एजेन्सी- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६० लाखभन्दा माथि पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल संक्रमित संख्यामा झण्डै एक चौथाइ हो।
अमेरिकामा दश लाख संक्रमित एक महिनाभन्दा कम समयमा थपिएको विवरणहरूमा देखिन्छ। पछिल्ला दिनमा दैनिक वृद्धिका घटना घट्दोक्रममा देखिए पनि अमेरिका संक्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ। २१ ज्यानुअरीमा पहिलो संक्रमण पुष्टि भएको अमेरिकामा अहिलेसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ।
बीबीसीका अनुसार सङ्क्रमितको दश लाख सङ्ख्या २८ एप्रिल अर्थात् ९९ दिनमै पुगेको थियो। र, त्यसको ४३ दिनपछि सङ्क्रमितको सङ्ख्या दोबर भएको थियो। ३० लाख सङ्क्रमित अर्को २८ दिनमा पुगेका थिए। त्यसपछिको अर्को १५ दिनमा त्यो ४० लाख पुगेको थियो। त्यसको १६ दिनमा पचास लाख र अर्को २२ दिनमा सङ्क्रमण ६० लाखभन्दा बढीमा पुष्टि भयो।
विश्वमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या साढे दुई करोड नाघ्दा कोभिड-१९ भएर ज्यान गुमाउनेको सङ्ख्या आठ लाख ४६ हजारभन्दा बढ्ता पुगेको छ। तर, वास्तविक सङ्ख्या निकै धेरै हुनसक्छ। किनकि सङ्क्रमण भएर पनि लक्षण नदेखिएका कैयौँ मानिसहरूले कहिल्यै परीक्षण नै नगराएका हुन सक्छन्।