काठमाडौं- काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ। कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार छलफल भएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीका अनुसार यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ छलफल भएको छ। मोडालिटी तय गरेपछि बुधबार थप निर्णय हुन्छ।
पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय आज मध्यरातिबाट सकिँदैछ। उपत्यकामा कोरोना संक्रमण बढेपछि गत ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो। सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो।