जुम्लामा समुदायस्तरमै फैलियो कोरोना, कैदीबन्दीसहित ३९ जना थपिए संक्रमित-Sutra News

जुम्लामा समुदायस्तरमै फैलियो कोरोना, कैदीबन्दीसहित ३९ जना थपिए संक्रमित

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

जुम्ला– जुम्लामा कोरोना संक्रमितको संख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ। समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा संक्रमण देखिएको हो।



जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए।

त्यसैगरी तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका कर्मचारी एक, कृषि कार्यालयका एक गरी ३९ जनामा कोरोना संक्रमण देखिएको हो।

थप ३९ सहित सक्रिय संक्रमितको संख्या जुम्लामा ८७ पुगेको छ। डा.रावलले भने, ‘धेरैजसो जुम्लाको चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले यहाँको सदरमुकाम खलङ्गा उच्च जोखिममा रहेको छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ गरी ३२ जना डिस्चार्ज भएका छन्। जुम्लामा कोरोना संक्रमित निको हुनेको संख्या १४१ पुगेको छ।

संक्रमितलाई पुनः परीक्षण गरिएन

स्वाब परीक्षणमा कोरोना संक्रमित पुष्टि भएका व्यक्तिलाई पुनः परीक्षण नै नगरी घर पठाउने गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेको नौ सङ्क्रमतिलाई पुनः परीक्षण नै नगरी १४ दिनपछि घर पठाइएको हो।

चौध दिनपछि आइसोलेसनबाट घर पठाइएका व्यक्तिले पुनः परीक्षण नै नगरी प्रमाणपत्र हातमा थमाएर घर पठाइएको प्रतिक्रिया दिएका छन्। उनीहरु भन्छन्, ‘हामीलाई अब कोरोना संक्रमण छ वा छैन कुनै जानकारी हुन सकेन।’ चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पिसीआर परीक्षण गर्नु पर्दैन भनेर निर्देशिका पठाएको प्रतिक्रिया दिए। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट