रोल्पा बन्यो ‘कोरोना संक्रमित शून्य’ जिल्ला-Sutra News

रोल्पा बन्यो ‘कोरोना संक्रमित शून्य’ जिल्ला

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

रोल्पा- जिल्लामा कोरोना संक्रमित शून्य भएको छ। देशैभर कोरोना संक्रमित समुदायस्तरमै बढिरहेका बेला रोल्पामा भने कोरोनाको सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ। पछिल्लोपटक अस्थायी आइसोलेशन केन्द्रमा बस्दैआएका तीन जना घर फिर्ता भएसँगै जिल्लामा सक्रिय संक्रमित संख्या शून्य भएको हो।



जिल्लामा हालसम्म देखापरेका संक्रमित ८३ मध्ये ७८ जना कोरोना जितेर आइसोलेशनबाट फिर्ता भइसकेका छन्। संक्रमितसमध्येका अन्य पाँच संक्रमित भने अन्य जिल्लाका रहेकाले हाल जिल्ला जनस्वास्थ्यको सम्पर्कमै नरहेको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका प्रमुख अनिल केसी बताउँछन्।

उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिए पनि अझैसम्म जिल्लाको आइसोलेशनमा आइनपुगेकाले जिल्लाको कोरोनाको सक्रिय संक्रमित संख्या शून्य देखिएको हो। क्वारेन्टिनमा बसेका बखत आत्महत्या गरेका एक जनाको रिपोर्ट पोजेटिभ देखिएका कारण जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक देखिएको छ।

‘रोल्पालाई कोरोनामुक्त जिल्ला भन्न मिल्दैन, जिल्लाको क्षेत्रभित्र कोरोना पोजेटिभ नभए पनि जिल्ला बाहिर रहेका रोल्पाली कोरोना संक्रमित हुनसक्ने भएकाले कोरोनामुक्त नभई कोरोना शून्य भएको अवस्था चाहिँ भन्न सकिन्छ’ प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने, ‘स्वाब परीक्षणका लागि केही नमूना पठाइएको हुँदा त्यसको पोजेटिभ रिपोर्ट आउनसक्ने सम्भावना नकार्न सकिँदैन।’

कोरोना सक्रिय संक्रमितका लागि जिल्लामा ७८ शश्याको आइसोलेशन केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको छ। जलजला बहुमुखी क्याम्पसमा रहेको सो आइसोलेशन सञ्चालनका लागि जिल्लाका दशवटै स्थानीय तह र प्रदेश सरकारका साथै सर्वसाधारणले समेत आर्थिक भौतिक सहयोग गरेका थिए। जिल्ला कोराना शून्य रहे पनि सरकारको निर्देशन नहुँदासम्म आइसोलेशन केन्द्र कायमै रहने स्थानीय प्रशासनको भनाइ छ।

भारत तथा अन्य मुलुकका साथै देशको विभिन्न जिल्लाबाटसमेत रोल्पा आवतजावत भइरहेको हुँदा जुनसुकै बेला कोरोना संक्रमित देखिन सक्छन्। गत जेठ १ गतेदेखि हालसम्म भारतबाट दुई हजार ३७९ र तेस्रो मुलुकबाट २६१ जना रोल्पा भित्रिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

यसरी भित्रनेमध्ये सबैभन्दा धेरै सुनिल स्मृति गाउँपालिकामा ७ सय ४७ जना भारतबाट र पाँच जना तेस्रो मुलुकबाट छन् भने सबभन्दा कम थवाङ गाउँपालिकामा भारतबाट २० र तेस्रो मुलुकबाट २४ जना छन्। जिल्लामा हालसम्म दुई हजार ४ सय ८१ जनाको स्वाब सङ्कलन गरिएकामा दुई हजार ४०८ जनाको स्वाब परीक्षण गरिएको छ। हाल जिल्लाका विभिन्न स्थानमा ९७ श्ययासहितको २२ स्थानमा क्वारेन्टिन छन्। रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट