काठमाडौं- विसं २०५८ सम्म नेपाली सिनेमामा निर्देशकको रुपमा महिलाको प्रवेश भएको थिएन। नेपालमा सिनेमाको विकास हुन सुरु भएयता कहिल्यै पनि महिलाले चलचित्रको निर्देशनमा हात हालेका थिएनन्। गरेका थिए त केवल, सिनेमाको पर्दामा अभिनय। पर्दा पछाडि रहेर चलचित्रको निर्माणमा कहिल्यै पनि उनीहरुको सहभागिता थिएन।
तर, ०५८ सालमा जब सुचित्रा श्रेष्ठले ‘प्रेम युद्ध’ सिनेमाको निर्देशन गरिन्, नेपाली सिनेमाले पहिलोपल्ट महिला निर्देशक पायो। पत्रकारिताको पृष्ठभूमिबाट सिनेमाको निर्देशनमा प्रवेश गरेकी थिइन् उनी। चलचित्रको निर्माण हुँदा कलाकार महिला हुन्थे, यसपटक निर्देशक महिला थिइन्। पर्दामा देखिने महिला कलाकारहरु त पहिला पनि हुन्थे, तर अभिनयबाहेकको पाटोमा प्रायः पुरुष नै हुन्थे।
‘म आफैँलाई थाहा थिएन, म पहिलो महिला सिनेमा निर्देशक हुँ भन्ने कुरा,’ सुचित्रा भन्छिन्, ‘सुटिङको १६औं दिनमा मात्रै म पहिलो रहेछु भन्ने थाहा भयो।’
बिसं २०५८ बाट अहिले २०७७ सम्म आइपुग्दा नेपाली सिनेमामा महिला निर्देशकको रुपमा केही नामहरु देखिन्छन्। केही महिला निर्देशकहरुले सक्रियरुपमा सिनेमा निर्माण गरेर आफ्नो परिचय स्थापित गरिसकेका छन्। आफूलाई निर्देशकको रुपमा उभ्याएर व्यवसायिक उचाइ चुम्न सफल महिला निर्देशकको सूचीमा भने दीपाश्री निरौला र झरना थापाको नाम अंग्रपक्तिमा आउँछ।
उनीहरुसँगै पूजा गुरुङ, दीपा बस्नेत, सम्झना रौनियार, संगीता श्रेष्ठ, सबनम मुखिया, रेनेसा बान्तावा राई, रेखा थापालगायतले पनि फिल्म निर्देशन गरेका छन्। केही यस्ता नामहरु पनि छन्, जो आए अनि हराए। दीपाश्रीले ‘छक्का पञ्जा’को तीन शृङ्खला, सबनम मुखियाले ‘जुबिनाइल’ र ‘लखपति माग्ने’, पूजा गुरुङले ‘डाड्या’, दीपा बस्नेतले ‘अन्तराल’ र ‘श्री पाँच अम्बरे’, झरना थापाले ‘ए मेरो हजुर १’ र ‘ए मेरो हजुर २’, सम्झना रौनियारले ‘फागु’ र मेघा’, रेनेशा बान्तावाराईले ‘इन्टु मिन्टु लण्डनमा’ र रेखा थापाले ‘हिम्मतवाली’को निर्देशन गरेका छन्।
‘महिला निर्देशक हुँदा उनीहरुका कतिपय कुरालाई बेवास्ता गरेको, दबाउन खोजेको, महिलाका कुराहरुलाई स्वीकार्न गाह्रो मानेको जस्तो देखिन्छ। यसमा हाम्रो स्थापित सामाजिक संरचना पनि हाबी भएको हुनुपर्छ।’
के महिलामैत्री छ फिल्म क्षेत्र?
महिला निर्देशकका रुपमा पहिलोपल्ट सिनेमा निर्देशन गर्दैगर्दा सुचित्राले छायांकनको दौरान कहिल्यै पनि ‘महिला निर्देशक’ भन्ने व्यवहार महसुस गरिनन्। त्योबेला क्यामेराम्यानको रुपमा दीर्घ गुरुङ थिए। कलाकारको रुपमा श्रीकृष्ण श्रेष्ठ, पूजा मैनाली, सञ्चिता लुईँटेल, शुभद्रा अधिकारी, आनन्द थापालगायत थिए।
‘मैले पहिलोपटक चलचित्रको निर्देशन गर्दा चलिचत्रको युनिटमा सबैबाट मलाई सहयोग भयो,’ सुचित्रा सम्झिन्छिन्, ‘आफूलाई महिलाले निर्देशनमा आउँदा अफ्ठयारो नपर्नेजस्तो पनि लाग्यो।’
लामो समयसम्म पुरुषले प्रतिनिधित्व गरेको सिनेमा क्षेत्रमा पहिलोपटक महिला आउँदा कतिपय कुराहरु अस्वभाविक नै थिए। नेपालमा सिनेको निर्माण सुरु भएयता महिलाले निर्देशनमा हात हालेका थिएनन्।
‘पहिलोपटक महिला आउँदा केही अस्वभाविक हुनु स्वभाविक नै हो,’ सुचित्रा भन्छिन्, ‘तर, समग्रमा मलाई फिल्ममा काम गर्दा अप्ठ्यारो भएन्। तर, फिल्म प्रर्दशन गर्ने बेलामा भने अप्ठ्यारो महसुस भयो।’
सुचित्राको पहिलो चलचित्र ‘प्रेमयुद्ध’लाई पर्दशनमा पठाउने बेला केही वितरकहरुले ‘केटी मान्छेले निर्देशन गरेको फिल्म हामी चलाउँदैनौं’ जस्ता टिप्पणी गरेका कुरा उनको कानमा अझै गुन्जिन्छन्।
उनलाई लाग्छ, अहिलेको अवस्था पहिलेको जस्तो छैन। उनी भन्छिन्, ‘अहिले महिलालाई पनि निर्देशनमा आउन केही सहज छ। मैले सुरुवातमा निर्देशन गर्दाको जस्तो अवस्था अहिले छैन।’
विसं २०७५ सालमा प्रर्दशनमा आएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ की निर्देशक रेनेशा बान्तावा राईको मत पनि सुचित्रासँग मिल्छ। ‘अहिले महिला निर्देशकलाई सिनेमा निर्देशन गर्दा पहिलेजस्तो असहज छैन। सिनेमा क्षेत्र महिलामैत्री छ,’ उनी भन्छिन्।
रेनेशाको अनुभवमा चलचित्र क्षेत्रमा महिलाका लागि केही चुनौती भए पनि सक्रिय रहेका महिला निर्देशकहरुले एकअर्कालाई साथ र सहयोग नै गरेर अघि बढिरहेका छन्। अर्कातिर, व्यापारिक पक्षबाट हेर्दा पनि महिला निर्देशकहरुले निर्देशन गरेका चलचित्रले राम्रो कमाइ गरेका देखिन्छ।
‘हामी महिलाले निर्देशन गरेका चलचत्रिले व्यापार राम्रो गरेका छन्’, रेनेशा भन्छिन्, ‘त्यसैले पनि निर्मातादेखि चलचत्रिकर्मीहरुले महिला निर्देशकलाई विश्वास गरेका छन्।’
आफूले कतिपय अवस्थामा चलचित्र क्षेत्रमा पुरुषमा अहम् हाबी भएको महसुस गरेकी छिन् रेनेशा। चलचित्रको निर्देशकमा महिला भए पनि अन्य प्राविधिकदेखि पटकथा लेखेनमा पुरुष नै भएका देखिन्छन्।
‘महिला निर्देशक हुँदा उनीहरुका कतिपय कुरालाई बेवास्ता गरेको, दबाउन खोजेको, महिलाका कुराहरुलाई स्वीकार्न गाह्रो मानेको जस्तो देखिन्छ,’ रेनेशा भन्छिन्, ‘यसमा हाम्रो स्थापित सामाजिक संरचना पनि हाबी भएको हुनुपर्छ।’
प्रर्दशनमा आउन बाँकी दुई चलचित्र ‘जुभिनाइल’ र ‘लखपति माग्ने’की निर्देशक सबनम मुखिया महिला निर्देशकलाई नेपाली सिनेमा क्षेत्रमा चलचित्र निर्देशन गर्न गाह्रो नभए पनि कतिपय अन्य कुराहरुमा भने गाह्रो भएको बताउँछिन्। उनी भन्छिन्, ‘महिलालाई निर्देशन नै गर्न गाह्रो त छैन। तर, कतिपय कुराहरुमा केही असहजता भएको देखिन्छ।’
समाजमा नै महिलालाई कमजोररुपमा हेरिन्छ। सिनेमा क्षेत्रमा पनि कतै कतै त्यो कुरा हाबी भएको हो किजस्तो मान्छिन् उनी। भन्छिन्, ‘सिनेमा बनाउने टिममा बढी मात्रामा पुरुषकै उपस्थिति हुन्छ। कलात्मक पक्षमा केही महिला होलान्। तर, बाहुल्यता पुरुषकै हुन्छ। त्यसले गर्दा केही असहजता उत्पन्न भएको देखिन्छ।’
सबनम आफूले चलचित्रको निर्देशन गर्दा पनि ‘महिलाले कसरी गर्नुहुन्छ?’ भन्ने प्रश्न उठ्ने गरेको बताउँछिन्। ‘फिल्म बनाउन सुरु गर्दा यो कुरा उठेको थियो। पछि काम देखेपछि प्रश्न सोध्नेहरुले आफैँ जवाफ पनि पाउनुभयो होला,’ उनले भनिन्।
त्यस्तै, ‘फागु’ र ‘मेघा’ चलचित्र निर्देशन गरेकी सम्झना रौनियार महिलामा पनि खुबी र ज्ञान छ भने निर्देशनमा आउनलाई अप्ठ्या रो नभएको तर्क गर्छिन्। ‘यो क्षेत्रमा कसैले कृपादृष्टि गरेर आफू सफल हुने होइन, काम गर्नुपर्छ। काम गर्नको लागि यो क्षेत्र महिलामैत्री छ,’ उनले भनिन्।
व्यापारमा सबल, तर प्रस्तुती?
अहिले नेपालमा सक्रियरुपमा काम गरिरहेका महिला निर्देशकहरुले बनाएका सिनेमाहरु व्यापारिक हिसाबमा सफल छन्। निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेका ‘छक्का पञ्जा’ सिरिजका सबै सिनेमा व्यापारिक हिसाबले हिट छन्। त्यस्तै, झरना थापा निर्देशित ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ले पनि व्यापारिक हिसाबमा सफलता नै पाएका थिए। अन्य महिला निर्देशकहरुले निर्देशन गरेका चलचत्रिहरुले पनि राम्रै चर्चा कमाए। केहीले व्यापारिक पक्षलाई बलियो बनाउन नसके पनि चर्चा भने कमाएका देखिन्छन्।
व्यापारिक पक्षमा अब्बल भए पनि महिला निर्देशकले निर्देशन गरेका कतिपय सिनेमामा महिलालाई वस्तुकरण नै गरेको पाइन्छ। दिपाश्रीले निर्देशन गरेका ‘छक्का पञ्जा’ सिरिजका सम्पूर्ण सिनेमामा नै महिलालाई पुरुषको सहारा बिना अगाडि बढ्न नसक्नेरुपमा प्रस्तुत गरिएको छ। समाजमा स्थापित रहेको मान्यतालाई नै अवलम्बन गर्दै दिपाश्री निर्देशित सिनेमा महिलालाई पुरुषको साहारा नै आवश्यक पर्ने र पुरुष सहारा बिना महिला अगाडि बढ्न नसक्नेरुपमा प्रस्तुत गरिएको छ। दीपाजस्तै सक्रियरुपमा रहेका अन्य महिला निर्देशकहरुका सिनेमामा पनि यो पक्ष कमजोर भएको देखिन्छ।
त्यसो त, महिला निर्देशकले महिलाकै मुद्दालाई मात्रै प्रस्तुत गनुपर्छ वा महिलाकै मुद्दामा मात्रै आधारित भएर सिनेमा निर्माण गर्नुपर्छ भन्ने होइन। तर, मेकअप आर्टिष्ट नै पुरुष भएको समयबाट विकास भएर अहिलेको अवस्थामा आइसकेको नेपाली सिनेमामा पुरानै मान्यतामा आधारित भएर पुरुषकै साहरामा महिला अगाडि बढ्ने कुरालाई नै सिनेमामा प्रस्तुत गरिएको देखिन्छ।
पात्र चयनपछि कलाकारलाई भूमिकाबद्ध बनाउने कुरामा कस्तो भूमिका प्रस्तुत गर्ने भन्ने कुरामा अझै पनि महिलालाई वस्तुकरण नै गरेको देखिन्छ। पुरुष निर्देशकका सिनेमामा त यो कुरा अत्याधिक नै छ भने महिला निर्देशकहरुले बनाएका सिनेमाहरुमा पनि यो कुरा अछुत छैन। आफैँले भोगेका कुराहरुलाई प्रस्तुत गर्दा महिलाले झन् सशक्त र न्यायपूर्णरुपमा प्रस्तुत गरिनुपर्ने हो। तर, त्यो भएको देखिँदैन।
निर्देशक सम्झना उप्रेती रौनियारले आफ्ना दुवै सिनेमा ‘फागु’ र ‘मेघा’मा महिलालाई प्रमुख पात्रको रुपमा प्रस्तुत गरेकी छन्। पात्रको रुपमा प्रमुख स्थान दिएजस्तै प्रस्तुतीकरणमा पनि महिलालाई न्यायपूर्णरुपमा प्रस्तुत गरेकी छन् उनले। उनी भन्छिन्, ‘हामी महिलाले सिनेमा निर्देशन गर्दा पात्रको रुपमा महिलालाई विशेष भूमिका दिन सकिन्छ। भूमिकाबद्ध गर्ने कुरामा समानतालाई प्रस्तुत गर्न सकिन्छ।’
तर, कतिपय अवस्थामा यस्तो नहुनुमा निर्माता हाबी भएको हुनसक्ने सम्झनाको बुझाइ छ। उनी भन्छिन्, ‘चलचित्र निर्देशकले भनेको जस्तै मात्रै पनि हुने होइन। निर्माताले भनेको पनि मान्नुपर्ने हुन्छ। त्यसो हुँदा कतिपय ठाउँमा महिलाले नै निर्देशन गरेका सिनेमामा पनि महिलालाई कमजोर रुपमा प्रस्तुत गरिएको देखिन्छ।’
निर्देशक रेनेशा यस्तो हुनुमा चलचित्र क्षेत्रमा महिला निर्देशक भए पनि फिल्मको लेखन पुरुषले नै गर्ने भएकाले यस्तो भएको हुनसक्ने अनुमान लगाउँछिन्। उनी भन्छिन्, ‘नेपालमा महिला निर्देशक त छन्। तर, महिलाले नै लेखेका सिनेमाहरु कति छन्? महिला नै लेखक नुहँदा पुरुष मनोविज्ञान हाबी भएर लेखिएको कथामा यही कुरा झल्किएको हुन्छ। हामीले यो कुरामा सोच्नुपर्ने देखिएको छ।’
त्यस्तै, निर्देशक सबनम मुखियाँ चलचित्रमा महिला वा पुरुष, निर्देशकको रुपमा जो-सुकै भएपछि पात्रहरुलाई समान रुपमा न्याय गरिनुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘चलचत्रिमा निर्देशक को हो भन्दा पनि महत्वपूर्ण कुरा चलचित्रमा कसरी पात्रहरुलाई प्रस्तुत गरिएको छ भन्ने कुरा हो। यसमा महिला र पुरुष दुवैलाई समानरुपमा प्रस्तुत गरिनुपर्ने हुन्छ।’
सबनमका अनुसार चलचित्रको स्क्रिप्ट पढिरहँदा एउटा कुराको कल्पना गरे पनि सबै काम सकिएर सिनेमाको रुपमा आउँदा त्यसमा कति कुराहरुमा कमजोरी भएको देखिन्छ। ‘स्क्रिप्ट एउटा हुन्छ। तर, सिनेमा बनेर आउँदा अर्कै भइदिन्छ,’ उनी भन्छिन्, ‘स्क्रिप्टमा महिलालाई बलियो देखाइएको भए पनि चलचत्रिको रुपमा आउँदा त्यहाँ महिला कमजोररुपमा चित्रण भइसकेकी हुन्छे।’
यी कुराहरुमा महिला निर्देशकले ध्यान दिन आवश्यक रहेको सबनम बताउँछिन्। सबनम भन्छिन्, ‘हामी महिला निर्देशकले आफूले काम गरिरहेका सिनेमामा महिलालाई कमजोर देखाउने दृश्य छन्, उनीहरुलाई दबाइएका दृश्य छन् भने त्यसमा अरु ‘प्लट’ हालेर महिलालाई संघर्षपछि उठेको देखाउन आवश्यक हुन्छ।’
निर्देशक सुचित्राले आफ्नो पहिलो फिल्म ‘प्रेम युद्ध’मा महिला पात्रले संघर्षपछि उठेको दृश्य देखाएकी छन्। उक्त सिनेमामा एक दृश्य छ, जहाँ सासुले बुहारीमाथि छोराले गरेको दमनको बदलामा आफूले आवाज उठाएर कदम चालेकी छन्। तर, अहिलेका सिनेमामा भने महिलालाई न्याय गरेर, महिलालाई उठान गरेर, महिला पात्रलाई न्याय गरेर सिनेमा निर्माण नभएको देख्छिन् उनी। भन्छिन्, ‘त्यो बेला मैले त्यो दृश्य देखाएकी थिएँ। अहिले सिनेमा बन्छन्, तर त्यसमा पनि महिला पात्रलाई कमजोर नै देखाइएको हुन्छ।’
यसो हुनुमा चलचित्र लेखनदेखि निर्माणमा बढी मात्रामा पुरुष सहभागिता हुनु कारण हुनसक्ने सुचित्राको बुझाइ छ। एउटा सिनेमा निर्माण गरिरहँदा निर्देशकको रुपमा महिला भए पनि उनीहरुले निर्देशन गर्ने सिनेमा पुरुषले लेखेका हुन्छन्। पर्दा अगाडि कलाकारमा महिला र पुरुष नै भए पनि पर्दा पछाडि अहिले पनि प्रायः पुरुषकै बाहुल्यता छ। ‘टिममा सिनेमा लेख्ने पनि पुरुष, प्राविधिकहरु पनि पुरुष नै। अनि निर्देशकचाहिँ महिला भए पनि त्यो अवस्थामा उसले आफ्नो मनोविज्ञानलाई स्थिर राख्न सक्दिन। त्यहाँ कतै न कतैबाट पुरुष मनोविज्ञान हाबी भइसकेको हुन्छ।’
खोइ नयाँ पुस्ताका महिला निर्देशक?
नेपालमा भएका प्रायः महिला निर्देशकहरु आफ्नै निर्माण गृहबाट निर्मित सिनेमा निर्देशन गर्नेहरु छन्। दीपाश्रीले आफ्नै लगानीमा सिनेमा निर्माण गरिरहेकी छन्। उनको निर्देशनमा रहेका सम्पूर्ण सिनेमालाई ‘दीपक-दीपा’कै समूहले निर्माण गरेको छ। त्यस्तै, झरना थापाले निर्देशन गरेका सिनेमाहरु पनि उनको श्रीमान सुनिल कुमार थापाले निर्माण गरेका छन्।
धेरैजसो महिला निर्देशकहरु आफ्नै निर्माण गृहबाट निर्देशनमा आइरहेको देखिन्छ। तर, नयाँ निर्देशकको उपस्थितिको कुरामा भने महिला निर्देशकको सहभागिता शून्यजस्तै देखिन्छ।
वर्षभरिमा नेपाली सिनेक्षेत्रमा सय हाराहारीमा चलचित्र निर्माण हुने कुरा सुनिन्छ। वर्षभरि आउने सिनेमामा केही पुरुष निर्देशक नयाँ सुनिन्छन् तर, महिला निर्देशकको हकमा भने चलचित्र क्षेत्रमा अपरिचित र नयाँ अनुहार पाउन असम्भवजस्तै देखिन्छ।
महिला निर्देशकले सिनेमामा महिलालाई नै वस्तुकरण गरियो भन्ने कुरा गर्दैगर्दा हाम्रो कथा कसले लेखेको छ, लेखक को छ? भन्ने कुरा पनि हेर्न आवश्यक हुन्छ। महिला निर्देशकमात्रै भएर हुँदैन, महिला लेखक आवश्यक हुन्छ।
निर्देशक सुचित्रा श्रेष्ठ महिला निर्देशकहरुलाई अझै पनि हत्तपत्त विश्वास गर्ने अवस्था सिर्जना नभएकाले यस्तो भएको बताउँछिन्। ‘निर्देशन विधाबाटै सिनेक्षेत्रमा प्रवेश गर्ने कति छन, त्यो औँलामै गन्न सकिन्छ,’ उनी भन्छिन्, ‘होम प्रोडक्सन भएका महिलाहरु धेरै निर्देशक भएका छन्।’
सुचित्राले भनेजस्तै स्वतन्त्ररुपमा र चलचित्र क्षेत्रमा डेब्यु गरेर निर्देशकको रुपमा आउने महिलाहरुको संख्या शून्यजस्तै छ। सुचित्रा भन्छिन्, ‘नयाँ पुस्तामा पुरुष निर्देशकहरु बढी छन्। महिलाको हकमा परिवारका अन्य सदस्यले प्रोडक्सन गर्ने र आफूले निर्देशन गर्ने गरेको देखिन्छ।’
अर्की, निर्देशक सबनम मुखियाँ पनि नयाँ निर्देशकको उपस्थितिमा महिलाको सहभागिता शून्य प्रायः भएको स्वीकार्छिन्। उनी भन्छिन्, ‘नयाँ निर्देशकमा महिलाको उपस्थिति शून्य छ। निर्माताहरुले महिलालाई नपत्याएको जस्तो देखिन्छ।’
चलचित्र निर्माण गर्न आउनेमा केही सिनेमा निर्माण नै गर्छु भन्ने ध्येयले आएका छन् भने केही आफ्नो सोख पूरा गर्न र निर्माताको रुपमा आफूलाई चिनाउन चलचित्र निर्देशनमा आएका छन्। दोस्रो सोचबाट आउने निर्देशकहरुले नाम चलेका निर्देशक वा आफू नजिकका निर्देशकलाई नै चलचित्रको निर्देशन गर्न दिने गरेको देखिन्छ। यसो हुँदा पनि नयाँ महिला निर्देशकको उपस्थितिमा कमी देखिएको सबनम बताउँछिन्।
‘सोख पूरा गर्न र नाम राख्न आउने निर्माताहरुको हकमा महिला निर्देशकहरुलाई विश्वास नगरिएको देखिन्छ,’ उनी भन्छिन्, ‘त्यसमा पनि नयाँ महिला निर्देशकको हकमा यो बढी नै हाबी भएको छ।’
‘महिला निर्देशककै फिल्ममा महिलाको कमजोर चरित्र चित्रण’
सम्पदा मल्ल, फिल्म लेखक
सबैभन्दा पहिलो कुरा महिला निर्देशक हुँदैमा महिलामैत्री सिनेमा बन्नुपर्छ भन्ने होइन। महिला होस् वा पुरुष, एउटा राम्रो निर्देशक हुन आवश्यक छ। महिला हुनेवित्तिकै महिलाको मात्रै सिनेमा बनाउनुपर्छ भन्ने होइन। महिला होस् वा पुरुष, चलचित्रको निर्देशन गर्दा दुवै लैगिंक पात्रहरुलाई समान न्याय गर्न आवश्यक छ।
नेपालका महिला निर्देशकहरुको हकमा उहाँहरुका सिनेमा व्यापारिक (कर्मसियल) चलचित्रहरु हुन्। कमर्सियल पाटोमा जाँदा उहाँहरुले फेरि पुरानै काम गर्नुभयो- महिलालाई वस्तुकरण गर्ने।
निर्देशकले महिलालाई प्रमुख पात्रको रुपमा प्रस्तुत गर्दा उसले दुःख पाएको मात्रै नभएर दुःखबाट उठेको कुरालाई देखाउनुपर्ने हुन्छ। रेखा थापाले यो कदम आफ्नो सिनेमामा चाल्नुभएको थियो। ‘मेघा’ चलचित्रमा पनि सम्झना रौनियारले यो कदम चाल्नुभएको छ। तर, यी सिनेमाबाहेक अन्य सिनेमामा यस्तो कदम कसले चालेको छ? अरु महिला निर्देशकले पनि यो पाइला चाल्न सक्नुभएको छैन।
हरेक पात्र ‘पात्र’ बनेर आउनुपर्छ। भूमिकामा उतारिएको पात्रको ‘क्यारेक्टराइजेसन’ हुनुपर्छ। तर, त्यो भएको छैन। पुरुष निर्देशकको हकमा पनि यो कुरा लागू भएको छ। उनीहरुका निर्देशनमा बनेका सिनेमाहरुमा पनि महिलालाई वस्तुका रुपमा नै चित्रण गर्ने क्रम रोकिएको छैन।
निर्देशक जो-सुकै होस्, पात्रलाई वस्तुकरण गर्नु हुँदैन। महिला र पुरुष दुवै पात्रलाई न्याय गरिनुपर्छ।
अर्कातिर, महिलाले निर्देशन गर्न साथ महिलाकै कुरा आउँछ वा महिला पात्रलाई नै प्रमुखको रुपमा प्रस्तुत गरिन्छ भन्ने सोच्नु हुँदैन। दुवै पात्र हुन्छन्। तर, निर्देशकले सिर्जना गर्दा दुवै पात्रलाई न्याय गरेर प्रस्तुत गर्नुपर्ने हुन्छ। एकपक्षीय भएर प्रस्तुत गर्नु हुँदैन।
हाम्रो सिनेमाको मुख्य कमजोरी अनुसन्धान हो। हाम्रा सर्जकहरुले मिहेनत नै नगरेको जस्तो देखिन्छ। निर्देशकले पात्र चयन गर्दा होस् वा भूमिकाको निर्माण गर्दा, त्यो पात्र र भूमिकामाथि पर्याप्त अनुसन्धान गरेको हुनुपर्छ। तर, यो कुरा हाम्रो सिने क्षेत्रको मुख्य कमजोरी भएको देखिन्छ। अनुसन्धान गरेर समान प्रस्तुती गर्नुपर्ने हो। पात्र आफैँमा पात्र बनेर त्यसमा न्याय गरिनुपर्छ।
महिला निर्देशकले सिनेमामा महिलालाई नै वस्तुकरण गरियो भन्ने कुरा गर्दैगर्दा हाम्रो कथा कसले लेखेको छ, लेखक को छ? भन्ने कुरा पनि हेर्न आवश्यक हुन्छ। महिला निर्देशकमात्रै भएर हुँदैन, महिला लेखक आवश्यक हुन्छ। सिनेमा महिलाले निर्देशन गर्ने भए पनि कथा लेख्ने पुरुष भएर पनि यो भएको हुनसक्छ।
कतिपय अवस्थामा समाजमा स्थापित कुरालाई नै देखाइएको पनि हुनसक्छ। तर, समाजको प्रतिबिम्बको रुपमा देखाइरहँदा त्यहाँबाट पात्रलाई उठाउन पनि आवश्यक हुन्छ। हिन्दी फिल्म ‘क्वीन’ यसको एउटा राम्रो उदाहरण हो।
नेपालका महिला निर्देशकहरुले पनि यो कदम चाल्न सक्नुपर्थ्यो। तर, त्यो गरेको देखिँदैन। उहाँहरुका सिनेमाहरुमा महिलालाई निर्णय लिने अवस्थामा नै पुर्याइँदैन वा भनौं, निर्णय लिन नै दिइँदैन। महिला निर्देशककै फिल्ममा महिलाको चरित्रचित्रण कमजोर पाइन्छ।
तर, त्यसको साटो महिला पात्रलाई सहयोगी र पुरुषको सहाराको रुपमा मात्रै प्रस्तुत गरेको पाइन्छ। यो कुरामा महिला निर्देशकहरुले ध्यान पुर्याउन आवश्यक छ।