मेस्सी-रोनाल्डो भिडन्तमा मेस्सी सधैं अगाडि-Sutra News

मेस्सी-रोनाल्डो भिडन्तमा मेस्सी सधैं अगाडि

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं- रोनाल्डो र मेस्सीमध्ये कुन खेलाडी उत्कृष्ट भन्ने प्रश्न गरियो भने दुबैका फ्यानहरुले आ-आफ्ना आइडललाई उत्कृष्ट देखाउन सयौँ लजिकहरु दिन सक्छन्। यी दुई जनामध्ये को उत्कृष्ट भन्ने विवाद सायद फुटबल इतिहासकै ठूलो विवाद हो।



एकै समयमा उदाएका कारणले गर्दा पनि होला सायद एउटाको छायामा अर्को पर्न सकेनन्। जसरी पेले युगमा पेलेको चर्चा हुन्थ्यो पछि म्यारोडोना उदाएपछि पेलेको चर्चा सेलाँउदै गयो। फेरि म्यारोडोना युगपछि रोनाल्डो युग आयो र म्यारोडोनाको चर्चा कम हुन थाल्यो। तर, उनीहरु एकै समय उदाए अनि एकै समय सफलता अनि चर्चाको शिखरमा छन्।

अहिले रोनाल्डो उत्कृष्ट कि मेस्सी भनेर देखाउने वातावरण छैन। मेस्सी उत्कृष्ट भनियो भने रोनाल्डोका समर्थकको मन दुख्न सक्छ र रोनाल्डोलाई उत्कृष्ट भनियो भने मेस्सीका फ्यानलाई चोट पर्न सक्छ। त्यसैले यो विवादीद विषयलाई विवादमै छोड्दा उपयुक्त हुन्छ।

विश्व फुटबलमा एक दशकभन्दा लामो समयदेखि मेस्सी रोनाल्डोको जोडीले तहल्का मच्चाइरहेको छ। यद्यपि, उनीहरु फरक-फरक क्लब र देशका लागि खेल्छन्। सन् २००८ देखि २०२० सम्म १२ वर्षको बीचमा यी दुईको जोडीले ११ वटा ब्यालोन डिआर,१० वटा युरोपियन गोल्डेन बुट, ९ वटा च्याम्पियन्स लिग जितेका छन्। उनीहरुको उपाधि र सफलताबारे लेख्न थालियो भने बाक्लो किताब नै बन्छ।

दुबैको उत्कृष्टता माथि कसैले प्रश्न गर्न सक्दैनन्। अहिलेसम्म कसैले गरेका पनि छैनन्। विपक्षीहरु माथि सधैं जित हासिल गर्न सकेरै त हो नि, उनीहरुको सफलताले शिखर चुम्न सकेको। खेल जीवनमा प्रायः जीत निकाल्न सफल यी दुई खेलाडी एक अर्कामा भिड्दाको अवस्था कस्तो छ भनेर देखाउनु यो रिपोर्टको उद्देश्य हो। च्याम्पियन भर्सेस च्याम्पियन अर्थात् लेजेन्ड भर्सेस लेजेन्ड अझ भनौँ रोनाल्डो भर्सेस मेस्सी भिड्दाचाहिँ को अगाडि छन्? हामीले यसको सबै तथ्यहरु यहाँ प्रस्तुत गरेका छौँ।

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी र पोर्चुगी सुपरस्टार क्रिष्टियानो रोनाल्डोबीच मैदानी भेट अप्रिल २९ सन २००८ मा पहिलोपटक र ६ मे २०१८ मा अन्तिम पटक भएको थियो। यसबीचमा उनीहरु कूल ३४ पटक आमनेसामने भएका छन्। सन २००८ मा मेस्सी र रोनाल्डोको भेट च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग खेलमा म्यान्चेष्टर युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको थियो। उक्त खेलामा मेस्सी र रोनाल्डो दुबैले उत्कृष्ट आक्रमण गरेपनि गोल गर्न सकेनन्। खेल म्यान्चेष्टरले १-० ले जितेको थियो।

यी दुईबीचको दोस्रो भेट २७ मे २००९ मा च्याम्पियन्स लिगको फाइनल खेलमा भएको थियो। उक्त खेलमा  मेस्सीको टिम बार्सिलोनाले रोनाल्डोको टिम म्यानचेष्टर युनाइटेडलाई २-० ले हराएर उपाधि जितेको थियो। फाइनल खेलको ७०औँ मिनेटमा मेस्सीले उत्कृष्ट हेडिङ गोल गरेका थिए। होचा कदका मेस्सीले म्यानचेष्टरका अग्ला डिफेन्डरलाई जितेर गरेको हेडिङ गोललाई फुटबल इतिहासकै अपत्यारिलो गोलको रुपमा लिइन्छ।

रोनाल्डो सन २००९ मा रियल मड्रिड आएपछि मेस्सीसँगको भिडन्तको लागि च्याम्पियन्स लिग नै कुर्नुपर्ने बाध्यता रहेन। वर्षमा कम्तिमा नि २ खेल उनीहरु आमने सामने भइ नै रहे। रियल मड्रिडको जर्सीमा रोनाल्डोले बार्सिलोना विरुद्ध २९नोभेम्बर २००९ खेलेका थिए। एक-अर्का विरुद्धको पहिलो लालिगा खेलमा दुबै जना गोल गर्न असफल भएका थिए। यद्यपि बार्सिलोनाले खेल १-० ले जितेको थियो। १० अप्रिल २०१० मा भएको दोस्रो लालिगा भेटमा पनि रोनाल्डोको टिम मड्रिड बार्सिलोनासँग २-० हारेको थियो। उक्त खेलमा मेस्सीले ३३औँ मिनेटमा गोल गरेका थिए।

त्यसपछि रोनाल्डो र मेस्सीको भेट २९ नोभेम्बर २०१० को लालिगा खेलमै भएको थियो। यस खेलमा पनि रोनाल्डोले मेस्सीसँग लज्जास्पद ५-० को हार व्यहोरेको थियो। क्याम्प नोउमा भएको उक्त खेलमा २-० ले पछि परेको अवस्थामा रोनाल्डोले आवेशमा आएर बार्सिलोनाका प्रशिक्षक पेप ग्वार्डिवलालाई धकेले पछि खेल मैदान युद्ध मैदानमा परिणत भएको थियो। यस खेलमा खेलाडीहरु पटक-पटक शारीरिक घम्साघम्सीमा उत्रिएका थिए। मेस्सीले टोलीका लागि २ एसिस्टसहित उत्कृष्ट प्रदर्शन गरेको उक्त खेललाई ऐतिहासिक एलक्लासीको मानिन्छ। किनभने यस खेललाई स्पेनका तत्कालीन प्रधानमन्त्री जोसे लुइस रोड्रिगेज जपाटेरोले समेत चासो दिएका थिए। उनी स्वयंले खेल बार्सिलोनाले ४-२ ले जित्ने अनुमान लगाएका थिए। राष्ट्रिय टिमका तर्फबाट मेस्सी र रोनाल्डोको पहिलो भेट ९ फेब्रुअरी २०१० मा मैत्रीपूर्ण खेलका लागि भएको थियो। उक्त खेलमा दुबै जनाले समान एक-एक गोल गर्दा खेल मेस्सी सम्मिलित अर्जेन्टिनाले २-१ ले जितेको थियो।

मेस्सीसँग लगातार ६ खेलमा पराजित भएका रोनाल्डोको मेस्सीसँग अर्को भेट १६ अप्रिल २०११ मा लालिगा खेलमा भएको थियो। रियलको मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा मेस्सी र रोनाल्डो दुबैले पेनाल्टिमा समान एक गोल गर्दा खेल १-१ कै बराबरीमा सकिएको थियो। उक्त खेलको ४ दिनपछि मेस्सी रोनाल्डोको भेट सोही मैदानमा कोपा डेल रेको खेलका लागि भएको थियो।

रोनाल्डोले १०३औँ मिनेटमा गरेको एकमात्रै गोलको मद्दतले रियले बार्सिलोनालाई हराएको थियो। उक्त जीत मेस्सी माथि रोनाल्डोको ३ वर्ष पछिको पहिलो जीत थियो। कोपा डेल रे खेलेको ७ दिन लगत्तै मेस्सी रोनाल्डो च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको लागि बेर्नाबेउमै आमनेसामने भएका थिए। उक्त खेलमा मेस्सीले २ गोल गर्दै बेर्नाबेउ चुपचाप बनाइदिएका थिए।

