अस्पताल चहार्दाचहार्दै तीन संक्रमितको मृत्यु-Sutra News

अस्पताल चहार्दाचहार्दै तीन संक्रमितको मृत्यु

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

चितवन– जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ। जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो।



अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना संक्रमित देखिएको छ। राति अबेर नतिजा आएको थियो। भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो। बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३, की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो। दुवै मेडिकल कलेज पुर्याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याइएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिए।

त्यस्तै भरतपुर–११, का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो। दिउँसो २ : ३० बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताए। उनले भने, ‘चितवन अस्पतालले एक्सरे गरेपछि पिसीआर परीक्षण गर्नुपर्छ भनेर पठाएको रहेछ । हेर्दाहेर्दै बिरामीको मृत्यु भएको हो।’

भरतपुर–११, कै अर्का एक १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो। तिवारीका अनुसार दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको ३ बजे मृत्यु भएको हो।

गम्भीर बिरामी सामुदायिक अस्पतालमा सिटिस्क्यानदेखि सबै परीक्षण गरेर सघन उपचार कक्ष खाली नभएको भन्दै बिरामीका आफन्तले मेकिडल कलेजमा लगेको भए पनि सघन उपचार कक्ष नभएको भनेर फिर्ता गरेपछि सरकारी अस्पताल आइपुगेको तिवारी बताउँछन्।

‘हाम्रो सघन उपचार कक्ष खाली छैन। खाली हुनेले जहाँ खाली छ त्यहाँ उपचार गरिदिनुपर्यो’ तिवारी भन्छन्। भरतपुर अस्पतालका २० वटा सघन उपचार कक्ष सबै बिरामीले भरिएको छ। आइतबार राति पनि एक जना बिरामीलाई यहाँका अस्पताल डुलाउँदा डुलाउँदै कसैले भर्ना नलिएपछि बिहान मृत्यु भएको थियो। चिकित्सक सङ्घ चितवनका पूर्वअध्यक्ष प्रा.डा.कृष्ण पौडेल अहिले अस्पतालहरुले भर्ना नलिँदा बिारमीले उपचार नपाएको स्वीकार गर्छन्। 

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा.हरिशचन्द्र न्यौपाने बिरामी आकस्मिक कक्षमा आएपछि समन्वय गरेर नपठाउँदा समस्या भएको बताउँछन्। आफूले कलेजको खर्चमा एप तयार गरिदिने बताएको भन्दै उनले त्यसमा शय्या खाली भए/नभएको हेरेर एक अस्पतालबाट अर्कोमा पठाएमा समस्या नहुने उनको भनाइ छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी सिफारिसदेखि उपचारसम्ममा समस्या भएको स्वीकार गर्छन्। सरकारी संयन्त्रले सरकारी अस्पतालमा बिरामी पठाउनुपर्ने भन्दै बिरामी बोक्ने एम्बुलेन्सले सघन उपचार कक्ष र भेन्टिलेटर भन्दै हिँड्दा समस्या उत्पन्न भएको उनको भनाइ छ।

अस्पतालको आकस्मिक कक्षमा आएपछि के–कस्तो सेवा बिरामीलाई चाहिने हो सम्बन्धित अस्पतालले समन्वय गर्नुपर्ने उनी बताउँछन्। कोरोना संक्रमणका कारण कारण सघन उपचार कक्ष निर्मलीकरण, चिकित्सक, स्वास्थ्यकर्मी, आइसोलेसन राख्नुपर्नेजस्ता कारण क्षमता घटेर पनि समस्या देखिएको अधिकारीले बताए।

जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीले उपचार नपाउने गुनासो बढेपछि सोमबार सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालले बिरामी प्रेषण गर्दा पठाउन लागिएको अस्पतालमा शय्या खाली भए/नभएको यकिन गरेर मात्र पठाउनुपर्ने, सघन उपचार कक्ष खाली नभएको अवस्थामा बिरामी आकस्मिक कक्षमा भर्ना गरेर उपचार प्रक्रिया सुरु गरेर मात्र अन्यत्र पठाउनुपर्ने भएमा सम्बन्धित अस्पतालले नै समन्वय गर्नुपर्ने बताए।

प्रशासनको सूचनामा एम्बुलेन्स चालकले व्यक्तिगत स्वार्थका लागि अस्पतालहरु घुमाएमा कारवाही गर्ने, सबै अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएको र खाली रहेको सङ्ख्या दैनिकरूपमा बेलुका ५ बजे सार्वजनिक गरी जिल्ला प्रशासन पठाउनुपर्ने उल्लेख छ। रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट