काठमाडौं– बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ ‘होम आइसोलेसन’मा बसेको १४ दिनपछि सोमबार (१५ भदौ) कोरोना संक्रमणबाट मुक्त भइन्। उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत् आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी गराएकी थिइन्।
कोरोना संक्रमण भएपछि संक्रमणमुक्त हुँदासम्मको अनुभव उपसभामुख तामाङले यसरी साटेकी छन्:
‘तपाईंको र बाबुको पीसीआर पोजेटिभ देखियो’ १ भदौमा दिउसो ३ बजे मलाई प्रदेश संसदका सचिवले फोन गरेर जानकारी गराउनुभयो। उहाँले त्यसो भन्ने बित्तिकै म झस्किएँ। जुन भाइरसको आजसम्म औषधि भेटिएको छैन, मृत्यु संख्या पनि दैनिक बढिरहेको छ, आफू र छोरालाई त्यही भाइरसको संक्रमण देखिएको बताइएपछि अत्तालिनु स्वभाविक पनि थियो। मलाई मेरोभन्दा पनि चिन्ता बाबुको थियो।
बाबुलाई असर गर्छ कि भन्ने त्रास थियो। तर मैले प्रतिक्रियामा आफू डराएको कुनै छनक दिइनँ। भनेँ, ‘यो महामारीमा कोरोना लाग्नु स्वभाविक हो। कुनै न कुनै दिन संक्रमण हुन्छ भन्ने त थियो। ठीकै छ।’
त्यसै दिन एउटा समाचार सुनेकी थिएँ, ‘पोजेटिभ आयो भने अलिक ढिला हुन्छ, नेगेटिभ भयो भने रिपोर्ट तत्काल दिइहाल्छ’ भनेर। मेरो लामो समय भएको थियो रिपोर्ट नआएको, आशंका पनि लागिरहेको थियो। बिहान सचिवलाई फोन गरेर रिपोर्ट ढिला किन भयो भनेर सोधेकी पनि थिएँ। उहाँले ‘म बुझ्छु’ भन्नुभएको थियो।
…
जिम्मेवारीकै कारण एक ठाउँमा बसिरहन मिल्दैन। म त हिँडिरहने मान्छे। धेरै ठाउँमा भेटघाट हुन्थ्यो। साउन १७ गतेतिर कामको सिलसिलामा एक जना जनप्रतिनिधिसँग भेट भएको थियो। मैले जसलाई भेटेकी थिएँ, उहाँलाई कोरोना संक्रमण पुष्टि भएछ।
‘उहाँलाई संक्रमण भयो’ भन्ने थाहा पाइसकेपछि हामीलाई पनि शंका लाग्यो। हुन त मलाई सामान्य रुघाखोकी त लागि नै रहन्थ्यो। त्यो दिन पनि मलाई सामान्य रुघाखोकी देखिएको थियो। त्यसैले, मैले सामाजिक विकास मन्त्रालयसँग सल्लाह गरेँ।
त्यसपछि हामीले सचिवालयसहित स-परिवारको २८ साउनमा स्वाव परीक्षण गर्यौं। २९ गते सबैको रिपोर्ट नेगेटिभ आयो। मलाईचाहिँ बिहान खबर आयोे, ‘तपाईँ र बाबुको क्लियर देखिएन। फेरि आउनुपर्यो।’
३० भदौका दिन म फेरि गएँ। फेरि स्वाव दिएँ। त्यसबेला मेरो घाँटीमा चाहिँ समस्या भएको थियो। बाबुलाई चाहिँ खास त्यस्तो केही थिएन।
रिपोर्टमा पोजेटिभ देखिएपछि पनि डाक्टरहरुले ‘रेस्पोन्स’ नै गरेनन्। के गर्ने, कसो गर्ने भन्ने अलमलमा परेँ म। मैले सम्बन्धित मान्छेलाई ‘डाक्टरको नम्बर दिनुस्, म कुरा गर्छु’ भनेँ। त्यसपछि आफैँले फोन गरेर डाक्टरलाई ‘तपाईँहरुले पोजेटिभ भएको कुरा त मलाई भन्नुपर्छ नि’ भनेँ।
अरुलाई सिकाउन त एकदम सजिलो हुन्थ्यो। आफूलाई परेपछि गाह्रो हुँदो रहेछ। सम्बन्धित डाक्टरले के खाने, कसरी बस्ने भन्ने केही पनि सल्लाह दिएका थिएनन्। सुरुमै पनि सजग गराउनु पर्थ्यो, त्यो कुरामा पनि उनीहरुले चासो नदेखाउँदा नमज्जा लागिरहेको थियो। यसबारे मैले ‘कम्प्लेन’ पनि गरेँ।
पछि साथीहरुले मेरो हौसला बढाउने काम गरे। विदेशबाट, स्वदेशबाट होस् वा राजनीति दलका साथीहरु सबैले स्वास्थ्यलाभको कामनासँगै हौसला बढाए। मेरा अग्रजदेखि लिएर सामाजिक क्षेत्रमा काम गर्ने पत्रकार साथीहरुले पनि सुझाव दिन थाले। छोरा र म आफ्नै निवासको एउटा कोठामा बस्यौं। रिपोर्ट ‘नेगेटिभ’ देखिएका अरु साथीहरुचाहिँ बाहिर जानुभयो। कोठामा सीमित भएर बस्दा निकै गाह्रो हुने रहेछ।
मलाई कानुनमन्त्री डा. शिवमाया तुम्हाम्फे दिदीले पटक-पटक फोन गरेर सल्लाह सुझाव दिइरहनुभयो। शिक्षामन्त्रीको निजी सचिवालयका विनोद न्यौपानेले आयुर्वेदिक औषधि पनि पठाइदिनुभयो। कोरोना लागेको साथीहरुले पनि अनुभव साट्नुभयो।
बीचमा स्वास्थ्य अवस्थामा कुनै समस्या आएको थिएन। त्यही भएर नुहाउने काम गरेको थिएँ। त्यसले गर्दा सुख्खा खोकी बढ्यो। खोकी बढ्न थालेपछि डा भोजराज अधिकारीलाई फोन गरेँ र आफ्नो समस्या बताएँ। उहाँले भन्नभुयो, ‘तपाईँका लागि केही औषधि लेखेर पठाउँछु। गाह्रो नै भयो भने हस्पिटलबाट लिन पनि पठाउँला।’
उहाँले औषधि लेखिदिनुभयो। खोकीको औषधि थियो, जुन मैले प्रयोग गरेँ। खोकी निको पनि भयो। आयुर्वेदिक औषधिहरुचाहिँ मैले अहिलेसम्म पनि निरन्तर खाइरहेको छु।
यसबीचमा मलाई लाग्यो, खानपिनलाई व्यवस्थापन गर्नुपर्दो रहेछ। समय तालिका मिलाएर खाने हो भने साग मात्रैले पनि ‘इम्युनिटी पावर’ बढाउँदो रहेछ।
मैले सधैं अर्ग्यानिक तरकारी नै खाएँ। गुर्जोको पानी, तुलसीको पात, पुदिना नियमितरुपमा खान्थे। यिनीहरुको मात्रा पनि बढाएँ।
यिनीहरुले हाम्रो ‘इम्युनिटी पावर’ बढाउन मद्दत गर्दा रहेछन्। कतिपय आयुर्वेदिक औषधिले तत्काल परिणाम नदेखाए पनि दीर्घकालीनरुपमा सहयोग गर्ने रहेछन्।
त्यसअघि सुत्ने समय कहिल्यै नियमित थिएन। आइसोलेसन अवधिमा त्यसलाई पनि तालिकाअनुरुप नियमित गरेँ। शारीरिक व्यायाम गरेँ। मनलाई केन्द्रीत गराएर अध्ययन वा नयाँ कुरा सोच्यो भने गाह्रो नहुने रहेछ।
मलाई त मेरो बाबुलाई केन्द्रिकृत गराउनु थियो। कोठाभित्र खुसी गराउनु थियो। त्यसकारण धेरै वर्षअगाडि खेलेका खेल बाबुसँग खेलेँ। बिहान-बेलुका अलि बढी वाकिङ गर्ने, योगहरु गर्ने लगायतका काम पनि बाबुसँग गरेँ।
बाबुलाई अन्य लक्षण देखिएन। उसलाई संक्रमण भएको भनेर भनेनौं पनि। ‘मामुसँग बस्ने कि बाबासँग बस्ने’ भनेर मैले सोधेँ। उसले ‘मामुसँग नै बस्छु’ भन्यो। ‘मसँग बस्ने भएपछि तिमीले अरुलाई छुन पाउँदैनौं नि’ भनेँ। उसले त आफूलाई ममीसँग साथी बसिरहेछु भन्ने सोच्यो। खुसीसाथ आमा-छोराले समय बितायौं।
आइसोलेसनमा बस्दा मैले धेरै माया पाएँ। तर सबैले राम्रो भन्छन् भन्ने पनि हुन्न। मैले केही कुरा सुनेँ। जस्तो कि फिल्डमा गएका सामाजिक राजनीतिक कार्यकर्तासँग भनिएछ, ‘राधिकासँग छोएर आएका होलान्, गाउँमा राख्नु हुँदैन।’
कहिलेकाहीँ मान्छेले हुँदै नभएको ट्रोल बनाएको पनि पाएँ। ती ट्रोलहरु साथीहरुले मलाई पठाउनुहुन्थ्यो। मैले ‘यस्ता कुरामा ध्यान नदिऊँ’ भनेँ। मैले जहिले पनि सकरात्मक हिसाबले साचेँ, साथीहरुलाई पनि नआत्तिन भनेँ।
आफैँ संक्रमित भएर आइसोलेसनमा रहनु परेपछि मैले अनुभव गरेँ, ‘सर्वसाधारण निकै मारमा परेका छन्। हामी जत्तिको मान्छेलाई पनि सूचना दिने कुरामा चुक्छन् भने उनीहरुको हालत त झन् के पो होला?’
हाम्रोमा ‘कन्ट्याक्ट ट्रेसिङ’ को समस्या जटिल छ। अझ धेरै भद्रगोल काठमाडौंमा रहेछ। जहाँ कुनै सिस्टम नै छैन। मलाई एक जना बिरामीले सुनाउनुभएको थियो, उहाँको पोजेटिभ देखिएको रहेछ। त्यसपछि उहाँले १० पटक फोन गरेर ‘लिन आउनु’ भन्नुभएछ। तर कोही आएनछन्। उहाँको आफ्नो घर थिएन। अर्काको कोठामा बस्नुभएको छ। घरबेटीको त्यस्तै खालको समस्या छ। यो अवस्थालाई कसरी सामना गर्छन् उनीहरुले?
यस्ता कुरा पहिले पनि समाचारमा सुनेकी थिएँ। पत्यार लागेको थिएन। तर आफैँले यही कुरा भोगेँ। म पो पदमा छु र डाक्टरहरुले फोन उठाउँछन्, कुरा गर्छन्। सर्वसाधारणको त उठाउँदैनन्।
…
१३ दिनको दिनमा हामीले फेरि स्वाव दियौं। आइतबार (१४ भदौ) नेगेटिभ आएको जानकारी पाइयो। रिपोर्ट नेगेटिभ आउँदा धेरै खुसी लाग्यो। मेरोभन्दा पनि छोराको नेगेटिभ आयो भन्ने कुराले बढी खुसी लाग्यो।
म फिल्डमा नजाँदा वा म संक्रमित हुँदा जो निरास हुनुहुन्थ्यो, उहाँहरुको लागि म मेरो कार्यक्षेत्रमा फर्कन पाउने भएँ भनेर खुसी भएँ। म सजग भएरै जनताको सेवामा लाग्छु। कार्यक्षेत्रमा सजग भएर पुग्छु।
मैले त कोरोना जितेँ, संक्रमित हुनेहरु अरु सबैले जित्नुहुन्छ भन्ने आशा छ।
संक्रमण नहुने सम्पूर्णलाई पनि मेरो आग्रह, ‘कोरोनालाई बेवास्ता नगरौँ, सजगता अपनाऔँ।’