कोरोना बीमा गराउने बढे, बीमाप्रति स्थानीय सरकारको पनि चासो-Sutra News

कोरोना बीमा गराउने बढे, बीमाप्रति स्थानीय सरकारको पनि चासो

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं–  कोरोना बीमा गराउनेको संख्या १० लाख नाघेको छ। मंगलबारसम्ममा कोरोना बीमा गराउनेको संख्या १० लाख ५ सय ८५ जना रहेको बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जानकारी दिएको छ।



समितिका अनुसार बीमा पुलमार्फत् आठ लाख ९४ हजार ३ सय ४३ जनाको कोरोना बीमा भएको छ। बीमा संस्थानबाट सरकारी कर्मचारीहरुको बीमा हुने गरेको छ। तथ्यांकअनुसार संस्थानबाट करिब २ लाखको बीमा गरिएको छ। यी दुवैतिरको जोड्दा विमितको संख्या १० लाख नाघेको हो।

कोरोना बीमामार्फत्र हालसम्म १ करोड ९ लाख ४४ हजार ३ सय रुपैयाँ प्रिमियम संकलन भइसकेको छ। बीमा समितिको तथ्यांकअनुसार कोरोना बीमाबाट हालसम्म २८५ जनाले दाबी भुक्तानीको माग गरेका छन्। यसमध्ये १६३ जनाले दाबी भुक्तानी पाइसकेका छन्।

नेपालमा सोमबारसम्म ३९ हजार ४६० जना कोरोना संक्रमित भएका छन्। यो तथ्यांक हेर्दा कोरोना बीमामार्फत् दाबी भुक्तानी पाउनेको संख्या एकदमै कम हो। बीमा गरेकोहरुमध्ये संक्रमित कम हुनु र बीमाको पहुँच बाहिर रहनुले पनि दाबी भुक्तानी कम भएको बीमा समितिका निर्देशक राजुरमण पौडेल बताउँछन्।

कोरोना बीमा गर्ने (विमित)लाई बीमांक रकममा दुई विकल्प हुने व्यवस्था गरिएको छ। जस्तै ५० हजारको बिमांकमा त्यसकै आधा अर्थात् प्रतिव्यक्ति वार्षिक ५ सय र परिवारकै गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्ने पौडेलले बताए।

यदि तीन सदस्सीय परिवारको १-१ लाखको बीमा भएको छ भने प्रतिव्यक्ति वार्षिक ६ सयका दरले प्रिमियम बुझाउनुपर्ने हुन्छ। ‘पीसीआरमार्फत् जब उनीहरूमा कोरोना संक्रमण भएको पुष्टि हुन्छ, प्रतिव्यक्ति १ लाखका दरले बीमा रकम प्राप्त गर्छन्,’ पौडेल भन्छन्।

त्यसका लागि बीमा गरेको १५ दिनको समय भने पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। १४ दिनको क्वारेन्टीन अवधि भएकाले त्यसलाई मध्यनजर गर्दै १५ दिनको ‘ग्याप पिरियड’ राखिएको पौडेलले बताए।

विमितको कम्पनीहरूले बीमा आवेदन स्वीकृत गरेको १५ दिनपछि पीसीआरमार्फत् कोरोना पोजेटिभ देखिएमा उसले बीमा रकम प्राप्त गर्नेछ। यसकारण कतिपय व्यक्तिहरु त्यो समयभन्दा अगाडि नै संक्रमित हुने गर्छन्। यसकारण पनि दाबी भुक्तानीको संख्या कम भएको पौडेलले बताए।

स्थानीय तहमा पनि चासो

कोरोना संक्रमणको उच्च जोखिम बढिरहेका बेला बीमाप्रति स्थानीय सरकारले पनि चासो लिन थालेका छन्। त्यस्तैमा पर्छ काभ्रेको पाँचखाल नगरपालिका। त्यहाँका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयवासीको स्वास्थ्य बीमा गरिरहेका छन्। वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हालः ‘कोरोना बीमा’का लागि सिफारिस दिन थालेका हुन्।

हालः नगरका २, ३, ४, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम रकममा स्थानीयवासीको बीमा गर्न सोमबारदेखि सिफारिस गर्न थालेका हुन्। कोरोना बीमाका लागि १ लाखको बीमांक रकम बराबर ६ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ। वडा कार्यालयको सिफारिसमा ५० प्रतिशत छुट अर्थात् ३ सय प्रिमियम तिरेपछि स्थानीयवासीको कोरोना बीमा हुने वडा नं ४ का वडाध्यक्ष सुन्दर लामाले बताए।

‘बीमा कम्पनीले नै प्रिमियम रकममा ५० प्रतिशत छुट गरिदिएको हो,’ लामाले भने, ‘यसका लागि वडाले सिफारिस गर्नुपर्ने नियम बनाइएको छ।’ उनका अनुसार वडाका बासिन्दाले कोरोना बीमा गर्न चाहेको बताएपछि वडाले सिफारिस गर्नेछ र वडाको सिफारिस ल्याएका स्थानीयवासीको बीमा कम्पनीले प्रिमियम रकममा ५० प्रतिशत छुटसहित बीमा गर्नेछन्। सोमबार आफ्नो वडाको ११ जनाको सिफारिस गरिएको लामाले बताए।

लामाका अनुसार विमित वडाका बासिन्दामा कोरोना संक्रमण पुष्टि भएपछि १ लाख रुपैयाँ बीमा रकम पाउनेछन्। उनले आफ्नो वडाका १२८ एकल महिलाको पनि कोरोना बीमा गराइदिने योजना बनाएका थिए। ‘मैले व्यक्तिगत खर्चमा उहाँहरुको बीमा गराउन थालेको छु,’ उनले भने, ‘एकल महिलाको पहिचान भइसकेको छ, अब बीमा प्रक्रिया थाल्नेछु।’

स्वास्थ्यप्रति सचेत गराउँदै वडाका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि छुटमा कोरोना बीमा गराउन थालिएको पाँचखाल-२ का वडाध्यक्ष हरि खतिवडाले बताए। ‘अतिविपन्नलाई यसले निकै राहत पुग्ने अपेक्षा गरेका छौं,’ उनले भने। उनले प्रारम्भिक चरणमा वडाका बासिन्दामा बीमाबारे सचेत गराई बीमाका लागि प्रेरित गरिने बताए।

त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडासदस्य सरोज ठकुरी यति बेला वडावासीलाई कोरोना बीमा गराउनुहोस् भनेर अनुरोध गर्दै घरघरमा पुगिरहेका छन्।

झोलामा आवश्यक कागजातसहित भेटिएका ३० वर्षीय ठकुरीले भने, ‘विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले सारा जगतलाई नै स्तब्ध बनाएको अवस्थामा वडावासीलाई आगामी दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत होस् भन्ने उद्देश्यले कोरोना बीमा गर्न अपिल गर्दै आएको छु, त्यसैको लागि यो बीमा गराउन हिँडेको छु।’

घरबाट मान्छेहरु कोरोना फैलिन सक्ने डरले घरबाहिर निस्किन नसकेको अवस्थामा वडासदस्य नै घरमा वडा कार्यालयको सिफारिस बोकेर आउँदा खुसी लागेको राइजिङ क्लब सिद्धार्थनगरका कोषाध्यक्षसमेत रहेका स्थानीय आशिष पन्तले बताए।

ठकुरीसँगै सिनपा १२ का अध्यक्ष करुञ्जनकुमार श्रेष्ठ, वडा सदस्य कुमार गुरुङ लगायत पनि यतिबेला वडावासीको कोरोना बीमा गराउन सक्रियरुपमा लागिरहेका छन्।

श्रेष्ठले सूचना समेत जारी गर्दै आफ्नो छरछिमेकामा कोरोना संक्रमित भएको पाइएमा त्यस्ता व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरी ती व्यक्तिहरुलाई हौसला प्रदान गरी थप सकारात्मक आत्मबल बढ्ने खालको क्रियाकलाप गर्न वडावासीहरुलाई आग्रह गरेका छन्।

सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडा छन्। वडाको सिफारिस भएमा एक जना व्यक्तिको एक लाख बराबरको बीमा गर्दा ३ सय रुपैयाँ बीमा शूल्क तिुनपर्ने हुन्छ। व्यक्ति आफैँ बीमा कम्पनीमा गएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने गर्दछ।

त्यस्तै राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुसी छन्। जिल्लाको दुर्गम क्षेत्र मानिने यस नगरपालिकामा बीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअनुसार गरिबको परिचय पत्र भएका आफूहरुको घरमै आएर बिमा भएपछि सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनीहरु बताउँछन्।

राजापुर नगरपालिका–४, निवासी लक्ष्मी थारुले भने, ‘सरकारले बिमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ।’ राजापुर स्वास्थ्य चौकीमा २४ सै घन्टा विमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उनले माग गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट