काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण विश्वव्यापी बन्दै गएपछि नेपालका विभिन्न दलका नेताहरूले पनि सतर्कता अपनाउन थालेका छन्। सेल्फ क्वारेन्टाइनमा बसेका नेताहरूले कार्यकर्ताहरूसँग नियमित छलफल र भेटघाट लगभग बन्द गरेका छन्। यद्यपि उनीहरूले फोन वा कुनै माध्यममार्फत् कार्यकर्ताहरूलाई सुरक्षित रहन आग्रह भने गर्दै आएका छन्। बन्दाबन्दीको समय कसरी गुज्रिरहेको छ भन्ने लगायतका विषयमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरणसँग गरिएको कुराकानी:
सधैं पार्टीकै काममा लाग्नुपर्ने, नेता–कार्यकर्ता भेटिरहनुपर्ने, बैठक, छलफल गरिरहनुपर्ने राजनीतिक मानिसलाई बन्दाबन्दीका कारण घरमै बस्नुपर्दा कस्तो अनुभूति गर्नुभएको छ?
अफ्ठ्यारोको अनुभूति भइरहेको छ। कहिल्यै यस्तो अनुभूति भएको थिएन जीवनमा। फिल्डमा गएर बोल्न पनि भएन। घरमै बसिरहनुपर्दा जनताका समस्यासँग घुलमिल हुन नपाउने दिन पनि आउँदो रहेछ भन्ने अनुभूति भइरहेको छ।
कोरोनाले तल्लो वर्ग, कर्मचारी, मजदुरहरूलाई गम्भीर असर पारेको छ। उनीहरूको आर्थिक अवस्थाप्रति सरकारले चासो दिएन। यसले गरिबी, बेरोजगारी, आर्थिक संकटको सृष्टि गर्छ भन्ने कुरामा सरकारले नबुझेसम्म यसबाट पार पाउन सकेको छैन।
लकडाउनको समय कसरी सदुपयोग गर्नुभएको छ?
पार्टीका नेता-कार्यकर्ता साथीहरूसँग नियमित सम्पर्कमा हुन्छु। पार्टीको विषयमा छलफल गर्छु। भर्चुअल छलफल पनि भइरहन्छ। त्यसबाहेक अध्ययन र लेखनमा नै मेरो समय बित्छ। पुस्तक लेख्दैछु। लकडाउनको यो समय सकेसम्म सदुपयोग गरेको छु।
कोरोना भाइरसको भयावह अवस्था छ। संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ। कोरोना नियन्त्रणका लागि तपाईँको पार्टीले के गरिरहेछ?
सरकारलाई ध्यानाकर्षण गराएका छौं। नेता-कार्यकर्तालाई सुरक्षित भएर जनचेतनाका कार्यहरू गर्न निर्देशन दिएको छु। पार्टीलाई पनि ध्यानमा राख्नुहोस् भनेको छु। वक्तव्य निकाले सरकारको ध्यानाकर्ष पनि गराएका छौं। तर कसैले सुन्दैनन्। हामीले योबीचमा थुप्रै आन्दोलन पनि गर्यौं। आफ्नो खुबी हेरेर सहयोग गर्ने कुरा हो। आर्थिक हिसाबमा हाम्रो पार्टी कमजोर छ। आर्थिक हिसाबले हेर्नै भनेको सरकारले नै हो, ठूला पार्टीले पनि हो। हामीले के गर्ने? त्यसकारण हामीले सचेतना जगाउने कार्य भने यथेस्ट गरिरहेका छौं।
कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयास कति प्रभावकारी छ?
रोकथाम, नियन्त्रण, औषधि र उपचारसँग सम्बन्धित विषयहमा सरकारको प्रयास भइरहेको छ। तर, जति गर्नुपर्ने त्यो गरेको देखिन्न। कोरोनाले तल्लो वर्ग, कर्मचारी, मजदुरहरूलाई गम्भीर असर पारेको छ। उनीहरूको आर्थिक अवस्थाप्रति सरकारले चासो दिएन। यसले गरिबी, बेरोजगारी, आर्थिक संकटको सृष्टि गर्छ भन्ने कुरामा सरकारले नबुझेसम्म यसबाट पार पाउन सकेको छैन।
कोरोनाबाट पार पाउन के गर्नुपर्छ?
कोरोनाबाट पार पाउने उपाय भनेको कृषि क्षेत्रलाई माथि उठाउने हो। यसप्रति कसैको ध्यान नै गएको छैन। बजेटमा ध्यान पनि दिइएन। सरकार नै गम्भीर छैन। विदेशमा रहेका नेपाली ल्याउन परिहाल्यो। गरिबी र बेरोजगारी बढिरहेको अवस्थामा कृषिमा ध्यान दिने हो भने हामीलाई कुनै समस्या नै पर्दैन। उद्योग व्यवसायजस्तो कृषि होइन। गाउँमा बसिन्छ। खेती गरिन्छ। मानिसको जमघट कम हुन्छ। कृषिमा सजिलो हुन्छ। त्यसकारण कृषि क्षेत्रमा बढी ध्यान दिनुपर्छ।
कोरोना रोकथामका लागि बन्दाबन्दी नै अचुक उपाय हो?
निषेधाज्ञाको समर्थन र विरोध गर्नु दुई कारण छन्। मुलुकमा आर्थिक संकट हुन नदिन उद्योग, व्यवसाय, सञ्चालन गर्नुपर्छ भन्ने खालको भनाइ पूँजीपतिहरूबाट आइरहेको छ। लकडाउन, निषेधाज्ञा गर्नुहुन्न भन्नेमा उनीहरूको जोड हुन्छ। लकडाउन नगरेर के गर्ने? कोरोना रोकथामको एउटा उपाय त यो पनि हो। खुला र अनुशासनहीन भएर मानिस हिँडेका छन्। लकडाउन पनि एउटा आवश्यकता हो। तर, यो नै सबैथोक होइन।