निर्यात भइसक्नु पर्थ्यो। तर, कोरोनाका कारण दसैं-तिहारमा पनि नजालाकी भनेर किसानहरु चिन्तित देखिएका छन्। ‘व्यापारीहरुलाई ल्याउन पनि सकिएको छैन। चिसो ठाउँ हो, फैलिन्छ कि भन्ने डर छ। एउटा घरमा फैलिए समुदायमा फैलन बेर लाग्दैन,’ पौडेल भन्छन्।