कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा दुई प्रहरी र आज समुदायका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
संक्रमित प्रहरीहरु जिल्ला स्वास्थ्य कार्यालय भित्रका २३ र ४१ वर्षीय जवान हुन्। पश्चिम नवलपरासीमा पहिलो पटक प्रहरीमा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै आज पाल्हीनन्दन गाउपालिका वडा नं. ३ बस्ने १८ वर्षका पुरुष र वडा नं. ४ बस्ने ४८ वर्षका पुरुषसँगै रामग्राम नगरपालिका वडा नं. १० बस्ने ३२ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए।
योसँगै नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४५ पुगेको जनाइएको छ। जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म १ जनाको मृत्यु भएको छ।