पहिलो लेग २-० ले गुमाएका रोनाल्डो दोस्रो लेगमा मेस्सीको सामना गर्न ३ मे २०११ मा क्याम नोउ पुग्छन्। उक्त खेलमा दुबैले गोल गर्न सकेन र खेल १-१ को बराबरिमा सकिएको थियो। १४ अग्स्ट २०११ मा कोपा डेल रेको पहिलो सेमिफाइनल रियलको घर बेर्नाबेउमा भएको थियो।

मेस्सीले १ गोल गरेको उक्त खेल २-२ को बराबरीमा टुङ्गिएको थियो। दोस्रो लेग खेल्न क्याम्प नोउ पुगेका रोनाल्डो ३-२ ले हारेका थिए। उक्त खेलमा रोनाल्डोले १ र मेस्सीले २ गोल गरेका थिए। रोनाल्डो मेस्सीको १३औँ भेट २०११ को अन्त्य तिर भएको थियो। डिसेम्बर १० बेर्नानेउमा भएको लालिगा खेलमा दुबै जनाले गोल गर्न सकेनन्, तर खेल बार्सिलोनाले ३-१ ले जितेको थियो।

मेस्सी रोनाल्डोको १४औँ भेट २०१२ को सुरुमै हुन पुग्यो। जनवरी १८ मा कोपा डेल रे पहिलो सेमिफाइनल लेग बेर्नाबेउमा भएको थियो र उक्त खेलमा रोनाल्डोले १ गोल गरेपनि बार्सिलोनासँग २-१ ले हारेको थियो। दोस्रो लेग क्याम्प नोउमा रोनाल्डोको १ गोलको सहायताले खेलमा२-२ को बराबरी भएको थियो। २१ अप्रिलमा भएको लालिगा खेलमा पनि रोनाल्डोले १ गोल गरेपनि टिमलाई २-१ को हारबाट जोगाउन सकेनन्।

मेस्सी रोनाल्डोको १७औँ भेट स्पेनिस सुपर कप पहिलो सेमिफाइनल लेगको खेलमा क्याम्प नोउमा भएको थियो। उक्त खेलमा मेस्सी रोनाल्डो दुबैले समन १-१ गोल गर्दा बार्सिलोनाले ३-२ जितेको थियो। बेर्नाबेउमा भएको दोस्रो लेगमा मेस्सी रोनाल्डोले समान १-१ गोल गर्दा रियलले खेल २-१ ले खेल जितेको थियो। अवे गोल धेरै भएको कारण रियलले फाइनलको यात्रा तय गरेको थियो। अक्टोबर ७ मा भएको लालिगा खेलमा दुबै जनाले समान २/२ गोल गर्दा खेल २/२ कै बराबरिमा सकिएको थियो।

मेस्सी रोनाल्डोको २०१३ को पहिलो लडाइँ जनवरी ३० मा कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेग खेलमा बेर्नाबेउमा भएको थियो। मेस्सी रोनाल्डो गोलविहीन रहेको उक्त खेल १-१ को बराबरीमा सकिएको थियो। दोस्रो लेग खेल्न क्याम्प नोउ पुगेका रोनाल्डोले २ गोल गर्दै टिमलाई ३-१ को जित दिलाए। २ मार्चमा उनीहरुबीच २८औँ भेट भएको थियो र यो खेलमा मेस्सीले १ गोल गरेपनि २-१ को हार टार्न सकेनन्। २७ अक्टोबरमा भएको लालिगाकै अर्को खेलमा बार्सिलोना २-१ ले विजयी भएको थियो।

२३ मार्च २०१४ को लालिगा खेलमा मेस्सीले रियलको मैदान बेर्नाबेउ पुगेर सान्दार  ह्याट्रिक हानेका थिए भने रोनाल्डोमात्रै १ गोलमा सीमित थिए। उक्त खेल बार्सिलोनाले ४-३ ले जितेको थियो। २५ अक्टोबरमा भएको लालिगा खेलमा रोनाल्डोको १ गोलको मद्दतले रियलले बार्सिलोना माथी ३-१ जित दर्ता गरेको थियो। १८ नोभेम्बर मेस्सी र रोनाल्डो दोस्रो पटक राष्ट्रिय टिमका लागि आमनेसामने भएका थिए। मैत्रीपूर्ण उक्त खेल रोनाल्डोले १-० ले जितेका थिए।

२०१५ को पहिलो खेल २२ मार्चमा लालिगाको भएको थियो। उक्त खेलमा रोनाल्डोले १ गोल गरेपनि २-१ को हार टार्न सकेनन्। नोभेम्बर २१ मा भएको अर्को लालिगा खेलमा रियलको मैदान बेर्नाबेउमा बार्सिलोनाले ४-० को सानदार जित दर्ता गराएको थियो। त्यस्तै २ अप्रिल २०१६ मा बहेको लालिगा खेलमा रोनाल्डोको टोलिले २-१ ले जितेको थियो भने ३ डिसेम्बरमा भएको लालिगा खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।

२३ अप्रिल २०१७ को लालिगा खेल रियलको घरेलु मैदानमा भएको थियो। उक्त खेलमा मेस्सीले २ गोल गर्दै ३-२ को जित दर्ता गराएका थिए। खेलको अन्तिम समय ९२औँ मिनेटमा गरेको गोल मेस्सीको खेल जीवनको ५ सयौँ गोल थियो १३ अगस्टमा भएको स्पेनिस सुपरकपको खेलमा मेस्सी र रोनाल्डोले समान १/१ गोल गर्दा खेल रियलले ३-१ ले जितेको थियो। २३ डिसेम्बरको लालिगा खेलमा मेस्सीले १ गोल गर्दै टिमलाइ ३-० जित दिलाएका थिए।

मेस्सी र रोनाल्डोको अन्तिम भेट ७ मे २०१८ मा लालिगा खेलमा भएको थियो। उक्त खेलमा दुबैले समान १/१ गोल गर्दा खेल २-२ को बराबरीमा टुङ्गिएको थियो।

समग्रमा मेस्सी र रोनाल्डोले कुल ३४ पटक एक अर्का विरुद्ध खेलेका छन्। तीमध्ये १८ लालिगा, ४ च्याम्पियन्स लिग, ५ कोपा डेल रे, ५ स्पेनिस सुपरकप र २ मैत्रीपूर्ण खेलहरुमा आमनेसामने भएका छन्। ३४ खेलमा मेस्सीले रोनाल्डोले भन्दा दोब्बर बढी १६ खेल जितेका छन् भने रोनाल्डोले ९ खेल जीतेका छन् र ९ खेल बराबरीमा सकिएका छन्। ३४ खेलमा मेस्सीले २२ गोल गरेका छन् भने रोनाल्डोले १९ गोल गरेका छन्। च्याम्पियन्स लिग किङको उपनाम पाएका रोनाल्डोले अहिलेसम्म च्याम्पियन्स लिगमा मेस्सीविरुद्ध गोल गर्न सकेका छैनन् भने मेस्सीले रोनाल्डोविरुद्ध ३ गोल गरेका छन्।

लालिगामा मेस्सीले रोनाल्डोलाई १० चोटि हराएका छन् भने रोनाल्डोले मात्रै ४ खेलमा मेस्सीलाई हराएका छन्। मेस्सीले रोनाल्डोलाई च्याम्पियन्स लिगमा २ चोटि हराएका छन् भने रोनाल्डोले मेस्सीलाई १ चोटि हराएका छन्। स्पेनिस सुपरकपमा रोनाल्डोलाई २ चोटि हराएका मेस्सी रोनाल्डोसँग पनि २ चोटि नै हारेका छन् र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दुबैले एक अर्काविरुद्ध १/१ खेल जितेका छन्। यस तथ्यलाइ हेर्ने हो भने रोनाल्डो र मेस्सीबीच भएका एक अर्काविरुद्धका खेलमा मेस्सी सधैं अगाडि रहेको तथ्य प्रष्ट छ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट