काठमाडौं- सदाझैँ हरि शाही आफ्नो रिक्सा कुदाउँदै रत्नपार्क आइपुगे। रिक्सा रत्नपार्कस्थित पुरानो बसपार्कको एउटा कुनामा लगेर राखे। अनि सोही ठाउँमा खाना खानलाई लामबद्ध भएर बसे।
‘दोकानहरु सबै बन्द छन्, हामीलाई पेट भर्न साह्रै ग्राहो छ। उहाँहरुले जस्तो ल्याउनुहुन्छ, त्यस्तै खान्छु, मलाई त मिठो लाग्छ,’ उनी भन्छन्।
हरि शाहीले यसरी पुरानो बसपार्कमा खाना खान थालेको दुई हप्ता भइसकेको छ। दुई हप्तादेखि कोठा पनि गएका छैनन् उनी। आफ्नो सुत्ने ठाउँ रिक्सालाई नै बनाएका छन् उनले।
दिनभरि यात्रुको पर्खाइमा यता-उता दौडिरहन्छन् उनी। कहिले वीर अस्पताल अगाडि त कहिले न्युरोड पुग्छन्। सुन्धारा, रत्नपार्क वरिपरि यात्रु पर्खिदा-पर्खिदै उनको दिन जान्छ। ‘केही कमाइ हुन्छ कि भनेर कोठाबाट निस्किए। लकडाउन रहेछ। कमाइ पनि भएन, कोठा पुग्दा रोग ल्यायो भनेर पस्न दिएन,’ उनले दुखेसो पोखे।
बर्खायामको समय। पानी परेका बेला रिक्सामै रात कटाउन कम्ता गाह्रो हुँदैन उनलाई। ‘पानी परेर के गर्नु? सुत्न त पर्यो, ओढ्ने कुरा पनि छ। कहिलेकाहीँ पानीले आधा शरीर भिजेको हुन्छ। मलाई यो रोगले भन्दा पनि भोक र पानीले पो सिध्याउँछ कि जस्तो लाग्छ, यस्तै सोचेर होला राति निद्रै लाग्दैन।’
रात कटाउन उनी कहिले वीर अस्पताल नजिकै त कहिले वसन्तपुर, असन छेउछाउँ रिक्सा तेर्स्याउँछन्।
सात महिनाअघि मात्रै उनले ६५ हजारमा ‘सेकेण्ड ह्यान्ड’ रिक्सा किनेका रहेछन्। बीस वर्षदेखि रिक्सा चलाइरहेका उनले पैसाका लागि कहिल्यै मरिहत्ते गरेनन्। उनी सुनाउँदै थिए, ‘एकदिन क्षेत्रपाटीबाट एकजना बुढी आमै चढ्नु भएछ। रत्नपार्कसम्म पुर्याउन भन्नुयो। ओर्लिने बेला उहाँले ५० रुपैयाँमात्र छ भन्नुभयो। त्यो दिन उनको बोहनी पनि भएको थिएन, न त गोजीमा पैसा नै। अघिल्लो रात उनी भोको पेट सुतेका रहेछन्।
‘धेरै भोक लागेको थियो। बुढी आमैले भाडा दिनुहोला र केही खाउला सोचेको थिएँ। तर ती आमैसँग ५० रुपैयाँमात्र रहेको सुनेपछि भाडा लिन मन लागेन। सोँचे उनी कसरी फर्केर जालान्। बसपार्कतिर खाना खुवाउँछ रे भनेर उनले सुनेका रहेछन्। केही खान पाइन्छ कि उनी त्यतै कुदे। ‘बसपार्कमा धेरै जना खाना खाइरहेको देखेँ। र, भोको पेट लिएर म पनि त्यही लाममा बसे।’
उनीसँग जिज्ञासा लागेर सोधेँ- आजकल यात्रुहरु पाइन्छन् त?
‘रोगको डरले होला रिक्सामा कोही चढ्नै मान्दैनन्। एकदिन वीर अस्पतालअघि एक जना गर्भवती महिलाले प्रसुती गृह थापाथली पुर्याइदिन आग्रह गरिन्। सहिदगेट, त्रिपुरेश्वर हुँदै थापाथली लैजाँदै थिएँ। उहाँलाई बाटोमै व्यथा लागेछ। थापाथली घुम्तीमा पुगेपछि ती गर्भवती महिलाले रिक्सामै बच्चा जन्माइन्,’ निषेधज्ञाबीच भएको एउटा घटना सुनाए उनले।
श्रममा विश्वास गर्ने उनी सरकारप्रति केही गुनासो गर्दैनन्। ‘हामीजस्तो वर्ग मजदुरी गरेर दुई छाक टार्ने हो। यो बुढ्यौली उमेरसम्म आइपुग्दा त सरकारले केही सहयोग गरेको छैन भने योबेला सहयोगको अपेक्षा के नै गर्न सकिन्छ र?,’ उनी प्रश्न गर्छन्।